महाभारत कथाभित्रका कथा

राधेश्याम उपाध्याय

कर्णको कवच कुण्डल हरण : अर्जुन शस्त्रादीको ज्ञान प्राप्त गरी युधिष्ठिरहरुसँग फर्किसकेपछि एकदिन इन्द्रले सोचे की जबसम्म कर्णको जन्मँदादेखि नै रहेको कवच कुण्डल उसको शरीरमा रहन्छन् तबसम्म कर्णलाई जित्न अर्जुनले सक्ने छैनन् । जबसम्म अर्जुनले कर्णलाई मार्दैनन् तबसम्म पाण्डवहरुको जीत हुँदैन ।

त्यसैले कर्णको शरीरमा रहेका कवच कुण्डल जसरी भए पनि हरण गर्नुपर्दछ भन्ने सोचेर उनी आफै ब्राह्मण बनेर कर्णसँग कवच कुण्डल भीक माग्दछु भन्ने सोचे । किनकि कर्ण दानी थिए । देवहरुले एकआपसका मनका कुराहरु पनि रुचिराखेमा थाहा पाउने शक्ति हुन्छ । त्यसैले यो सबै कुरा सूर्यनारायणले थाहा पाए । कर्ण सूर्यका छोरा थिए ।

त्यसैले सूर्यले यो जानकारी आफ्ना छोरा कर्ण लाई दिने विचार गरे र एकदिन सूर्य कर्णका सपनामा ब्राह्मणरुपमा आए र भने हे बावु कर्ण मैले तिम्रो सुरक्षाका लागि यी कवच कुण्डल आफ्ना अंगबाट तिमीलाई लगाई दिएको हुँ । जबसम्म यी कवच कुण्डल तिम्रो शरीरमा रहने छन् तबसम्म तिमी अजय रहने छौं । त्यसैले इन्द्रले पाण्डवहरुको हितका लागि छल गरेर यी आभूषणहरु मागेर लग्नेछन् ।

तिमी दानी कर्ण भनी प्रख्यात छौं । जो अगाडि आई जे माग्दछ उसलाई निरास गर्दैनौं । तर पनि आफ्नो सुरक्षाका लागि इन्द्रले मागे पनि कदापि नदिनु कुनै युक्तिले छल्नु । यो सुनेर कर्णले आश्चर्य मान्दै सोधे हजुर को हुनुहुन्छ ? हजुरले मलाई यी गहना किन लगाईदिनु भयो ? भनी सोधे यो सुनि ब्राह्मण रुप सूर्यले भने हे बावु कर्ण म सूर्यदेव हुँ ।

कुनै समयमा कुन्तिभोज नाम गरेका निकै प्रतापि राजा थिए । एकदिन दुर्वासा ऋषि कुन्तिभोज राजा कहाँ गए । राजाले ऋषिलाई आदरपूर्वक दरवारमा बसाए तर श्राप दिनन् की भनी असाध्य डराएका थिए । सूरसेन राजाकी छोरी कुन्तिभोज राजाले पालेर राखेका थिए । उनी सुशील, सुन्दरी र बाठी पनि थिईन् । कुन्तिभोज राजाले उनको नाम कुन्ती राखिदिएका थिए ।

दुर्वासा ऋषि रिसाहा प्रबृत्तिका थिए र उनले श्राप दिनन् भन्ने डरले ऋषिको सेवाका लागि कुन्तीलाई पठाई दिए । कुन्तीले पनि सेवा गरी ऋषि दुर्वासालाई खुसि पारिन् । कुन्तीको शील, गुण र टहल गर्ने क्षमता का साथै काम गर्दा लिइने गाम्भीर्यतालाई देखेर ऋषि खुसी भए र उनलाई एउटा सिद्धमन्त्र र धेरै शिक्षा तथा आशीर्वाद दिई आफ्नो आश्रममा फर्किए । त्यो सिद्धमन्त्रले आफूले चाहेको देवतालाई चाहेको समयमा बोलाउन सक्ने र एक सुयोग्य पुत्र दिने शक्ति थियो ।

कुनै दिन कुन्तीले सिद्धमन्त्र परीक्षणका लागि भगवान सूर्यनारायण लाई सम्झेर जप गरिन् । तव सूर्यनारायणको तव मेरो गति नै रोकियो र म मन्त्राधीन तथा विवश भएर कुन्ती कहाँ त्यही क्षण आएँ । मलाई देखेर कुन्तीले केही शंका तथा डर मानिन् र मसँग क्षमायाचना गर्दै मैले मन्त्र विश्वसनीयताका लागि परीक्षण गराएकी हुँ । मैले हजुरलाई सित्तैमा दुःख दिए भनिन् ।

मैले ऋषिको वरको पालना गर्नुपर्दछ म तिमीलाई वलबान र तेजश्वी पुत्र दिन्छुभन्दा अहिले म कन्या नै छु गर्भधारण गर्दा लोकले मलाई के भन्लान् हजुरलाई पनि यो पाप तथा लोकापवाद होला त्यसैले यो अवोध छ भनी ममाथि दया राखी माफ गरी फर्कनुहोस् भनी अनुरोध गरिन । म पनि ऋषिको वरदानको पालना गर्न बाध्य थिएँ र तिमी कन्या को कन्या नै रहनेछौं भनी वरदान दिई माघ शुक्ल प्रतिपदाका दिन गर्भाधान गराई तिमीलाई दुवै भूषण कवच कुण्डल लगाई दिएर अन्तरध्यान भए ।

