नेपालीको महान चाड विजयादशमी र दीपावली नजिकिँदै गर्दा बजारमा चहलपहल पनि बढिरहेको छ । करिब ६ महिनादेखि जारी लकडाउन खुल्दा बजारमा चहलपहल बढ्नु स्वाभाविकै पनि हो । तर बजार खुले पनि विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिम भने कम भएको छैन । जोखिमकै कारण देखाएर बजार ठप्प पार्दा एकातिर जिल्लाका आर्थिक गतिविधिहरु कमजोर भइरहन्छन् भने असंगठित क्षेत्रका श्रमिकहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था पनि हामी सामू छ ।
यस्तो अवस्थामा कोरोनाको संक्रमणको जोखिमलाई व्यवस्थापन गर्दै व्यापार व्यवसाय सञ्चालनमा ल्याउनु पनि एउटा प्रमुख दायित्व हो । बजार खुलेसँगै व्यवसायीहरुले पालना गर्नुपर्ने सरकारद्वारा जारी न्यूनतम मापदण्ड पालना गरे–नगरेको अनुगमन गर्न र बजारमा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन नदिनका लागि दाङ उद्योग वाणिज्य संघले एउटा विशेष अनुगमन समिति बनाएर बजार अनुगमन समेत सुरु गरिसकेको छ । यसै सन्दर्भमा अनुगमन समितिका संयोजक तथा दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक बुढाथोकीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
भर्खरै खुलेको लकडाउन र नजिकिँंदै गरेका महान पर्वका कारण बजारमा चहलपहल र भीडभाड बढेको अवस्था छ, तर कोरोना भाइरसको संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ, यस्तो अवस्थामा बजारलाई कसरी चलायमान बनाउने सोचमा हुनुहुन्छ ?
हो, कोरोना भाइरसको संक्रमणको अवस्था हेर्दा अझै पनि केही महिना यो संक्रमण समाप्त हुने अवस्था छैन । हामीले विभिन्न सञ्चार माध्यममा समाचार सुनेअनुसार न यसको औषधी नै बजारमा आएको छ न त भ्याक्सिन नै उपलब्ध हुनसकेको अवस्था छ । यो विषम परिस्थितिमा व्यवसाय लामो समयसम्म ठप्प पार्दा नागरिक कोरोना भाइरसको संक्रमणलेभन्दा पनि खान नपाएर मर्ने अवस्था आउनसक्छ ।
त्यसैले कोरोना र व्यापार व्यवसाय सँगसँगै लैजानुको कुनै विकल्प छैन । तर संक्रमणको जोखिमलाई व्यवस्थापन गर्नु पनि हाम्रो दायित्व हो । यसैले हामीले अनुगमनका क्रममा हरेक व्यवसायी एवं व्यापारीलाई यस भाइरसका विरुद्ध सचेत समेत बनाइरहेका छौँ । यससँगै नेपाल सरकारले तोकेका न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न पनि व्यवसायीहरुलाई आग्रह गरिरहेका छौँ । अहिलेसम्मको अनुगमनमा पाएअनुसार करिब ९६ प्रतिशत व्यापारीहरु कोभिड–१९ को संक्रमणको जोखिमप्रति सचेत हुनुहुन्छ ।
उहाँहरुले नेपाल सरकारले तोकेका सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गरेको पाएका छौँ । तपाईं आफै पनि हालसम्म जिल्लामा संक्रमितको तथ्याङ्कलाई केलाउन सक्नुहुन्छ । मलाई लाग्छ, अहिलेसम्म दाङ जिल्लामा एक जना पनि व्यवसायी संक्रमित भएको अवस्था छैन । चाहे होटल व्यवसायी होस् वा किराना व्यवसायी सबैले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गरेको अवस्था छ । त्यसैले यसै पत्रिकामार्फत् सबै जनसमुदायलाई विश्वस्त पार्न चाहन्छु कि व्यापार व्यवसायबाट कोरोनाको संक्रमण समुदाय स्तरमा फैलनसक्ने अवस्था छैन । ढुक्कसँग सुरक्षित भएर व्यापार व्यवसाय सञ्चालनमा आउँछन् ।
यदि सक्रिय संक्रमितको संख्या नेपालभरि २५ हजार नाघ्यो भने फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सरकारलाई सुझाव दिएको छ नि ?
