श्रेष्ठद्वारा स्वास्थ्य सामग्री सहयोग

गोरक्ष समाचारदाता
दाङ, १५ असोज । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर घर भई हाल अष्टे«लिया कर्म थलो बनाएका समाजसेवी सुभाष श्रेष्ठले कोरोना महामारीका बेलामा विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका घोराही उपमहानगरपालिका अन्र्तगत १९ वटै वडामा एक सय विपन्न परिवारलाई झण्डै ३ लाख बराबरको खाद्यान्न सहयोग गरेका श्रेष्ठले बुधवार जिल्ला प्रशासन कार्यालयलाई ९० हजारको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

स्थानीय युवा समाजसेवी नरेन्द्र पुन, नवलपुर क्लवका अध्यक्ष दीपक पुन, राप्ती क्लवका अध्यक्ष बसन्त पुरीको सक्रियतामा समाजसेवी श्रेष्ठले स्वास्थ्य सामग्री खरिदका लागि पठाएको एक लाखबाट ३ सय थान भिटिएम, १३ सय थान सर्जिकल मास्क, तातो–चिसोयुक्त पानी पिउने मेसिन २ थान, ४ थान थर्मल गन, थर्मोमिटर, उपचारमा आवश्यक औषधीहरु एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री नेपाली सेनाको २ स्थानमा रहेको आइसोलेशनमा प्रयोग गरिने बताइएको छ । यस्तै उक्त रकममध्ये घोराही १८ मा रहेको सवारीकोट प्राविलाई ५ हजारको मास्क तथा मास्क बैंकका लागि ५ हजारको मास्क हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सामाजिक काममा परदेशबाट सहयोग गरेकोमा समाजसेवी श्रेष्ठलाई हार्दिक आभार तथा धन्यवाद दिएका छन् । सहयोग प्राप्त गरेको स्वास्थ्य सामग्री सम्बन्धित स्थानमा पठाएर सही सदुपयोग गरिने उनको भनाइ छ ।

विभिन्न सामाजिक तथा खेलकुद क्षेत्रमा उदार मनले सहयोगी बन्दै आएका श्रेष्ठले हरेक वर्ष आफ्ना बाजेको स्मृतिमा ५ लाख रुपैयाँ खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् ।

उनको बुबाको स्मृतिमा जिल्लामा फुटबल प्रतियोगिता समेत हुने गरेको छ । विदेशमा रही देशका लागि सामाजिक कार्यमा निकै सक्रिय भूमिका खेल्दै आएका श्रेष्ठले आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।