२०७७ बैशाख १६ गते
म कति कमजोर छु भन्ने कुरा मलाई धेरै थाहा छ । कमजोरको प्रसंग यहाँ मानसिकरुपले कमजोर भन्ने हो । मैले धेरैपल्ट अब राजनीतिबारे आफ्नो विचार राख्दै नराख्ने भनेर सोच बनाएँ । त्यसको विकल्प पनि खोजेँ ।
साहित्य र समाजको अध्ययन, चिन्तन र तिनकै बारेमा विचार राख्ने सोच पनि बनाएँ । मलाई विश्वस छ प्रशस्त अभिव्यक्तिहरु यस सन्दर्भका छन् । तर मानव जीवनलाई अलि बढी प्रभाव बदलिँदो वा अस्थिर राजनीतिले पार्छ किजस्तो लाग्छ । अथवा व्यक्तिको सोच हो ।
एकपटक एउटा क्षेत्र पकड्यो भने अरुतर्फ भन्दा त्यतै बढी लाग्ने कमजोरी सबैमा हुन्छ कि ! म कमजोर छु भनेर अरुलाई पनि मैले आफूलाई जस्तै कमजोर त सोच्नु हुँदैन । म आफ्नो बारेमा मात्रै भन्न सक्ने अवस्थामा छु । साहित्यको क्षेत्र पनि विस्तृत नै छ । मलाई साहित्य भनेको कविता लेख्नुमात्रै होजस्तो लाग्दैन । यो त रचना विधाको पनि सानो इकाई वा पक्ष मात्र हो ।
कविता लेखनको कुरा गर्दा पनि त्यहाँ विषय, भाव, भाषा, छन्द, लयका अलग–अलग व्याख्या हुन सक्छन् । मैले सबै कुरा उत्तिकै महत्वपूर्ण माने पनि कति स्थापित साहित्यकारहरु त्यसमा सहमत नहुन सक्छन् । त्यस्तै, गद्य साहित्यमा पनि निवन्ध, आख्यान, वर्णन, नाटक, पत्र कति हो कति ! यिनैमा हराउन चाहे हराउन सकिन्छजस्तो लाग्छ ।
त्यस्तै समाजको अध्ययनको आकर्षण हुनेहरु पनि समाज स्थापनाको प्रक्रियादेखि यसको विकास, स्थान र भौगोलिक तथा प्राकृतिक अवस्थाको भरमा यसमा बनेको फरक, विकासको क्रममा आएको फरक सोच, संस्कृति, संस्कार आदिले पारेको प्रभावका आधारमा बनेको विविधता सबै अध्ययनको विषय हुनसक्छ । त्यसैले यो क्षेत्रलाई पनि सीमित भन्न सकिँदैन ।
त्यसमा पनि जति पनि जीवन्त पक्षहरु छन् तिनका आजका रुप त एउटा प्रक्रियाअन्तर्गत बनेका वर्तमान रुपमात्र हुन् । यस्तो हिजो पनि थिएन र भोलि पनि नरहन सक्छ । यही कारणले मात्रै पनि यो सधै अध्ययनको विषय बनिरहन सक्छ । तर मानिस सायद विकृतितर्फ बढी आकर्षित हुन्छ । अथवा विकृति देखेपछि तुरुन्तै प्रतिक्रिया जनाउने स्वभाव हुन्छ । त्यसैले वर्तमानमा बढी आकर्षण राजनीतिले गरिरहेको छ ।
नत्र वास्तविकता हेर्ने हो भने चीन, रुस वा अमेरिका, इङ्ग्ल्याण्डजस्ता देशहरु जसको राजनैतिक पद्धति पटक्कै मिल्दैन तर ती सबै आफूमा आत्मनिर्भर र विकसितमै पर्छन् । आत्मनिर्भरता र विकासजस्ता कुरामा राजनीतिक पद्धतिको केही मतलब हुँदैन भन्ने प्रमाण योभन्दा राम्रो के हुन सक्छ र ? तर यहाँ हामीलाई चीन ठीक र अमेरिका ठीक भनेर बहस गर्न विद्रोह गर्न र कतिपल्ट उनीहरुको स्वार्थ पूरा गर्नलाई आफूमा लड्नसमेत सकेकोमा आफू सफल भएकोजस्तो लाग्छ ।
जबसम्म देशलाई सामाजिक, आर्थिकलगायत अन्य केही कुरामा सक्षम बनाउन सकिँदैन तबसम्म राष्ट्रियताको प्रवद्र्धन गर्न पनि सकिँदैन । स्थिरताको कल्पना गर्न पनि सकिँदैन, विकृति रोक्न पनि सकिँदैन । व्यवस्था साधन हो भन्ने सम्ममा पनि म सहमत हुनसकेको छैन । सञ्चालक वा नेतृत्वको नियत र क्षमतामा धेरै कुरा निर्भर हुन्छ । यहाँ त क्षमता र नियत दुबैमा शंका गर्नुपर्ने परिवेश तयार भएको छ । यस्तोमा विकृति स्वाभाविक नै हुन्छ ।
