सफलताका लागि महत्वपूर्ण सूत्रहरू

सुप्रिया माँ

सफल र समृद्ध हुन हामी सबै चाहन्छौँ । विश्वका सबै राष्ट्र र सबै मानिसहरु भौतिक रुपमा सफल र समृद्ध हुन चाहन्छन् । विश्वमा कोही पनि यस्तो मानिस छैन जसलाई सफलता नचाहिएको होस् ।

सफल कसरी हुने भन्ने बारेमा सबैभन्दा धेरै लेखहरु र पुस्तकहरु पनि प्रकाशित भएका छन् । सबैको मनमा सफल र समृद्ध हुने चाहना भए पनि धेरै कम मानिसहरु मात्र सफल र समृद्ध जीवन बाँचेका हुन्छन् । सफलतालाई धेरै कुराहरुले प्रभाव पारेको हुन्छ ।

मानिसको आफ्नो सोच–विचार, बानी र जीवनशैली, मानिसले अरु मानिसहरुसँग गर्ने व्यवहार, संगत र सम्बन्ध, बाहिरको परिस्थिति र घटनाहरु, परिश्रम, धीरता, लगनशीलता र आत्मविश्वास आदि ।

यो सफलताका लागि महत्वपूर्ण सूत्र भन्ने लेखमा मैले बताउन खोजेको एउटा श्लोकको बारेमा हो । जुन श्लोक सिला रुपा गोस्वामीजीले आफ्नो पुस्तक उपदेशामृत (भगवद् गीता) मा उल्लेख गर्नुभएको छ । त्यसमा उहाँले सफलताका लागि चाहिने छ वटा सूत्रहरु बताउनुभएको छ ।

त्यो सूत्र सफल हुन चाहने मानिसहरुका लागि निकै प्रख्यात भएको छ र धेरै व्यावहारिक पनि मानिएको छ । यो श्लोकले भन्दछ,

उत्साह निश्चय द्धैर्यात् तत्तत्कर्म प्रवर्तनात् ।
संगत्यागात्सतो वृत्तेः षड्भिर्भक्तिः प्रसिद्धयति ।।

यस्ता छ प्रकारका सूत्रहरु बताइएको छ, जुन सूत्रहरु प्रयोग गर्ने हो भने षड्भिर्भक्तिः प्रसिद्धयति भनिएको छ । अर्थात् यो छ वटा सूत्रहरुलाई जीवनमा उतार्न सक्ने हो भने प्रसिद्धि वा सफलता निश्चित् छ भनिएको छ । छ वटा सूत्रहरु यस प्रकार छन् ।

१. उत्साह
उत्साह छैन भने मानिसले जीवनमा केही पनि गर्न सक्दैन । म जीवनमा केही गर्छु भनेर आफू भित्रबाट निस्किएको उत्प्रेरणा हो, उत्साह भनेको । जीवनमा केही गर्छु भनेर आफै प्रेरित् र उत्साहित हुनुपर्छ । बाहिरबाट मिल्ने जस्तोसुकै उत्प्रेरणा पनि जीवनमा सफल हुन थोरै हुन्छ ।

भनिन्छ, आफू भित्र पेरणा जाग्यो र उत्साहको दियो जल्यो भने त्यसलाई कुनै पनि मानिसले र कुनै पनि परिस्थितिले निभाउन सक्दैन । उत्साह नभएको मानिस गाडीमा हावा नभएको टाएर जस्तै हो, त्यो धेरै टाढा जान सक्दैन ।

२. निश्चय
निश्चय भनेको म यो नै काम गर्छु भनेर प्रवल भएको इच्छाशक्ति र संकल्पित भएको वा निश्चित् भएको अवस्था हो । संकल्पको शक्ति धेरै ठूलो छ । म यो गर्छु भनेर निश्चय गरेको मानिसलाई अब कुनै पनि कुराले बिचलित बनाउन सक्दैन । दृढसंकल्पित भएर लाग्नु पर्छ ।

इच्छा, निर्णय र निश्चय गरेर तीन चरण हुन्छ । इच्छा मात्र गरेर वा निर्णय मात्र गरेर पुग्दैन, निश्चय नै गर्नुपर्छ । जस्तै, पानी खाने इच्छा मात्र गरेर पुग्दैन, पानी खाने निर्णय गरेर पनि पुग्दैन, निश्चित् रुपमा म यो पानी यसरी खान्छु भनेर निश्चयमा पुग्नुपर्छ अनि मात्र यो काम पूरा हुन सम्भव हुन्छ ।

३. धैर्य
कुनै पनि कुरामा सफल हुन अनन्त धैर्य चाहिन्छ । धैर्यको गुण नभएको मानिसले कुनै पनि कार्य पूरा गर्न सक्दैन । भनिन्छ, थोमस एडिसनको धैर्य यस्तो थियो कि बिजुलीको बल्व निकाल्ने प्रयोगशालामा उनी सातसय पल्टसम्म असफल भइसकेका थिए तर उनले हार मानेनन् । उनी भन्दथे ‘एकहजार पल्ट प्रयोग गर्दा म सफल हुने रहेछु भने अब मात्र तीन सय पल्ट असफल हुन बाँकी छ, त्यसले म यो कार्य गर्न छोड्दिन ।’

