नुमानन्द सुवेदी
अध्यक्ष– राप्ती गाउँपालिका
हामी आशावादी थियौँ अनि धैर्य पनि थियौँ । पाँच नम्बर प्रदेशको भूगोलका हिसाबले केन्द्रविन्दु, पायकका हिसाबले पनि वाहै्र जिल्लाको मध्यविन्दु, हवापानी तथा वातावरणीय हिसाबले पनि उच्चतम विकल्प ।
सबै हुँदाहुँदै पनि हामीले दाङको भालुवाङलाई राजधानी बनाउन ढिला भयो । तर अब राजधानीको प्रस्ताव दर्ता भइसकेको छ । मलाई लाग्छ, यतिधेरै मिहिनेत र अध्ययन अनुसन्धानपछि दर्ता भएको पाँच नम्बर प्रदेशको स्थायी राजधानी अनुमोदन हुनेमा कुनै विमति छैन । उता प्रक्रिया सुरु हुँदै जालान् तर हामी मानसिक रुपमा राजधानीका लागि तीन वर्ष अघिदेखि नै तयारीमा थियौँ । सामान्यतया पाँच नम्बर प्रदेशको स्थायी राजधानीका लागि भालुवाङलाई त्यसै प्रस्ताव गरिएको होइन, सम्पूर्ण पूर्वाधार निर्माण गरी स्थायी राजधानी निर्माण गर्ने हैसियत हामीसँग छ ।
म राप्ती गाउँपालिकाको स्थानीय सरकार प्रमुख पनि भएकाले तपाईंहरुलाई आधारसहित भन्नै पर्दछ । हामीले राप्ती गाउँपालिकाको लालमटियामा रहेको एक हजार विगाह जग्गा सहितको प्रस्ताव तीन वर्ष अघि नै प्रदेश सरकार समक्ष पेस गरिसकेको अवस्था हो ।
साविक लालमटिया गाविसको उत्तरपट्टिको जग्गा हामीले स्थायी प्रदेश राजधानीका लागि प्रस्ताव गरेको हो । खालि भालुवाङको स्वार्थका लागि होइन, प्यूठान र रोल्पालाई समेट्न, अर्घाखाँची, बाँके अनि बर्दिया तथा पूर्वी रुकुमलाई समेट्न अनि पश्चिम नवलपरासीलाई पनि बराबरी रुपमा समेट्नका लागि ।
हामी प्रदेश सरकारलाई विशेष धन्यवाद दिन चाहन्छौँ कि ढिलो भए पनि पाँच नम्बर प्रदेशका हरेक जिल्लाका जनताको साझा मनोभावनालाई सम्बोधन गर्दै स्थायी राजधानीका लागि भालुवाङलाई प्रस्ताव गरेकोमा । कसैले खिल्ली उठाउने गरेको अवस्था पनि थियो, भालुवाङको भूस्वामित्व नै छैन । वनको जग्गामा रहेको वस्तीसँग कुनै पनि आधिकारिक पुर्जा छैन ।
तर पुर्जा नभएका यस्ता धेरै सहरहरु छन् ।प्रक्रिया पु¥याएर पुर्जा उपलब्ध गराउने प्रक्रिया समेत सुरु भइसकेको छ । सायद प्रदेश राजधानीको भौतिक पूर्वाधार निर्माण र भालुवाङको भूस्वामित्वको प्रक्रिया अब सँगसँगै बढ्ने छन् । पूर्वप्रधानमन्त्री तथा इञ्जिनियर डा बाबुराम भट्टराईले नक्साङ्कन गरेको भालुवाङ यस अघि नै राप्तीको एउटा ट्रान्जिट मात्र बनेको छैन, अर्घाखाँची र गुल्मीको पनि केही हिस्साको व्यापारिक केन्द्र पनि हो ।
लमही—कोइलाबास सडक स्तरोन्नति भएर निर्माण सम्पन्न भइसकेको अवस्थामा यो एउटा वैदेशिक व्यापारको पनि केन्द्रविन्दु बन्नलायकको क्षेत्र पनि हो । हो, तत्कालै हामीसँग मुख्यमन्त्रीको कार्यालय बनाइहाल्ने अवस्था नरहला । अन्य मन्त्रालय पनि टपक्क टिपेर यहाँ ल्याइहाल्ने अवस्था पनि नरहला । तर प्रदेश सरकारले आर्थिक व्यवस्थापन जति चाँडो गर्न सक्दछ, त्यति नै चाँडै पूर्वाधार निर्माणमा हामी तयार छौँ भन्न चाहन्छु, स्थानीय सरकार प्रमुखका नाताले ।
नजिकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आइसकेको छ । कामचलाउ विमानस्थल पनि यो जिल्लामा सञ्चालन भइसकेको अवस्था हो । धार्मिक एवं पर्यापर्यटकीय गन्तव्य पनि प्रशस्त छन् ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यकाका रुपमा परिचित दाङ त्यसै पनि पाँच नम्बर प्रदेशको स्थायी राजधानीको प्रवल सम्भावना बोकेको मात्र होइन, कुनै बेला संघीय राजधानी पनि दाङमै हुनुपर्दछ भनेर बहश भएको जिल्ला पनि हो । हामी प्रदेशको स्थायी राजधानीको प्रस्ताव गरेकोमा प्रदेश सरकारलाई धन्यवाद मात्र दिइरहेर मौन बस्न चाहेका छैनौँ ।
स्थानीय सरकारका नाताले आर्थिक भौतिक, नैतिकलगायत सम्पूर्ण जिम्मेवारी वहन गर्न पनि तयार छौँ, ताकि हामी पाँच नम्बर प्रदेशको साझा भावनाको केन्द्रविन्दु पनि हौँ । हामीमा केही गरौँ भन्ने इच्छाशक्ति पनि खरो छ । तपाईंको पत्रिकामार्फत् भन्न चाहन्छु कि प्रस्ताव अनुमोदन हुनासाथ भौतिक निर्माणका लागि प्रदेश सरकारले यथासक्य चाँडै बजेट विनियोजन समेत गर्ने छ । त्यसपछिको काम कुन गतिमा सम्पन्न गर्न सकिन्छ, त्यसमा हामी बहुतै जिम्मेवारपूर्वक स्थानीय सरकारको दायित्व निर्वाह गर्न पनि तयार छौँ ।
फेरि पनि आन्तरिक मामिला मन्त्रीलाई विशेष धन्यवाद दिन चाहन्छौँ, कि ढिलो भए पनि न्यायोचित प्रस्ताव दर्ता भएको छ । हामी दीपावलीका लागि पनि तयार छौँ, त्यसका लागि पनि धेरै समय कुर्नुपर्ने छैन । मलाई लाग्छ असोज १९ को प्रदेशसभा बैठकले यस प्रस्तावलाई अनुमोदन गर्ने छ ।
प्रस्तुती : खेमराज रिजाल