दंगीशरणका विद्यालय सञ्चालनमा

दीप्तिशिखा चौधरी

दंगीशरण, १३ असोज । दंगीशरण गाउँपालिकामा कोभिड–१९ का बीचमा विद्यालय सञ्चालनमा आएको छ । विश्वभरी फैलिएको कोभिडका कारण लामो समयसम्म बन्द रहेका बिद्यालयहरु लकडाउन खुलेको केही समयपछि मात्र सञ्चालनमा आएका छन् ।

विद्यालय सञ्चालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विद्यालयको शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा आएको छ ।

दंगीशरण गाउँपालिकाको बीरेन्द्र मा.वि. हेकुली, सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँ, मा.वि. मधपुर, भानु मा.वि. प्रसडुवा, प्रा.वि. कौवाघारी, जनता आधारभूत विद्यालय बुटनिया, ज्ञानज्योति प्रा.वि.बोगटी, आधारभूत विद्यालय बाँकी बेटारपुर, रात्रि प्रा.वि. सिम्ठाना, सरस्वती प्रा.वि. मिरौली, सरस्वती आधारभूत विद्यालय पदमपुर, रात्रि आधारभूत विद्यालय बैबाङ्ग, लक्ष्मीनारायण आधारभूत विधालय सलौरा, प्रावि मलईखोला, ज्ञानज्योति प्रावि खलुवाचिस गरी १५ वटा सामुदायिक विधालयहरु सञ्चालनमा आएका छन् ।

विद्यालयमा विद्यार्थीहरुको संख्याका आधारमा दिनमा ५० भन्दा कम विधार्थीहरु बोलाई समय तालिकाअनुसार सिकाई सहजीकरणका रुपमा शिक्षण सिकाई क्रियाकलाप भइरहेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

‘कोभिड १९ का कारण अहिले सिकाई केन्द्रको रुपमा विद्यालय सञ्चालनमा आएको हो’, प्रमुख अधिकारीले भने । सामाजिक दूरी कायम गरेर कम मात्रामा विद्यार्थीहरु राखेर मापदण्ड अनुसार दंगीशरणका विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

कोभिड–१९ को संक्रमणमा सुधार देखिएमा फेरि छलफल गरेर अगाडि बढ्ने शिक्षा प्रमुख अधिकारीले बताए ।