तपाईलाई यो पत्र पठाएको छु । किनकि मैले मेरा ९३ बर्षका हजुरबालाई राप्ती आँखा अस्पतालमा उपचारका लागि लगें । रक्षाचौरसम्म सल्यान जाने सडक ठिकै थियो, तर रक्षाचौरदेखि बढीमा २ सय मिटर बाटोमा मेरो हजुरवाको लठ्ठी पनि टेक्ने स्पेश थिएन सडकमा ।
कहीँ खाडल त कहीँ उपडखावट, तर तीनै तहका सरकारले यसलाई नगण्य र नालायक अभिव्यक्ति मान्लान्, मलाई उनीहरुको अभिव्यक्तिको मतलव छैन । किनकि यति छोटो बाटो निर्माण गर्दा कसले जस पाउने भन्नेमा विभिन्न बहस पनि हुने छन् ।
तैपनि सडक त अझै पनि क्षतविक्षत छ । मैले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई पहिले स्मरण गर्न चाहन्छु । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, किनकि राप्ती आँखा अस्पतालमा ओपिडी भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भाछ रे ।
त्यसैगरी प्रदेश सरकारलाई पनि सम्झन चाहन्छु, सरकारले फेको मेसिन खरिदमा केही सहयोग गरेको हो रे । यी विषय त राप्ती आँखा अस्पतालको स्वार्थसँग जोडिएका विषय हुन् । तर त्यही अस्पतालमा उपचार गराएका दृष्टिविहीनहरुलाई लौरो टेकाएर घर पठाएपछि मात्र दृष्टि फर्कन्छ । तर उनीहरुको दृष्टि फर्काउनका लागि अस्पतालदेखि तुलसीपुरको यात्रामा बाटोको अवस्था कस्तो छ ?
सायद पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रल पनि यो अस्पतालको अनुगमन गर्न आए । पूर्वसभामुख कृष्णबहादुर महरा पनि अस्पतालको स्वास्थ्य सेवाको अनुगमनमा आए । तात्कालीन पूर्वमन्त्री दीपक गिरी पनि राप्ती आँखा अस्पतालमा आएर स्तरोन्नतिका लागि पहल गर्ने अभिव्यक्ति दिए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे त धेरैपटक राप्ती आँखा अस्पतालमा अनुगमन गर्न आए । यसै अस्पतालका सेरोफेरोमा तुलसीपुर उपमहानरपालिकाका वडा नं. ७ र ४ का वडाध्यक्षहरु पनि यही बाटो हिँड्छन् । नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काको पनि बाटो यही स्थानमा परेको छ । तर पनि किन नेताहरु बेखवर छन् ? सायद सबै नेतामा दृष्टिदोष छ कि ?
तुलसीपुर बजारको बीरेन्द्र चोकदेखिको स्तरोन्नतिको सवाल होइन । तुलसीपुर उपमहानगरपालिकाले राप्ती आँखा अस्पतालसम्म सहज सडक पु¥याउने अभ्यास गरेको छैन । मुख्यमन्त्रीले यो विषयमा टुकुरे योजना ल्याउने अवस्था पनि छैन । संघीय सरकारको योजनामा यो अढाइ सय मिटर सडक योजना पर्न सक्दैन, तर पनि समस्या छ, स्थानीय सरकारको । किन स्तरोन्नति हुन सकेन, रक्षाचौरदेखि आँखा
अस्पतालसम्मको बाटो ?
तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा कम्तीमा ३ किमि सडक चौडा गर्ने अभियानमा छ, सबै वडामा यसको अभ्यास समेत शुरु भैसकेको छ, तुलसीपुर विकास प्राधिकरणका प्रमुख पवन योगीलाई पनि मैले प्रश्न राखेको छु, राप्ती आँखा अस्पताल पुग्ने आधा किमि सडक स्तरोन्नति गर्न आवश्यक होइन र ? मेरा प्रश्न मात्रै हुन् । तपाईले जवाफ दिन जरुरी पनि छैन । तर मध्य तथा सुदूर पश्चिमकै सामुदायिक अस्पतालका रुपमा रहेको राप्ती आँखा अस्पताल केन्द्रीय कार्यालयमा यातायात सेवा सहज बनाउन कसले पहल गर्ने हो ?
स्थानीय सरकारको क्याटोगोरीमा छैन, प्रदेश सरकारको क्याटोगोरीमा छैन, अनि संघीय सरकारको पनि क्याटोगोरीमा छैन भने सबैभन्दा पहिले यो अभियानमा हाम्रो भूमिका रहँदैन भनेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुखले हात उठाउन आवश्यक छ, तुलसीपुर वडा नं. ७ का अध्यक्षले पनि त्यसमा हौसे गर्न आवश्यक छ, अनि तुलसीपुर उपमहानगरपालिका–४ का अध्यक्षले पनि हात उठाउन आवश्यक छ ।
मैले जे देखेको छु त्यही लेखेको हुँ अन्यथा भएमा मेरो पत्रलाई नछापे पनि मैले स्वीकार गर्ने छु । यदि कुनै पनि स्थानीय सरकारले संघीयता स्वीकार गर्न सक्दैनन् भने तुलसीपुर आँखा अस्पताल आँखा नदेख्नेका लागि हो । उनीहरुले छामछुम गर्दै अस्पताल पहिल्याउने छन् ।
आँखाका बिरामीलाई अस्पतालसम्म पुग्न सहज बाटो नै छैन भने, नेताहरुको दृष्टिदोष पनि अवश्य हो । आदरणीय नेताहरुको दृष्टिदोष चेकअप गराउन आग्रह छ, किनकि तपाईको स्तरीय गाडी आँखा अस्पताल पुग्ने सडकको खाडलमा फस्यो भने । कृयया यो पत्र छापिदिनुहुनेछ भन्ने विश्वास छ, थप जानकारीसहित अर्को पाठक–पत्र लेख्ने प्रतिवद्धता जनाउँछु ।
यादव रिजाल
तुलसीपुर उपमहानगरपालिका–१७ दाङ