धेरै प्रयास गर्दा पनि आफूले चाहे जस्तो परिणाम आएन वा अपेक्षा र लक्ष्य पूरा भएन भने मानिसको धैर्य हराउँछ र लक्ष्यबाट भड्कने सम्भावना धेरै हुन्छ । त्यो कामलाई छोड्ने निर्णयसम्म पुग्दछन् मानिसहरु ।

यस्तो अवस्थामा धैर्य रहनु अत्यन्त आवश्यक छ । धैर्य नगुमाइकन अझै संकल्पित भएर गर्दै जाने हो भने त्यसले मानिसलाई अवश्य सफल बनाउँछ । अध्यात्मको ज्ञान र ध्यानले मानिसलाई सहनशीलता र धैर्य हुन धेरै सहयोग गर्छ ।

४. तत् तत् कर्म प्रवर्तनात् अर्थात लक्ष्य राखेकै कर्म गर्नु
अन्य सबै कार्य छोडेर आफ्नो ऊर्जा सबै त्यही कार्यमा लगाउनुपर्छ, जुन कार्यले लक्ष्यतिर लैजान्छ । पूरै ध्यान आफूले लक्ष्य राखेको कार्यमा केन्द्रित गर्नुपर्छ । आफूले राखेको लक्ष्यभन्दा अन्य कार्यमा समय खेर फाल्नु हुँदैन ।

आफूले मुख्य कार्यमा समय लगाएर अरु सबै सानातिना कार्य अरुलाई जिम्मा लगाउनुपर्छ । एउटा भनाइ छ, सफल हुन चाहने मानिसले Easy कार्य समातेर Busy भइरहनु हुँदैन । सजिलो नभए पनि मैले त्यही कार्य समाउनुपर्छ, जुन कार्यले मलाई लक्ष्यसम्म पुराउँछ ।

५. कुसंगत त्याग्ने
संगतको ठूलो महत्व छ । मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरा उसले कस्ता मानिसहरुसँग संगत गरेको छ, त्यसमा पनि भर पर्छ । आफूले राखेको लक्ष्यतिर जान बाधा पुराउने सबै प्रकारका मानिसहरुको संगत त्याग्नु पर्छ । संगतको रँग धेरै चाँडो सर्छ ।

केही गर्न खोजेको र सफल हुन खोजेको मानिसले आफ्नो संगत कस्ता मानिसहरुसँग छ ? उनीहरुले आफ्नो कार्यमा बाधा पुराउँछन् कि सहयोग हुन्छ, त्यो कुरालाई धेरै ध्यान दिनुपर्छ । धेरै मानिसहरुले त्यो कार्य हुँदैन, अब त्यो सम्भव छैन, तिमीले गर्न सक्दैनौं, परिस्थिति विपरित छ, त्यो गर्नुभन्दा त यो गर भन्ने जस्ता नकारात्मक कुराहरु पनि सुनाउँछन् ।

नकारात्मक कुरा गर्ने मानिसहरुको संगत छोड्नु पर्छ । आफ्नो लक्षतिर सम्बन्धित् नभएका मानिसहरुलाई धेरै समय दिनु हुँदैन, त्यसले आफ्नो कार्यमा बाधा गर्छ र असफल बनाउँछ । मानिसहरु असफल हुने मुख्य तत्वमा संगत पनि एउटा हो ।

६. सत्संग गर्ने अर्थात आफ्नो लक्ष्यमा पुग्न सहयोग गर्ने सत्मानिसहरुको संगत गर्ने
त्यसतै लक्ष्य लिएर सफल भएका मानिसहरुको मिलेसम्म भौतिक रुपमै संगत गर्ने, उनीहरुका गुणलाई धारण गर्ने, त्यसैसँग सम्बन्धित् पुस्तकहरु, लेखहरु पढ्ने गर्नुपर्छ । जसलाई हामीले आदर्श बनाउँछौँ हामी त्यस्तै बन्दै जान्छौँ ।

मानिस कस्तो बन्दछ भन्ने कुरा उसको आदर्श व्यक्ति को हो ? त्यसबाट थाहा हुन्छ । आफूले जस्तै कार्य गरिरहेका मानिसहरुसँग संगत गर्ने हो भने आफूले पनि धेरै कुरा सिक्न सकिन्छ । एउटै लक्ष्य लिएका मानिसहरुको संगत महत्वपूर्ण हुन्छ ।

कुसंगतलाई त्यागेर सत्संगलाई अँगाल्नुपर्छ, सफल हुनका लागि । सतोवृत्ते भनेको त्यसकार्यमा सफल भएका मानिसको गुणलाई धारण गर्ने भनिएको हो ।
आजलाई यति नै, हरि ॐ !

सुप्रिया माँ आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।