दाङ । प्रदेश सभामा प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ देउखुरीको भालुबाङ राख्न प्रस्ताव दर्ता भएको छ।
अब असोज १९ गते बस्ने प्रदेशसभाको बैठकमा यस प्रस्तावमाथी औपचारिक छलफल हुने र त्यसपछि निर्णयार्थ पेश हुने कार्यक्रम रहेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका हुन्।
‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गर्छु,’ उनले संसदमा भने, ‘प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्छु।’
उनले प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह पनि गरेका थिए।
प्रदेशको नाम र राजधानी तोक्नका लागि प्रदेश सभामा दुई तिहाईमतको आबश्यकता पर्दछ । यस प्रस्तावमा निर्णय लिन नेकपा संसदीय दलको बैठक शनिबार बिहानका लागि बोलाइएको छ ।
नेकपा भित्र यो बिषयमा सहमति भैसकेकाले संसदीय दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिने स्रोतले बताएको छ । प्रदेशसभामा नेकपाको मात्रै दुई तिहाई मत रहेको छ ।