तल्लो जीवन उपन्यास अंश : जुनेली रात

यम रेग्मी

दशैँ गयो । तिहार गयो । सकिए त्यस वर्षका ठूला चाडपर्वहरू । प्रदेशीहरूले मुटु गाठो पार्ने बेला आयो । कोही कालो मन बोकेर काला पहाड निस्किए । कोही कोही प्रियसीको दिल दिलमा राखेर दिल्लीतिर लागे । कोही बम जस्तो गरुङ्गो मन गराएर बम्बईतिर लागे ।

कोही विछोडको माला गलामा लगाएर विदेश उडे ।क्याम्पस पढ्नेहरू पनि गाउँको कोसेली बोके र सहर पसे । मैतालुहरू आ–आफ्ना कामको लिस्ट सम्झिदै कर्म घरतिर लागे । दशैँ तिहारमा भरिभराऊ सौम्य गाउँ । क्रमिकरूपमा खालि हुन थाल्यो मान्छेविनाको घरझैँ । रित्तो हुन थाल्यो फलविनाको डालीझैँ ।

दशैँ तिहारपछि मंसिर पनि लाग्यो । एक महिनासम्म सुतेका विद्यालयहरू ज¥याक–जुरुक्क उठे । मामाघरहरू विद्यालयमा जम्म हुन थाले । बाटाघाटा विद्यार्थीले भरिए । आकाशे सर्ट र नीलो फ्राक र पाइन्टमा सज्जिन थाले गाउँका बाटाहरू । सबै आ–आफ्नो कर्तव्यमा लागे । खुसी र मिलनको एक वर्षपछिको प्रतीक्षा गर्दै ।

मंसिरको ७ गते हो । सुबेदी बाजेको घरमा सत्यनारायणको पूजा थियो, राति । साँझदेखि नै चहल–पहल थियो गाउँमा । गाउँको पूजा भएकोले रक्षा र सीता पूजामा जान तयार भए, गए ।

सीता ऊनको बाक्लो ओढ्दै बोलिन्– ‘जा नानी गोपाल पनि जान्छ कि ? उसलाई एकपटक सोध तो, कहीँ जान पान्न विचारो ।’

रक्षा पच्छौरीले अनुहार छोप्दै सरासर गई । गोपाल खाना खाएर पहिले नै कोठामा गइसकेको थियो । बाहिरबाट सुस्तरी ढोका ढ्याक–ढ्याक पारी ।

घ¥याक्क सुस्तरी भित्रबाट खोल्यो ढोका । झुलुक्क रक्षालाई देख्यो । मुसुक्क हाँस्यो । ढोकासँगै मन पनि खुल्ला गरायो उसले । रक्षा केही नबोली फरक्क फर्की । उसले रक्षा आउनु कारण नभनेर बुझ्यो । रक्षा लजाएर फरक्क फर्की । ऊ पूजामा जानको लागि तयार भयो । साँझको ८ बजेतिर तीनैजना पूजा घरतिर लागे ।

आँगनभरि भरिभराए मान्छे थिए पूजामा । पराल विछाइएको थियो भुँइभरि बस्नलाई । सीता परालमा थचक्क बसी । बसेको ठाउँबाटै भेटी र फूल चढाइदिई जग्गेमा । आमाको छेउमा रक्षा बसी । रक्षाको छेउमा गोपाल बस्यो । एक छिनमै उनका पछि मान्छेहरू भरिए । भरिभराऊ भयो मानिसले आँगन । मानिसको बीचमा परे उनीहरू ।

पहिलो पुष्पाञ्जलीको पालो आयो । छिटनीबाट पूल फालियो मान्छेका टाउका माथि । रक्षाले छोपी फालेको फूल । गोपाल छोप्न सकेन । एउटा फूलको थुगा आमाको हातमा राखिदिई ।

सीता एक चित्त भइन् । आँखा बन्द गरिन् । ध्यान मग्न भएर भगवान्प्रति सर्मपित भइन् ।

अर्को फूलको थुगा गोपालको हातमा राखिदिई रक्षा । आमातिर पुलुक्क हेरी । आमालाई ध्यानमा देखी । गोपालतिर पुलुक्क हेरी । मुसुक्क हाँसी । भगवान्सँग उसैलाई मागी ।

