बालाराम खड्का
तुलसीपुर, १२ असोज । तुलसीपुर–४ को रक्षाचौरमा स्थित सामुदायिक विद्यालय गुरु जजुर मावि कुनै बेला कमजोर विद्यार्थीले पढ्ने विद्यालयको रुपमा परिचित थियो ।
कहिलेकाहीँ त नतिजा पनि शून्य नै हुने गरेको थियो । तर पछिल्लो समयमा भने विद्यार्थीको प्रमुख रोजाइ रुपमा गुरु जजुर रहेको छ । सो विद्यालय अहिले नमुना विद्यालयमा पनि छनोट भएको छ ।
कुनै समयमा विद्यार्थी खोज्न जानुपर्ने विद्यालयमा अहिले विद्यार्थी रोजेर भर्ना गर्नुपर्ने अवस्था छ । कक्षा १–१० र ११ , १२ मा विज्ञान र बालिविज्ञान पढाई हुने विद्यालयको भौतिक मुहार पनि फेरिएको छ ।
कुनै बेला विद्यार्थीहरुले घरबाट बिछाउन चखटी बोकेर ल्याउनुपर्ने थियो । तर आजभोलि सुविधा सम्पन्न भवनहरु निर्माण भएका छन् भने कहीँ हुँदै छन् । ‘पहिले यो विद्यालय कमजोर विद्यार्थीले पढ्ने विद्यालयको रुपमा चिनिने गरेको थियो, हामीले तुलसीपुरमा पढ्दा अहिले राम्रो पढाइ हुने भन्दै विभिन्न क्षेत्रमा यसको गुणगान सुन्दा आनन्द लाग्छ’ शिक्षक लेवेन्द्र केसीले भने ।
गत शैक्षिक सत्रमा करिब दुई हजार विद्यार्थीहरु भर्ना भएकोमा यस वर्ष पनि करिब १७ सय बढी विद्यार्थीहरुको भर्ना लिएको र अन्य विद्यार्थीहरु पनि आउने क्रम जारी रहेको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले जानकारी दिइन् । कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयमा कक्षा ६ देखि ९ सम्म अत्यधिक विद्यार्थीहरु हुने गरेका छन् ।
विद्यार्थीहरुको संख्या अत्यधिक भएपछि चारवटासम्म सेक्सनहरु चलाएर पढाउनुपर्ने वाध्यता रहेको केसीले बताइन् । हाल नमुना विद्यालयअतर्गत् विभिन्न भौतिक निर्माणका कामहरु सुरु भएका छन् । विद्यालयले दुईवटा बस समेत सञ्चालन गरेको छ । ‘नमुना विद्यालयमा धेरै विद्यार्थीहरुको आकर्षण छ, निजी विद्यालय छोडेर पनि यहाँ आउनेको संख्या त्यत्तिकै छ’ –प्रधानाध्याक केसीले भनिन् ।
नमुना विद्यालयमा आर्थिक अभाव
यसैगरी विद्यालय नमुना भए पनि विद्यालयमा आर्थिक अभाव भने रहेको विद्यालयले जनाएको छ । नमुना विद्यालयका लागि भौतिक निर्माणका लागि रकम आउने गरे पनि अन्य विकासका लागि भने विद्यालयको अन्य आय स्रोत नहुँदा आर्थिक कठिनाइमा गुज्रिएको केसीले बताए ।
कक्षा ६ देखि कम्प्यूटर शिक्षा लागू भए पनि हाल विद्यालयमा कम्प्यूटर १५ वटा मात्र रहेको र वाचनालय, लाइव्रेरीलगायत व्यवस्थान गर्न कठिनाई भएको बताए ।
यसैगरी विद्यालयमा हाल ७० जना पूर्णकालीन र आंशिक शिक्षक भए पनि आर्थिक अभावका कारण निजी स्रोतबाट तलव दिनुपर्ने २५ जना शिक्षक कर्मचारीको तलव तीन महिनादेखि उपलब्ध गराउन नसकेको बताइन् ।
‘विद्यालय नमुना भएको छ, भौतिक विकासमा मात्र पैसा आउँछ, अन्य स्रोत एक रुपैयाँ पनि छैनm कसरी व्यवस्थापन गर्ने समस्या छ’ –उनले भनिन् । हाल विद्यार्थीबाट शुल्क उठाउन रोक लगाएको र शुल्क नउठाए शिक्षक कर्मचारीहरुलाई अन्य स्रोतबाट रकम व्यवस्था गर्न नसक्ने समस्या रहेको छ । ‘एकातिर नमुना विद्यालयको मापदण्ड पु¥याउनुपर्ने वाध्यता छ अर्कोतिर विद्यालयको आय स्रोत नहुँदा समस्या छ’ –प्रधानाध्यापक केसीले भनिन् ।
त्यस्तै दरबन्दी अनुसारका शिक्षकहरु पनि विद्यालयमा छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक धेरै हुनुपर्ने हो । यसैबीच विद्यालयका कोभिड–१९ सँगै विद्यालय ३ सिफ्ट गरेर विद्यालय सञ्चालन गरेको छ । एक सिफ्टमा करिब २ सय विद्यार्थीले कक्षा लिने व्यवस्था थरेको र कक्षा ११, १२ र एजीका कक्षाहरु अनलाइनबाट सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ ।