प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव
खेमराज रिजाल
दाङ, १३ असोज । आफूले नेतृत्व गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव मनाइरहँदा उपकुलपति प्रा.डा. संगीता भण्डारी आज औधि खुसी छिन् । सरकारले वि.सं. २०७४ सालमा स्थापना गरेको प्रतिष्ठानले खासमा तेस्रो वार्षिकोत्सव मनाउनुपर्ने हो, तर साविकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण हुन कम्तीमा एक बर्ष लाग्यो । एक बर्षसम्म अलमलमा थियो, प्रतिष्ठान ।
अस्पताल हस्तान्तरण भएलगत्तै कर्मचारी समायोजनका बेला भएको कर्मचारी आन्दोलन, त्यसैमा नेकपाकै नेतृत्वहरुले उपकुलपति हटाउन थालेको सडक आन्दोलनलगायतका विभिन्न व्यवस्थापकीय समस्या झेल्दै खरोरुपमा प्रस्तुत हुँदै आएकी उपकुलपति भण्डारीको नेतृत्व विस्तारै सहज बन्दै गएपछि दोस्रो बार्षिकोत्सवमा सरकारकै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन खोलेर प्रतिष्ठानलाई सहयोग गर्न संघीय सरकार तयार रहेको अभिव्यक्तिले संगीतालाइ खुसी मात्र बनाएको छैन, हौस्याएको पनि छ ।
बार्षिकोत्सवका अवसरमा जुम मिटिङमा प्रमुख अतिथिको उद्घाटन मन्तव्य दिँदै स्वास्थ्य मन्त्री ढकालले छोटो अवधिमा पनि धेरै काम गर्न प्रतिष्ठान सफल भएको उल्लेख गर्दा उपकुलपति संगीताको मन प्रफुल्लित थियो । त्यसो त मन्त्री ढकालले कोभिड–१९ को विश्वव्यापी संक्रमण व्यवस्थापन र स्वास्थ्य उपचार तथा पिसिआर परीक्षणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरेका थिए ।
‘कोरोना भाइरसको संक्रमणका कारण भौतिक रुपमा उपस्थित त हुन सकिन, तैपनि मैले जुममार्फत बार्षिकोत्सवमा सहभागी जनाउने अवसर पाएकोमा प्रतिष्ठान नेतृत्वलाई विशेष धन्यवाद व्यक्त गर्दै, प्रष्ठिानका लागि जग्गा व्यवस्थापन, थप आवश्यक उपकरणको व्यवस्थापनलगायत शैक्षिक गतिविधि सञ्चालनका लागि सरकार सधै प्रतिष्ठानसँग हातमा हात मिलाएर अघि बढ्नेछ’, मन्त्री ढकालले भनेका थिए । सरकारको हरेक प्रदेशमा एउटा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने नीतिसँगै पछिल्लो समयमा हरेक प्रतिष्ठानको मातहतमा ५ सय बेडको अस्पताल निर्माण गर्ने नीति पारित गरिसकेको जनाउँदै प्रतिष्ठानको चौतर्फी उन्नयनमा लाग्न पनि प्रतिष्ठान नेतृत्वलाई सुझाव दिए ।
‘सातवटा प्रतिष्ठान मध्ये महिलाले नेतृत्व गरेको एकमात्र प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो, आलोचनाको मैदानबाट खरो भएर उत्रनुहोला’, प्राध्यापक डा. संगीतालाइ इंगित गर्दै मन्त्री ढकालले जुम भाषणमा भनेका थिए ।
थुप्रै चुनौतीका बीच पनि दोस्रो बार्षिकोत्सव मनाइरहँदा प्रतिष्ठानका सबै चिकित्सक कर्मचारीहरुमा अहिले भावनात्मक एकता पलाएको छ । विरोध होइन, सकारात्मक आलोचना र सकारात्मक सुझाव प्रतिष्ठानले ग्रहण गर्न थालेको छ । यसबीचमा प्रतिष्ठानमा लाइभ सेभिङका लागि तथा सर्ट पिरियडका लागि आइसियु सेवा, विश्व स्वास्थ्य संगठनको स्टयाण्डरको प्रयोगशाला तथा विभिन्न विधामा विशेषज्ञ चिकित्सकीय सेवा र शल्यक्रिया सेवासमेत प्रदान गर्न थालेको छ ।