अरुले मन्दिरमा फूल चढाई । उसले गोपाललाई चढाई । एकपटक नजरको संवाद गरी र टाउको निहुराएर घोप्टो परी ।

पूजा चलिरहेको थियो । बाहुन मत्र उच्चारण गरिरहेका थिए । कर्ता पूजा गर्नमा मस्त थिए । कोही पूजा सुन्नमा व्यस्त थिए । कोही कुरा गर्नमा मस्त थिए । केटाकेटीहरू दौडी–दौडी लुकामारी खेल्न व्यस्त थिए ।

रक्षा बर्कोले पुरै शरीर छोपी । केही बेर ध्यान मग्न भई । केही बोलिन । उसलाई गर्मी भयो । एक्कासी शरीरबाट बर्को हटाई । लामो सुस्केर हाली । आमाकोे कोटाई । सुस्तरी बोली– ‘आमा मेरो साह्रै पेट दुख्यो ?’

रक्षाको कुराले सीता अमिलो मन लगाइन् । तनक्क टाउको तानिन् । चारैतिर हेरिन् । सबैतिर मान्छे नै मान्छे देखिन् । झर्को मान्दै बोलिन्– ‘यसलाई यस्तै बेलामा पेट दुख्छ । कसरी निस्कने बाहिर ? एकछिन शान्त भएर बस् । पूजा सकिँदा बित्तिकै जाउँला । सक्किन बाहिर निस्कन । हेर तो चारैतिर ?’

रक्षा दुबै हातका दश औला पेटमा पु¥याई । पेटलाई दबाउँदै बोली, ‘आमा म एकछिन पनि बस्न सक्दैन । म त गए घर । तपाई आउने भए आउनुहोस् । नआउने भए नआउनुहोस् ।’ रक्षा बसेको ठाउँबाट जुरुक्क उठ्न खोजी ।

सीताले तन्नक तानिन रक्षाको हात । बसालिन् फेरि पहिलेकै ठाउँमा । रिसाएर सानो स्वरमा रुखो स्वरले बोलिन्– ‘काँ मर्छेस् ? यो रातिमा एक्लै ? मातेका केटाहरूले बाटोमा छोप्छन् । शरीर ठीक नभएको मानिस त नआउनू ।’

रक्षा केही बोलिन एकछिन । ऊ घोप्टो परिरई । पण्डितको आवाज गुञ्जायमान भयो वरिपरि ।

सीता गोपालतिर पुलुक्क हेरिन र फेरि बोलिन्– ‘जा गोपाल यसलाई घरसम्म छोडा र आ ? यसले मलाई सताएर हत्य पारी ।’

रक्षा मनैदेखि हाँसी आमाको कुराले । शिर ठाडो पारी र निस्कने बाटो हेरी । निस्कने बाटो एकिन गरी र बसेको ठाउँबाट जुरुक्क उठी । एकपटक निहुरिएर शरीरको पुरै भाग हेरी । दोबोरिएको कपडा मिलाई । बर्कोले लपक्क शिर र छातीको भाग छोपी । दाँतले जिब्रो टोक्दै मान्छेको भीडलाई छलेर बाहिर निस्की ।

उसको पछिपछि गोपाल पनि निस्कियो । कसले ध्यान दिएनन् उनीतिर । आँगनमा नअटाएर बाटाको परपरसम्म थिए मान्छेहरू । रक्षा कतै नहेरी केही नबोली सरासर अगाडि बढी । जब अल्ली वर सुन्पुर थारु गाउँसम्म सरासर आई । कोही मान्छे थिएनन् बाटोमा । रातको समय भएकोले सुनसान थियो थारुगाउँ । रुखहरूले जूनको उज्यालो पूरै छेकेको थियो । बाटो पुरै अँध्यारो थियो ।

अध्यारोमा अगाडि बढ्न डर लाग्यो उसलाई । रक्षा पछाडि फरक्क फर्किई र पुलुक्क हेरी । केही पर गोपाललाई आइरहेको देखी । ढुक्क भयो उसको मन भरोसाले । प्रशन्न भयो उसको मायाको तरङ्गले ।