हो, मैले पनि समाचारमा सुनेको हुँ तर यति लामो समयसम्मको लकडाउनले दर्जनौँ होटल व्यवासायीहरु पलायन भएका छन् । किराना व्यवसायी र फेन्सी व्यवसायीहरु पनि पलायन भएको अवस्था छ । बजार नखुल्दा कहीँकतै दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभावसँगै कालोबजारी भएको पनि जनगुनासो हामीले सुन्दै आएका छौँ । तर बन्द र लकडाउन मात्र कोरोना भाइरसको संक्रमण रोक्ने उच्चतम विकल्प होइन ।
अब कुनै पनि वहानामा व्यापार व्यवसाय बन्द गरिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । हो, हामीले सुरुवातीको लकडाउनमा धेरै धैर्य गरेको अवस्था पनि हो । त्यसबेला हामीले दैनिक अत्यावश्यक उपभोग्य सामग्री उपभोक्ताका घर–घरमा पु¥याएको अवस्था पनि थियो तर सधैँ यो अवस्था रहँदैन । तपाईंले देखिहाल्नु भयो नि ! ५ महिनाको लकडाउनले के उपलब्धि दियो ?
खालि व्यवसायीमाथि ऋणको व्याजको भार थप्ने र उपभोक्तालाई अस्वाभाविक मूल्य बृद्धिको चपेटामा पार्ने अवस्था होइन र ! तरकारी खेती व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका किसानहरुको तरकारी लकडाउनको समयमा बारीमै सडेर गएको अवस्था तपाईंले देख्नुभएको होइन र ? हो, यो अवस्थालाई मध्यनजर गर्दै हामी फेरि लकडाउनलाई स्वीकार गर्ने पक्षमा छैनौँ ।
तर व्यवसायीलाई सचेत भएर व्यापार व्यवसाय सञ्चालन गर्न भने थप कडाई गर्ने छौँ । अहिलेसम्म कोरोनाको संक्रमण फैलिएको भनेको बैंक तथा वित्तीय संस्थाहरुबाट हो, सरकारी कार्यालय तथा स्वास्थ्य संस्थाहरुबाट हो अनि स्थानीय पालिकाका कार्यालयहरुबाट हो । कुनै पनि व्यवसायी संक्रमित भएर समुदायमा कोरोनाको संक्रमण फैलिएको एउटा पनि घटना दाङ जिल्लामा देखिएको छैन ।
कोरोनाको संक्रमणबीच पनि बजारमा गतिविधि बढेको छ, दैनिक उपभोग्य सामग्रीको उपलब्धता कस्तो छ ?
कोरोनाको लकडाउनमा पनि दैनिक उपभोग्य सामग्रीको अभाव भएको अवस्था होइन । अहिले त यहाँको स्थानीय उत्पादनले नधान्ने कृषि उपज पनि बाहिरबाट सहजै आउने गरेको अवस्था हो । कपडालगायत अन्य फेन्सी सामानहरु पनि बाहिरबाट आइरहेका छन् । दाल, चामल, नून, तेल सबै सायद दशैँसम्मका लागि पर्याप्त स्टक पनि छ ।
यसैगरी बजारमा यदि कसैले कृत्रिम अभाव सिर्जना गर्ने प्रयास मात्र गरेको पाइए पनि उद्योग वाणिज्य संघले त्यस्ता व्यापारीलाई तत्काल कारवाही गर्ने पनि मैले प्रतिबद्धता जनाउन चाहन्छु । अर्को कुरा स्थानीय पालिका र प्रशासनले पनि सायद पर्व लक्षित अनुगमन पनि गर्ने छन् । त्यसले कुन पनि व्यवसायीले सामान लुकाएर अभाव देखाउनुपर्ने अवस्था आउँदैन ।
किनकि सबै उपभोग्य सामग्रीहरु पर्याप्त भएको अवस्थामा कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि सम्भावना छैन । यहाँको स्टक सकिए अत्यावश्यक सामग्री आजको आजै अन्य बजार तथा सीमावर्ती भारतबाट पनि ल्याउन सकिन्छ । पर्वमा कुनै पनि सामानको अभाव हुने अवस्था यहाँ आउने छैन ।
यो त भयो सामानको उपलब्धता र स्वास्थ्य मापदण्डको कुरा तर बजारमा पसलैपिच्छे एउटै सामानको पनि फरक–फरक मूल्य हुने गुनासो उपभोक्ताको छ नि ?
