कोरोनाले थलिएको पर्यटन वर्ष

के.पी. सुवेदी
कोरोना भाईरसको महामारीले सबैभन्दा धेरै प्रभावित क्षेत्र पर्यटन हो । हाम्रोजस्तो स्वदेशमै रोजगारी नपाएर विभिन्न विदेशी मुलुकमा रोजगारीका लागि भौँतारिने वाध्यताको बीचबाट थोरै भए पनि रोजगारी दिएको र विदेशी मुद्रा आम्दानी गर्ने व्यवसाय पर्यटन हो ।

यो वर्ष भने पर्यटन विश्वभरि नै कोरोनाको मारमा प¥यो । सबैलाई आफ्नो सीमाना बन्द गरेर बस्नु परेपछि देशविदेश घुमेर दुर्लभ दृश्यवलोकन गर्ने यसरी असम्भवझैँ लाग्ने समय पनि आउँदो रहेछ ।

देशविदेशको कुरा मात्र होइन स्वदेशमै भइरहेको आवतजावत पनि बन्द गरेर बसेको ६–७ महिना बितिसकेको छ । भविष्य के हुन्छ थाहा छैन तर भूतपूर्व अनुभव नगरिएको महामारीले संसारको पारस्परिक आवागमन विच्छेदित छ । हप्ता दुई हप्ता भन्दाभन्दै ६–७ महिना हवाई यातायात बन्द गरेपछि विदेशी पाहुनाको सत्कार र स्वागतलाई आफ्नो दैनिकी बनाउन नसक्दा धेरै व्यवसायीको चुलो मात्र बन्द भएन विदेशी मुद्राको संचितीमा योगदान गरिरहेको स्रोत बन्द हुन पुगेको छ ।

पर्यटन धेरै मानिसलाई रोजगारी दिने र देशको आर्थिक विकासमा ठूलै योगदान गरिरहेको क्षेत्र भएकोले यो वर्ष सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी सरकारले गरिरहेको थियो । विदेशी पर्यटकको संख्या बढाएर नेपाललाई पर्यटकीय क्षेत्र भनेर विश्वले चिनोस् र एक पटक नेपाल गएर सुन्दर प्राकृतिक दृश्य हेर्ने रहरले सबै मुलुकका नागरिकलाई घचघच्याइरहोस् भन्ने उद्देश्यले यो वर्षलाई पर्यटन वर्ष बनाउने लक्ष्य सरकारको थियो ।

पर्यटनले मानिसहरुलाई नयाँ–नयाँ ज्ञान र जानकारीहरु पस्किन मद्दत गर्छ भने असल संस्कार र सभ्यता पनि सिकाउँछ । आजको विश्व सञ्चार र हवाई यातायातले जोडिएपछि एउटा ठूलो गाउँजस्तो भइसकेको छ । यी सुविधा नहुँदा पृथ्वीको अर्को कुनाको के कुरा आफ्नो गाउँ नजिकै जानुपरे बास बस्नुपर्ने अवस्था सम्झिँदा अहिले आफैलाई आश्चर्य लाग्छ ।

सूचना प्रविधिले नजिकिएको मानिस सकेसम्म आँखाले हेरेर त्यसको मजा लिँदै राम्रो वस्तु आफ्नो बनाउने उद्देश्य राखेको हुन्छ । भौगोलिक विविधताले भरिएको हाम्रो देश संसारका जिज्ञाशु मानवको अवलोकनको रोजाइमा परेको छ । बाह्रैमहिना हिउँले ढाकिरहने सुन्दर हिमालले यो देशलाई सिंचित र हराभरा राख्न मदत पु¥याइरहेको छ ।

हिमाल, पहाड र तराई तीन किसिमको भूगोलमा उत्पादित फलफूल वनस्पति र विविध प्रकारको जलवायु जिज्ञाशु मानिसहरुका लागि अध्ययनको विषयवस्तु पनि हो । त्यसैले विभिन्न शोध र अनुसन्धानकर्ता नेपाललाई पर्यटनको गन्तव्य स्थल बनाउँदै वर्षेनी ठूलो संख्यमा नेपाल आउने गर्छन् । उनीहरुको रोजाइलाई थप हौसला बढाउन र प्रतीक्षालाई अझ बढी कौतुहल बनाउन पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि घुम्न निस्किँदै गरेका पाइला जहाँको त्यहीँ रोकिएका हुन् ।