२०७७ बैशाख १७ गते
धेरैपटक एक पेजको नियमले आफूले व्यक्त गर्न चाहेको कुरा कहिलेकाहीँ अलि नपुगेको जस्तो पनि लाग्छ । तर अर्को दिन त्यसै विषयलाई दोहो¥याउन सकिने रैनछ । अपवादकै रुपमात्रै कतै त्यो श्रृंखलाको रुपमा लेखिएको होला । आजकै कुरा गर्ने हो भने पनि म हिजोको विषय दोहो¥याउने पक्षमा छैन । यो नगर्न चाहेर होइन ।
त्यही भावना आउनुप¥यो । त्यस्तो हुँुदैन । अनि कसरी विषयलाई दोहो¥याउन सक्नू ? आजको भावनाकै कुरा गर्ने हो भने वर्तमान परिवेशमा ३६औं दिन बित्दैछ । पहिलो दिनबाट नै कसरी बित्ने होला भन्ने चिन्ता लाग्याथ्यो । आज पनि चिन्ता यथावत छ । अझै कति दिन यस्तै गरी बित्ने हो थाहा छैन । तर पनि दिनहरु बितेको भोगाई पनि सँगै छ ।
सायद मानसिकरुपले व्यक्ति यसरी नियन्त्रणमा बस्न भनौं वा एक प्रकारले थुनिएर बस्न तयार हुँदैन । यो मानवीय स्वभाव हो । सामाजिक प्राणी हुनुको लक्षण हो । बाध्यता अलग कुरो हो । त्यसो त हातमा हतकडी र खुट्टामा नेल हालेर साँघेरो कोठामा बस्न बाध्य बनाइएकाहरुका दिन पनि त बितेकै हुन्छन् । कसरी बित्छ र कुन मानिसक पीडा भोग्नुपर्छ त्यो त भोग्नेलाई थाहा हुने त हो ।
वर्तमान परिवेशलाई आफ्नो जीवनको सुरक्षाको लागि भनेर व्याख्या गरिएको छ । तर पनि मानसिक पीडा यहाँ पनि अनुभव गरिएकै छ । त्यसो त समाचारअनुसार भन्ने हो भने मानिसहरु धेरै–थोरै मात्रामा गाउँ–शहर सबै ठाउँमा हिँडेकै छन् । पसलहरु पनि खुलेकै छन् ।
किनबेच भएकै छ । नपत्याउने गरी र केही डरसमेत लाग्ने गरी मानिस काठमाडौंबाट दाङसम्म आउनेहरु पनि छन् । खुलारुपमा पैदल हिँडेर बरु १५–१६ दिन लगाएर भए पनि आफ्नो घरमा पुग्न बाध्य भएको कुरा पनि समाचारमा आएकै छ र कतिलाई देखिएकै छ ।
गाउँतिर म आफै पनि अति थोरै भए पनि दिनमा चारपटक घरबाट बाहिर निस्केको छु । समय भने अलि भीडभाड नहुने बेला मिलाएको छु । बिहान सामान्यतया अरु हिँडिसकेपछि सामान्यतया ८ बजेपछि एकछिन हिड्छु । एउटा नयाँ अनुभव पनि गरेको छु । खानो खाने बित्तिकै तुरुन्तै हिँड्ने हो भने सडक पनि सुनो हुन्छ । यस्तो हिँडाईले धेरै फाइदा भएको जस्तो पनि लागेको छ । जिउ हलुको भएकोजस्तो लाग्छ ।
यति हिँड्दा पनि मानसिक दबाव हो अथवा पीडा हो अथवा अन्य कुनै शब्द उचित हुन्छ त्यो आफूले बुझ्ने हो तर असजिलो र अत्याटको महसुस भएकै छ । यो परिवेश कहिले फेरिएला र सामान्य होला भन्ने सोच यथावत छ । मैले पहिले पनि अन्दाज गरेर लेखेको छु र हिजो समाचारमा पनि हेरेँ साना–साना केटाकेटीको बानीसमेत फेरिएको छ । उनीहरु अलि चाँडो मिच्छिने वा रिसाउने भएका छन् भनेर एउटा अध्ययनको भरमा समाचारको आएको छ ।
काममा मजस्तालाई मेरो आशय केही काम नगर्नेहरुका लागि केही खास फरक परेको छैन । तर मनमा धेरै अप्ठ्यारो वा तनाव भोग्नुपरेको छ । नेपाल यो महामारीबाट अति नै कम प्रभावित भएको छ । यसको मुख्य कारण यही परिवेश भन्नेमा पनि म धेरैसम्म सहमत छु । तर पनि यो वातावरण कहिले सहज होला भन्ने लागेकै छ ।