थारुगाउँ सकियो केही बेरमै । मेन बाटो छोडेर गोबरैयातिर लागी । गोबरैयाको सिरानमा ठूलो पीपलको बोट थियो । अहिलसम्म पनि छ । बोटमूनि भयरथान थियो । हरेक साल चौधरीहरू भुयारको पूजा गर्थे । भयारथानको छेउ लागी र पीपलको बोटमुनि ओत लागी । कसैले नदेख्ने गरी थचक्क बसी पीपलको जरामाथि ।

मंसिरको महिना । जूनेली रात । न जाडो । न गर्मी । न धेरै उज्यालो । न अँध्यारो । शान्त वातावरण । गगनभरि चम्किरहेका लाखौं तारा मण्डल । मायालु चिसो पवन आइरहेको थियो सवारीकोटबाट । अनौठो भेट । अनौठो प्रेम । खेतभरि हरियो गलैचारुपि मसुरो ।

मसुरोको झाङमाथि मोतीका दानाजस्ता टलक्क टल्किएका शीतका थोपा । सधै हिडिरहने खेत । सधै देखिरहेको पीपल । सधै देखिरहेको वरपरको बस्ती तर पनि अत्यन्त मनोमोहक लाग्यो रक्षालाई त्यो रातको परिवेश ।

पुलुक्क गोपालतिर हेरी । केही अगाडि खेतको आलीमा गार्डझैँ ठिङ्ग उभिएको देखि गोपालको छायाँ ।

त्यो छायाँ देखेर अलिकति डराई । अलिकति लजाई । मन फुलिएर आयो बेलुन फुलिएझैँ । दश औलाले झ्याप्प मुख छोपी । आँखा बन्द गरी । शिर निहुराई र घोप्टो परिरई । के–के सोची खै उसले ? लाजले छायाँलाई सम्म हेर्न सकिन् । मन भावनाको खहरे उर्लियो । छाति ढुकढुक गरेको स्पष्ट सुनी कानले ।

सुस्त–सुस्त समय बित्दै गयो । ऊ यथार्थ धरातलमा आउँदै गई । पाँच मिनेट बितेको हुदो हो । सुस्तरी आँखाबाट हात हटाई र उसको छायाँलाई हेरी । पहिलेकै ठाउँमा । पहिलेकै अवस्थामा देखी छायाँलाई ।

मुटु तीतो भयो । मुख सुख्खा भयो । बलक्–बलक् गर्दै शिर दुख्यो । डर हरायो शरीरबाट । लाज हरायो मनबाट । आगोको ज्याला दनदनी दन्क्यो छातीमा । केही समयअघि जुन छायाँ देखेर डराएकी थिई । रमाएकी थिई । मायाले हेरेकी थिई त्यही छायाँ देखेर उसलाई अहिले अथाह रिस उठ्यो । महा घृणा जाग्यो । हान्नलाई हात छामछुम पारेर ढुङ्गा खोजी । हातले कतै ढुङ्गा भेटाएन । मनको ज्याला निभाउन सुक्क–सुक्क गर्दै रुन थाली ।

गोपालले स्पष्ट सुन्यो आँसुको ध्वनि । आँसले उसको मन छियाछिया भयो । उसलाई के गरुँ र कसो गरुँ भयो । लाज, डर, मर्यादा, इज्जत दबाएर राख्यो उसले । मन दरिलो बनायो । रक्षातिर पाइला बढायो । रक्षा छक्क परी उसको चालले । सम्भाभित दुर्घटनाको आँकलन गर्ने सकिन उसले ।

दुई पाइला थियो रक्षालाई भेट्न । नजिकैको बाटोबाट केटाहरूको हुटिनसहितको आवाज आयो, ‘लभ प¥यो, लभ ।’ ढुङ्गा बर्सिए उनीमाथि टक्क रोकिया गोपालका पाइला भैँसीको किलो गाडेकोझैँ । ऊ न दुई पाइला अगाडि बढाउन सक्यो । न पछाडि नै सार्न सक्यो ।

सारा होस हरायो रक्षाको । डरले लुगलुग काप्न थाली । बर्कोले पुरै अनुहार र मुख छोपी । खेतै खेत दोडी घरतिर । क्रमश…