मास पूरा भए पछि तिम्रो जन्म भयो । लाज, डर र लोकगालका कारणले मातृ स्नेह भए पनि तिमीलाई आफूसँग राख्न नसकेर एउटा सुन्दर बाकसमा राख दुखी र चिन्तित हुँदै बालकलाई नभचर, जलचर, स्थलचर, जीव तथा दिव्य प्राणीहरुले मंगल प्रदान गरुन् तिम्रो मार्ग मंगलमय होस् तथा तिम्रा पिता सूर्यदेवले सर्वत्र रक्षा गरुन् भनी गंगामा लगी बगाई दिईन् ।

बाकस गंगाको जलमा बग्न लाग्यो । मैले पनि आफ्नो तेजको वलले शिशुको रक्षा गर्दै रहें । हस्नापुरका पिताम्वह भीष्मका सारथी अधिरथका दुवै जना गंगामा स्नान गर्न आएका थिए । उनीले शिशु लाई भेटाए र दैवले हामीलाई पुत्र दिए भनी खुसी हुँदै घर लगी लालन–पालन गरी हुर्काए । अधिरथ भीष्मका सारथी भएकाले अध्ययनका लागि तिमीलाई हस्तिनापुर पठाए । त्यहाँ कौरवहरुसँग राम्रो मित्रता भयो । कन्तीको एउटा सानो भुलले तिमीले दुख पायौं यसमा तिम्री माताको पनि दोष छैन भनी ब्राह्मण रुप सूर्यले कर्णको जन्मको विषयमा प्रकाश पार्नु भयो ।

यो सुनेर कर्णले पनि सपनामा नै हात जोडेर मेरो जन्म र वंशको वर्णन सुनाउनुभयो । तर मेरो प्रण छ कि मसँग भएको मैले दिन सक्ने जसले जे माग्ला त्यो दिउला भनी संकल्प गरेको छु । मेरो प्राण गए पनि म आफ्नो प्रण तोड्न सक्दैन । त्यसैले मेरो सत्यवचनको रक्षा हुने कुनै अरु उपाय छ भने भन्नुहोस भनी भने । यो कवच कुण्डल त्यसै आउँदैन र काटेर दिन मिल्दैन भनेर सकेसम्म नदिने कोसिस गर्नू । आफ्नो वचन पालनका लागि दिनैपर्ने अवस्था आएमा इन्द्रको अमोघ शक्ति मागेर मात्र दिनु भनी सिकाए र सूर्यदेव अन्तरध्यान भए ।

कर्णको पनि निद्रा खुल्यो । यी सपनाका कुरा आफ्ना मनमा नै राखे कसैलाई भनेन् । कर्ण सधै विहान सबेरै स्नानादी गरी सुचि भै ब्राह्मण दुखी गरीवहरुलाई मागेको दान दिने गर्दथे । सदाझै एक दिन कर्ण दान दिनका लागि निश्चित स्थानमा बसेर दान दिइरहेका थिए ब्राह्मण बनेर इन्द्र भिक्षा माग्न आए र एक स्थानमा बसी रहे । अरु सबलाई दान दिइसकेपछि इन्द्रलाई बोलाएर गाई वस्त्र सुवर्ण भूमि वा अन्य के ईच्छा छ कुनै शंका नमानी माग भनी भने ।

यो सुनेर ब्राह्मण रुप इन्द्रले भने तिमी दानी कर्ण भनेर लोकमा प्रख्यात छौं भनी सुनेर केही दुर्लभ वस्तुको इच्छा भएकाले माग्न आएको हुँ दिने भए माग्छु नदिने भए मागेर तिमीलाई लज्जित बनाउन चाहन्न भने । यो सुनेर कर्णले इन्द्र भनी चिने । हे ब्राह्मण देवताहरु पनि स्वार्थवस छल गर्दछन् । आफ्नालाई बचाउन आउनुभयो इन्द्रदेव के ईच्छा छ भन्नुस के दिएर सेवा गरुँ भन्नुस् भनी भन्दा इन्द्र भन्दछन् हे दानी कर्ण दिने भए मलाई तिमीले लगाएका तिमीेले धारण गरेका दिव्य कानका कुण्डल र कवच देऊ भने ।

यो भूषणले सदैव युद्धमा म विजय हुन्छु र यो भूषणविना युद्धमा मेरो मृत्यु पनि हुनसक्दछ । त्यसैले मेरो सुरक्षाका लागि हजुरको अमोघ शक्ति दिनुहोस् । म पनि आफ्नो अंगबाट काटेर सहर्ष यी दिव्यआभूषण दिन्छु भने । हे कर्ण म मेरो अमोघ शक्ति तिमीलाई दिन्छु तर तिमी यो शक्ति एकपटक मात्र प्रयोग गर्न सक्नेछौ एक पटक तिमीले प्रयोग गरेको काम पूरा गरी पुनः मेरो शक्ति मसँग नै फर्कनेछ र यो शक्ति तिमीसँग आफ्नो अस्त्र नभएमा र प्राण संकट परेमा मात्र मेरो शक्ति प्रयोग नगर्नू ।

अन्यथा आफ्नै क्षति गर्नेछ भनी इन्द्रले आफ्नो शक्ति दिए र कर्णको कवच कुण्डल लिएर गए । यो कार्यले इन्द्रको पृथ्वी लोकमा ठूलो दुर्नाम भयो भने दानी कर्णको भने सुकीर्ति फैलियो । यो कुरा दुर्योधनले थाहा पाए र अत्यन्त दुखित भई आफ्नो दाहिने हात भाँचिएको जस्तो महसुस गरे भने पाण्डवहरुले थाहा पाए र खुसी भए ।