अक्सिजन प्लान्टको जडान भएपछि नियमितरुपमा आइसियु सेवा तथा सायद दशैलगत्तै सिटिस्क्यान सेवासमेत सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान रहेको छ । त्यसो त संगीतालाई खुसी हुनुपर्ने अरु आधारहरु पनि थिए । अब राजनीतिक इगो होइन, प्रतिष्ठानलाई कसरी माथि उठाएर उद्देश्य प्राप्तिका लागि लैजाने भन्नेमा प्रदेश सरकारका सामाजिक विकाश मन्त्रीको अभिव्यक्ति पनि आशावादी थियो ।
जुम बैठकमार्फत आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री बरालले भनेका थिए– ‘प्रतिष्ठान संघको मातहतको भए पनि परेको अवस्थामा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार छ, दोस्रो बार्षिकोत्सवको शुभकामना ।’
‘संघ मातहतमा भए पनि यसलाई हामीले प्रदेश सरकारको ठूलो पुँजीका रुपमा लिएका छौं, चाँडै प्रतिष्ठानमा एकेडेमिक कक्षा सञ्चालनका लागि पनि हामीले आफ्नो सरकारको तर्फबाट पहल गर्नेछौं, यसमा विश्वस्त हुन आम राप्तीवासीलाई आग्रह गर्दछु’, मन्त्री बरालको अभिव्यक्ति थियो । कोभिड–१९ को संक्रमण व्यवस्थापन तथा पिसिआर परीक्षणमा प्रतिष्ठान टिमले निर्वाह गरेको अहम् भूमिकालाई पनि मन्त्री बरालले उच्च प्रशंसा गरेका थिए ।
त्यसो त प्रतिष्ठानको जुम बैठकमा प्रमुख जिल्ला अधिकारीले पनि बार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै स्थानीय प्रशासनले गर्नुपर्ने सबै काममा सहजीकरण गर्ने तथा जग्गा प्राप्तिका विषयमा पनि विशेष पहल गर्ने अभिव्यक्ति दिएका थिए । बार्षिकोत्सवमा पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र पूर्व सभामुख तथा संघीय सांसद कृष्णबहादुर महराले दिएको लिखित शुभकामना पनि प्रतिष्ठानलाई उर्जा थप्ने आशयका थिए ।
पोख्रेल र महराका मेलबाट प्राप्त लिखित शुभकामना प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले पढेर सुनाएका थिए । ‘कोरोना भाइरसको विश्वव्यापी संकटले हामीलाई हरेक प्रदेशमा स्तरीय स्वास्थ्य संस्थाको आवश्यकता अनुभूति गरायो, अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नमुना प्रतिष्ठानका रुपमा स्थापित हुन सकोस्’, मुख्यमन्त्री पोख्रेलको शुभकामना मन्तव्यमा उल्लेख थियो ।
त्यसैगरी पूर्वसभामुख तथा यही क्षेत्रबाट निर्वाचित संघीय सांसद कृष्णबहादुर महराले पनि शुभकामनामा विगतको गम्भीरतालाई आत्मसमीक्षा गर्दै प्रतिष्ठानलाई थप सेवामुखी एवं सुविधा सम्पन्न संस्था बनाउन प्रतिष्ठान नेतृत्वलाई आग्रह गरिएको थियो ।
भौतिक उपस्थितिमा बार्षिकोत्सव
यसैबीच विश्वव्यापी कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भौतिकरुपमा पनि दोस्रो बार्षिकोत्सव मनाएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीको अध्यक्षतामा भएको बार्षिकोत्सवका अवसरमा बोल्दै प्रतिष्ठानका सिनेट सदस्य तथा प्रमुख अतिथि देवनारायण चौधरीले प्रतिष्ठानलाई राजनीतिक थलोका रुपमा नभएर प्राज्ञिक संस्थाका रुपमा विकास गर्न सबैको हातेमालोको अपेक्षा गरे ।
छोटो समयमा सीमित श्रोत साधनले पनि प्रतिष्ठानले गरेको प्रगतिको प्रशंसा गर्दै प्रमुख अतिथि चौधरीले विगतमा सिर्जना भएको अवस्थालाई भुलेर चाँडोभन्दा चाँडो शैक्षिक गतिविधि सञ्चालनका लागि सबै दलहरुबीच एकमत हुनुपर्ने औल्याए । कोरोना भाइरसको संक्रमणको अवस्थामा प्रतिष्ठानले पिसिआर परीक्षण तथा स्वास्थ्य उपचार सेवामा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै अब थप विशेषज्ञ सेवातर्फ लाग्नुपर्ने बताए ।
