अमरराज आचार्य
दाङ, १७ असोज । चालु आर्थिक वर्ष २०७७÷०७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा छानो हटाएर टिनको छानो लगाइने भएको छ ।
संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । यस प्रकारको कार्यक्रम दाङ र प्यूठानमा चालु आर्थिक वर्षबाट सुरु हुनथालेको हो भने रोल्पा र रुकुम पूर्वीमा अघिल्लो आर्थिक वर्षबाट सुरु भएको आयोजनाका प्रमुख महेशबहादुर सिंहले बताए ।
यस प्रकारको कार्यक्रमले सबै जातिका नागरिकलाई समेट्ने उनको भनाइ छ । ‘कुनै जातजातिलाई मात्र नभई सम्पूर्ण नागरिकलाई यसले समेट्ने छ’ सिंहले भने । खरको छानो भएका नागरिकलाई टिनको छानो लगाउनका लागि रकम सहयोग गरिने उनको भनाइ छ । प्रतिघर ५० हजारका दरले रकम प्रदान गरिने आयोजना प्रमुख सिंह बताउँछन् । यो रकम सम्बन्धित व्यक्तिको खातामा पठाइने छ । रकम दुई किस्तामा गरेर वितरण गरिने उनले बताए ।
पहिलो किस्तामा ६० प्रतिशत रकम प्रदान गरिने छ भने सम्पन्न भएपछि बाँकी रहेको रकम प्रदान गरिने छ । सरकारबाट प्राप्त भएको रकमसम्बन्धी स्थानीय तहहरुमा बजेट जाने गर्दछ । यो रकम सम्बन्धित व्यक्तिहरुले स्थानीयमार्फत् पाउने भएका छन् । कसलाई टिन लगाउन रकम दिने भन्नेबारे स्थानीय तहहरुले आ–आफनो तहमा सूचना प्रकाशित गर्ने छन् ।
प्राप्त निवेदनहरुमा जिल्लामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सहभागितामा बस्ने बैठकले कसलाई रकम दिने भनेर निर्णय गर्ने व्यवस्था छ । स्थलगत रुपमा स्थानीय तह तथा सघन सहरी तथा भवन निर्माण आयोजनाको टोलीले स्थलगत रुपममा अध्ययन गरेपछि मात्र रकम प्रदान गरिने आयोजना प्रमुख सिंहले बताए । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम आर्थिक वर्ष २०७५÷०७६ बाट सुरु गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत दाङमा ४ हजार ४२ घरमा टिन लगाइने भएको छ । क्षेत्र नं. १ अन्तर्गत एक हजार ५ सय ३२ वटा घरमा टिन लगाइने छ । जसमा गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४६, राजपुर गाउँपालिकामा ३ सय २९, लमही नगरपालिकामा ३ सय ४७ र घोराही उपमहानगरपालिका वडा नं १, २, ३ र ५ वडामा गरी २ सय १३ घरमा टिनको छानो लगाइने छ ।
क्षेत्र नं. २ अन्तर्गत एक हजार ३ सय ७१ घरमा टिन लगाइने छ । जसमा घोराही उपमहानगपालिका वडा नं. ४, ६, ७, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १, १९ वडामा गरी ५ सय ७४ घरमा र तुलसीपुर उपमहानगरपालिका १६, १७, १८, १९ वडामा ३ सय ९५ घरमा टिनको छानो लगाइने छ ।
क्षेत्र नं. ३ अन्तर्गत एक हजार एक सय ३९ घरमा टिनको छानो लगाइने छ । जसअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४ र १५ नम्बरका ५ सय १ वटा घरमा टिनको छानो लगाइने छ । दंगीशरण गाउँपालिकामा २ सय ९, शान्तिनगर गाउँपालिकामा एक सय ८ र बबई गाउँपालिकामा २ सय ४१ घरमा टिनको छानो लगाइने छ ।
यसै गरेर प्यूठान जिल्लामा एक हजार ७ सय ६ घरमा टिनको छानो लगाइने छ । जसमा प्यूठान नगरपालिकामा २ सय ११, स्वर्गद्वारी नगरपालिकामा २ सय ७३, गौमुखी गाउँपालिकामा एक सय ६, माण्डवी गाउँपालिकामा एक सय ५५, सरुमारानी गाउँपालिकामा एक सय ८, मल्लरानी गाउँपालिकामा एक सय ३२, नौबहिनी गाउँपालिकामा एक सय ७५, झिम्ररक गाउँपालिकामा एक सय ८२, ऐरावती गाउँपालिकामा २ सय ४ घरमा टिनको छानो लगाइने छ । रोल्पा जिल्लामा एक हजार ८ सय २६ घरमा टिनको छानो लगाइने छ ।
जसअन्तर्गत रोल्पा नगरपालिका २ सय ५४, त्रिवेणी गाउँपालिका २ सय ५१, परिवर्तन गाउँपालिकामा १ सय ६४, माडी गाउँपालिकामा एक सय ४०, रुन्टीगढी गाउँपालिकामा ३ सय ४४, लुङ्ग्री गाउँपालिकामा एक सय १०, गंगादेवी गाउँपालिकामा गत वर्ष एक सय र यस वर्ष १ सय २४, सुनछहारी गाउँपालिकामा एक सय एक, सुनिल स्मृति गाउँपालिकामा गत वर्ष एक सय र यस वर्ष २ सय १७ र थवाङ गाउँपालिकामा एक सय २१ घरमा टिनको छानो लगाइने भएको छ ।
अघिल्लो वर्ष सुरु भएको कार्यक्रमलाई क्रमागत योजनामा राखिएको छ । यसैगरेर रुकुमपूर्वीमा ६ सय ६९ घरमा टिनको छानो लगाइने छ । जसमा पुथा उत्तरगंगा गाउँपालिकामा गत वर्षको ५० र यस वर्ष एक सय ८७, भूमे गाउँपालिकामा गत वर्ष ५० र यस वर्ष २ सय २३ र सिस्ने गाउँपालिकामा गत वर्ष ५० र यस वर्ष २ सय ५९ घरमा टिनको छानो लगाउने कार्यक्रम छ ।