अमरराज आचार्य
दाङ, १५ असोज । नेपालमा महिलाहरू राजनीतिक र सामाजिक नेतृत्वमा अघि बढेका छन् । यसको एक उदाहरण हुन, घोराही दाङकी साजिदा सिद्दिकी । मुस्लिम समुदायका अधिकांश महिला घरभित्रै सीमित भए पनि साजिदा भने करिब दुई दशकदेखि नै समाजसेवामा निरन्तर लागिरहेकी छन् ।
१८÷१९ वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा क्रियाशील भएको उनले बताइन् । मुिस्लम समुदाय त्यसमाथि कलिलो उमेरमै समाज सेवामा हात हाल्नु उनका लागि चुनौतीको विषय थियो तर साजिदा पछि हटिनन् । उनी भन्छिन्–‘यही अठोटले नै मलाई आजसम्म सफलै बनाइरहेको छ ।’
२०६० साल बैशाख ३१ गते सीसा नेपाल संस्था दर्ता भयो । साजिदा यस संस्थाकी अध्यक्ष हुन् । उनी यो संस्था दर्ता हुनुभन्दा दुई वर्ष अघिदेखि नै सामाजिक काममा अघि बढेकी थिइन् । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सामाजिक क्षेत्रमा सक्रिय भएको उनले बताइन् ।
‘मुस्लिम समुदायका महिलाहरू बाहिर निस्कन नपाउने अवस्था छ । यसलाई चिरेर म बाहिर निस्केको हुँ’–सिद्दिकीले भनिन् । मुस्लिम समुदायमा महिलाहरू बुर्का लगाएर घरभित्रै बस्नुपर्ने बाध्यता छ । यस कारणले उनलाई सामाजिक काममा सक्रिय बन्नका लागि धेरै चुनौती भोग्नुपरेको थियो । तर, चुनौतीको सामना गर्दै उनी अगाडि बढेको बताउँछिन् । ‘समाजको सेवा गर्छु भनेर अगाडि आएपछि चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्छ’–उनले भनिन् ।
सुरुका दिनदेखि उनले भोगेका चुनौतीहरू अहिले पनि उत्तिकै छन् । केहीले असहयोग गरे पनि सामाजको विकासका लागि काम गरेकाले धेरैको सहयोग रहेको उनले बताइन् । धेरैको सहयोगका कारण केही मात्रामा भए पनि सामाजिक सेवा गर्न पाएको उनी बताउँछिन् ।
‘सामाजिक काम गर्दा अनेक चुनौतीको सामना गरेर अगाडि बढ्न सक्नुपर्छ’–उनले भनिन् । चुनौतीको सामना गर्ने नसक्नेले सामाजिक कार्य गर्न नसक्ने उनको अनुभव छ । आफ्नो मिसन र भिजनका साथ अगाडि बढेमा अगाडि बढन सहज हुने उनी बताउँछिन् ।
‘मुस्लिम समुदायमा महिलाहरूले धेरै पढ्नु हुन्न भन्ने समुदायको मान्यतालाई परिवर्तन गर्नुपर्छ भनेर सामाजिक क्षेत्रमा लागेको हुँ’–सिद्दिकीले भनिन्–‘यसलाई केही मात्रामा भए पनि परिवर्तन गर्न सकिएको छ ।’ शिक्षाबिना मानिस अगाडि बढ्न नसक्ने उनको भनाइ छ । शिक्षा भएमा मानिस आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढ्न सक्ने उनले बताइन् ।
त्यसैले उनले यो अभियान अगाडि बढाएकी हुन् । मानिसलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढ्न उनले मुस्लिम समुदाय मात्र नभई अन्य समुदायका मानिसलाई जोडेर अगाडि बढाइन् । मुस्लिम समुदायलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढाउँदा अन्य समुदाय पछाडि पर्न सक्छन्, त्यसैले जोडेर अगाडि बढाइएको उनले बताइन् ।
‘म मुस्लिम हुनुभन्दा पहिले नेपाली हुँ, त्यसैले सबैलाई सँगै जोडेर अगाडि बढाएको हुँ’–सिद्दिकीले भनिन् । सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ । सबै समुदायलाई जोडेर जाँदा जातीय विभेद हुँदैन । यसबाट आफ्नो धर्म मान्ने र अरूकोलाई सम्मान गर्ने वातावरण सिर्जना हुने उनको भनाइ छ ।
समाजमा रहेका मानिसलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढाउन ११ वटा युवा क्लव, एक हजार विद्यालय र महिलालाई बचत समूहमार्फत करिब ५० हजारलाई सहकारीमा जोड्न सकिएको उनी बताउँछिन् । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ । सीपलाई सदुपयोग गरेर अहिले उनीहरू आय आर्जनमा जोडिएका छन् ।
अहिले कोही व्यवसायी तथा उद्यमी बन्न सफल भएका छन् । ‘यसरी व्यवसायी तथा उद्यमी भएपछि उहाँहरूको आर्थिक अवस्थामा पनि सुधार भएको छ’–उनले भनिन् । आर्थिक रूपमा सुधार भएसँगै समाजको विकासमा समेत सहयोग मिल्नेछ । कोही अहिले राजनीतिक रूपमा अगाडि बढेर जनप्रतिनिधिसमेत बन्न सफल भएका छन् । ‘यसरी अगाडि बढेको देख्दा केही मात्रामा भए पनि समाजका लागि काम गर्न सकिएछ भन्ने लागेको छ’–उनले भनिन् ।
तर, अझै पनि सबै क्षेत्रमा समान प्रतिनिधित्व हुनसकेको छैन । हरेक क्षेत्रमा सबै समुदायको प्रतिधित्व हुन आवश्यक रहेको उनले बताइन् । आफूले सोचेअनुसार सामाजिक कार्य गर्न नसकिएको उनको अनुभव छ । ‘आफूले सोचेअनुसार परिवर्तन गर्न समय लाग्छ, आफू निरन्तर लाग्नु आवश्यक छ’–उनले भनिन् ।