सामाजिक दूरी कायम गर्दै झिनो तर प्रतिनिधिमूलक उपस्थितिबीच आयोजित बार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले विगतमा प्रतिष्ठानमा केही उतार–चढाव आए पनि अहिले अवस्था सहज भएको उल्लेख गर्दै प्रतिष्ठानलाई स्तरीय स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको थलो बनाउन सबैले सहकार्य गर्नुपर्ने सुझाव दिएका थिए ।
शुभकामना मन्तव्य व्यक्तगर्दै प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले प्रतिष्ठानलाई एकेडेमिक कक्षा सञ्चालनको भौतिक पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि माथिसम्म पुगिसकेको बताउँदै अब विगतलाई भुलेर अझै क्रियाशीलता बढाउन सुझाव दिए ।
यी सबै अभिव्यक्तिसँगै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति प्रा.डा. भण्डारीले विगतमा कर्मचारी समायोजनका क्रममा केही समस्या देखिए पनि अहिले प्रतिष्ठानलाई सबैको साथ र सहयोग जुट्दै गएकोमा खुसी व्यक्त गरिन् । ‘नेतृत्व फेरबदल भइरहन्छन्, तर प्रतिष्ठान हामी सबैको साझा थलो हो, यसलाई यहाँसम्म ल्याउन सहयोग गर्ने र सद्भाव एवं शुभेच्छा व्यक्त गर्ने सबै सरोकारवाला महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु’, भण्डारीले भनिन्– ‘साथै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु ।’
उपकुलपति भण्डारीले ५ नं. प्रदेश मात्र नभएर कर्णाली प्रदेशलाई समेत स्वास्थ्य सेवा दिन सक्ने प्रतिष्ठानमा आउँदो शैक्षिक सत्रमा बीएस्सी नर्सिङको पढाइ शुरु हुने उद्घोष गरिन् । ‘प्रतिष्ठानमा अनावश्यकरुपमा बाह्य हस्तक्षेप नहोस् भन्ने हाम्रो अपेक्षा हो, यदि त्यसो भएमा समस्त प्रतिष्ठान परिवार एक भएर उभिने छौं’, भण्डारीले भनिन् ।
प्रतिष्ठानका कार्यालय सहयोगी देखि विशेषज्ञ चिकित्सकसम्मको सहयोगले प्रतिष्ठानले छोटो समयमा सीमित स्रोत साधनबाट पनि यो उपलव्धि हासिल गर्न सफल भएको भन्दै उपकुलपति भण्डारीले संघीय सरकार एवं प्रदेश सरकारलाई आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माणका लागि थप सहयोग गर्न आग्रह गरिन् । कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत दीक्षा योगीले गरेकी थिइन् ।
उत्कृष्ट कर्मचारी÷चिकित्सक पुरस्कृत
यसैबीच कोभिड–१९ को महामारीबीच पनि आफ्नो दायित्वलाई थप सशक्त बनाउँदै प्रतिष्ठानमा उत्कृष्ट काम गर्ने कर्मचारी एवं चिकित्सकहरुलाई बार्षिकोत्सवका अवसरमा पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुमा सरसफाई कर्मचारी अशोक चमार, ढुवानी कर्मचारी रामचन्द्र विक, सहायक मेडिकल रेकर्डर गंगा सेन, सवारीचालक कमानसिंह पुन, नर्स सोनु श्रेष्ठ, अधिकृत शरद अधिकारी, डायटिसियन मदन पाण्डे, प्याथोलोजिष्ट डा. गोपाल लामा, माइक्रोवाइलोजिष्ट दामोदर शर्मा, डा. पृथ्वी अधिकार, डा. नेत्रप्रसाद बञ्जाडे, डा. ईश्वरी भुसाललगायतलाई पुरस्कृत गरिएको थियो ।
अघिल्लो बर्ष बार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएको भए पनि यो बर्ष कोरोना भाइरसको महामारीका कारण यी कार्यक्रमहरु हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।