हो, हामीलाई पनि यो गुनासो आएको छ । भारी परिणाममा विक्री हुने व्यवसायीले केही सामान केही कम मूल्यमा विक्री गरेका हुनसक्छन् । थोरै विक्री हुने व्यापारीले केही महँगो मूल्यमा विक्री गर्ने गरेको हुनसक्छ । अर्को कुरा गाउँ र बजारमा सामानको मूल्यमा एकरुपता आउने कुरा पनि भएन ।
तर बजारमा मूल्यमा एकरुपता ल्याउनका लागि हामीले किराना तथा गल्ला व्यवसायी उपसमितिलाई अनुगमनमा खटाइसकेका छौँ । उद्योग वाणिज्य संघकै मातहतमा रहेको सो उपसमितिले सबै किराना पसलमा मूल्यसूचि अनिवार्य रुपमा राख्न भनेको छ । तपाईं आफै पनि बजारमा पुगेर नियाल्न सक्नुहुनेछ । अर्को कुरा खाद्यपदार्थमा मिसावटको पनि गुनासो उपभोक्ताको छ । यसमा पनि हामी गम्भीर छौँ । यदि त्यस्तो पाइएको अवस्थामा गुणस्तर नियन्त्रण कार्यालयमा उजुरी दिएर नेपाल सरकारको उपभोक्ता ऐन वमोजिम कारवाहीको दायरामा पनि ल्याउन सक्छौँ ।
यदि कहीँकतै व्यवसायीहरुले यस्तो अभ्यास गर्नुभएको छ भने तत्काल रोक्न पनि यसै पत्रिकामार्फत् आग्रह गर्दछु । अन्यथा कानुनी कारवाहीको सजाय व्यवसायी स्वयम्ले भोग्नुपर्ने छ ।
प्रसङ्ग बदलौँ, तपाईं व्यवसायीहरुले भारतीय बजारबाट माल ल्याउँदा अनिवार्य रुपमा कर तिर्नुपर्दछ, तर यहाँ त केही झोले व्यापारीले भारतबाट भन्सार छलेर ल्याएका सामानहरु बजारमा खुलेआम विक्री गरेको अवस्था पनि छ नि ?
हो, हामीले त्यस्तो नभेटाएको होइन । केही झोले व्यापारीलाई कारवाही गरेको पनि अवस्था हो । आइन्दा यस्तो कर छलीको कारोबार नगर्ने गरी सचेत बनाएर केही झोले व्यापारीलाई छाडिएको हो । उनीहरुले विक्रीका लागि ल्याएका सामान जफत गरेर हामीले कृष्णनगर भन्सार पनि पठाएका छौँ । खास गरी कपडा व्यवसायीहरु यसको मारमा परेपछि गत वर्ष दाङ उद्योग वाणिज्य संघको टोली कपडा व्यवसायीको समस्यालाई लिएर भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा पनि उजुरी दिन पुगेको हो । अहिले त लकडाउन भएकाले पनि त्यस्ता झोले व्यापारीको उपस्थिति देखिएको छैन । यदि फेरि त्यस्तो खालको कारोबार भयो भने उनीहरुलाई नियन्त्रणमा लिएर सोझै राजश्व अनुसन्धान कार्यालयमा कारवाहीका लागि पठाउने छौँ ।
अर्को कुरा, विगत दुई वर्षदेखि किराना व्यवसायीहरुले आफ्ना ढक–तराजु अपडेट गराउन पाएका छैनन् । यसको प्रत्यक्ष मार उपभोक्ताहरुलाई कम तौलका सामान उपभोग गर्नुपरेको छ । यसका लागि उद्योग वाणिज्य संघले केही पहल गर्नुपर्ने होइन र ?
हो, हाम्रा व्यवसायीले विगत दुई वर्षदेखि ढक–तराजु चुस्तदुरुस्त बनाउन पाएका छैनन्, ठ्ग्ने नियतले भने होइन । किनकि हामीले यस अघि उद्योग वाणिज्य संघमै नापतौल तथा गुणस्तर मापन कार्यालय नेपालगञ्जबाट प्राविधिक झिकाएर ढक–तराजु दुरुस्त बनाउँदै आएको अवस्था हो । दाङ जिल्लामा यस्तो कार्यालय अझै खुलेको छैन ।
हामीले पटक–पटक नेपालगञ्जको कार्यालयलाई आग्रह गरिरहेका छौँ । लिखित पत्राचार समेत गरेको अवस्था हो । तर कोरोना भाइरसको संक्रमणपछि सो कार्यालयले कर्मचारीको अभाव भएको भन्दै नापतौल दुरुस्त गराउनका लागि यहाँ आउनै मानेको छैन । तैपनि हाम्रो प्रयास भने जारी छ । मलाई लाग्छ, दशैँपछि नेपालगञ्जबाट नापतौल तथा गुणस्तर निर्धारण कार्यालयको प्राविधिक टोलीलाई यहाँ ल्याउने छौँ ।