हुलाकी सडक विवाद मिल्यो

राजपुर, १२ असोज । हुलाकी सडक मार्ग अन्तर्गत दाङको कालाकाँटे–सिक्टा राजपुर गाउँपालिका २ मटेरियाको मिलनचोकदेखि पश्चिम करिब ४ सय मिटर बाटो निर्माणमा विवाद हुँदै आएको विवाद टुङ्गिएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर सुनिलकुमार गुप्ता, राजपुर गाउँपालिका प्रमुख लोकराज केसी र राजपुर २ का वडा प्रमुख दुर्गाप्रसाद शर्माको संयुक्त छलफलबाट नक्सामा कायम रहेको सडकको मध्यविन्दुबाट दायाँ–वायाँ सडक निर्माण गर्ने र उक्त सडक निर्माण कार्य गर्दा नक्सामा कायम भएको सडकको क्षेत्रभित्र निर्माण गरी बनाइएका घर व्यवस्थापनको सम्बन्धमा गाउँपालिकाले घर निर्माण गर्ने व्यक्तिको अवस्था छानविन गरी व्यवस्थापन गर्नुपर्ने भए अन्यत्र व्यवस्थापन गर्ने, सम्बन्धित घर व्यवस्थापन गर्न भने समय उपलब्ध गराइने गरी सडक निर्माण कार्यलाई अघि बढाइने सहमति भएको छ ।

हुलाकी सडकखण्ड अन्तर्गत कालाकाँटे गढवा हुँदै सिक्टा जोड्ने सडक निर्माणको क्रममा राजपुर गाउँपालिका २ मटेरिया सडकदेखि उत्तरतर्फका जग्गाधनीहरु र स्थानीय बुद्धिजीवीहरुको २०७६ पुस ५ गतेको बैठक निर्णयानुसार नक्सा नम्बर मटेरिया, १क पूर्वमा कित्ता नम्बर ७५३, पश्चिममा कित्ता नम्बर २५०को बीचमा नक्सामा बाटोको चौडाई ३३ देखि ३८ मिटर कायम रहेको भए पनि बाटोको पुरा चौडाइको मध्यविन्दुबाट दायाँ–बायाँ ८÷८ मिटर कायम गरी १६ मिटरको बाटो निर्माण गर्नुपर्नेमा केन्द्रविन्दुबाट दायाँ र वायाँ कायम नगरी एकलौटी उत्तरतर्फका जग्गाधनीहरुलाई असर पार्ने गरी बाटो निर्माण कार्य गर्न खोज्दा पीडित जग्गाधनीहरुले कानुनी मापदण्ड अपनाउँदै आएका थिए ।

उनीहरुले उचित न्यायको माग सहित आवेदन दिएकोमा सम्बन्धित वडा कार्यालयबाट जारी गरेको निर्णय समेत कार्यान्वयन हुन नसक्दा बाटो निर्माण कार्य स्थगित हुँदै आएको थियो । ततसम्बन्धी समस्याको व्यहोरा राजपुर गाउँपालिका प्रहरी चौकी बेला, हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जमा जानकारी गराउने र त्यहाँबाट समेत उचित निकाश आउन नसके उच्च अदालत तुलसीपुर दाङमा मुद्दा दर्ता गर्ने भनी जग्गाधनीले चेतावनी दिँदै आएका थिए ।

सोही अनुसार हुलाकी राजमार्ग कार्यालयले उक्त समस्याको निकास आफै निकाल्ने बताएको थियो ।

तर जग्गाधनीहरुले सरकारी अमिन झिकाई गाउँपालिका प्रतिनिधि समेतको उपस्थितिमा दुबै साइडका जग्गा छुट्याउने कार्य गर्नुपर्ने त्यस पश्चात् बाटोको मध्यविन्दुबाट दायाँ–वायाँ बराबर सडक निर्माण गरिने भन्ने अश्वासन दिएकोमा त्यसै वमोजिम जग्गाधनीहरुले गाउँपालिकासँग समन्वय गरी नापी शाखा लमही दाङबाट अमिन झिकाई गाउँपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी समेतको उपस्थितिमा सडक सीमा क्षेत्र छुट्याइएका थिए ।

सडकमा घर निर्माण गरी बसोवास गर्दै आएका घरधनीले सरकारले आफूहरुलाई घर हटाउन भनेको खण्डमा आफूले घर हटाउँछाँै भनी इन्जिनियर गुप्तासमक्ष बताएका थिए ।

फाइल फोटो