ठूल्ठूला होटेल र रेष्टुरेण्टदेखि होमस्टे, ठूला जेटविमानदेखि अटो–रिक्सासम्मको आम्दानी अहिले ठप्प प्रायः बन्न पुगेको छ । विदेशी पाहुनाले भरिने ती स्थानहरु अहिले कोभिडका बिरामीले भरिँदैछन् । ठूला होटेलहरु सरकारले नै क्वारेन्टाइन र आइसोलेशन बनाइरहेको भए पनि त्यहाँ नेपाली मात्र छन् । होमस्टे र साना होटेलहरु बन्द हुँदै गएका छन् ।

पर्यटकको अभावमा बन्द भएका व्यवसाय सजिलो हुने दिन कुरेर बसिरहेका मानिसहरु पनि हातमुख जोड्न नसकिने भएपछि पेशा परिवर्तन गर्न विवश देखिन्छन् । केही मानिसहरुको रोजगारी हाललाई गुमेको भए पनि सधैँ यस्तै रहँदैन । किनभने जसरी पनि कोरोना एक दिन नियन्त्रण भएर छोड्ने छ । यसैको लागि आज संसारका वैज्ञानिकहरु जुटिरहेका छन् कि मानिसलाई कोरोनाको भयबाट कसरी मुक्त गर्ने भनेर ।

प्राकृतिक सम्पदाले धनी देश नेपाल विभिन्न प्रकारको आन्तरिक अव्यवस्थाले अलमलमा परेर पर्यटनलाई उद्योगको उपमा विकास गर्न असमर्थझैँ रहेको थियो । त्यसवाहेक सशस्त्र द्वन्द्वले पनि पर्यटन विथोलियो । यहाँसम्म कि अमुक–तमुक देश तोकेर कथित विद्रोहीले विदेशी पर्यटकमाथि भौतिक आक्रमण गरे । जे होस् धेरै राजनीतिक उकाली–ओरालीले नेपाललाई माया गर्नेहरुलाई सौहार्दपूर्ण स्वागत गरेर मोहित बनाउन ढिलो भए पनि अबका दिनमा पर्यटनलाई देशको समृद्धिको एउटा अङ्ग सम्झेर त्यसै अनुसार भत्केका पूर्वाधार पुनर्निर्माण गरिहाल्नु जरुरी छ ।

विदेशी पर्यटकलाई आकर्षण गर्ने व्यवसाय र त्यसमा संलग्न व्यवसायीलाई सरकारले राहत दिएर बचाउनु पर्ने अवस्था छ । त्यससैगरी प्रकृतिबाट वरदान स्वरुप प्राप्त गरेको सम्पदा तथा मानव निर्मित विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थल नेपालको सभ्यताका प्रतीक बनाउन सक्नुपर्छ ।

विश्वका अन्य देशहरुको आ–आफ्नै विशेषता भएका सम्पदा स्थल हुन्छन्, तिनीहरुको उच्चतम नमुनाको रुपमा अरुका सामू पु¥याएर त्यसबाट मनग्य आम्दानी गरिरहेका हुन्छन् । प्रशिद्ध तीर्थ स्थलहरु पनि पर्यटनका दरिला आधार बनेको हामी देखिरहेका छौँ ।

दुर्लभ वन्यजन्तु, दुर्लभ वनस्पति, आदि अवलोकन भ्रमण तथा धार्मिक पर्यटनलाई आकर्षक बनाउने सरकार र समुदाय स्तरबाट संरक्षणमा ध्यानपूर्वक लगानी गर्नुपर्छ । सबैले देशप्रति इमानदारी ग¥यो भने मात्र यस्ता सम्पत्तिको संरक्षण गर्न सम्भव हुन्छ । यस्ता विषयमा समुदायमा स्पर्धा भाव जागृत हुनसक्यो भने सदावहार हुन सक्छ । तर संसारभरि कोरोनाले थलिएको पर्यटनका अरु पनि चुनौती थपिन सक्छन् ।