डा.कृष्णराज डी.सी.
भनिन्छ धर्मो रक्षतिः रक्षितः अर्थात् यदि हामीले धर्मको रक्षा ग¥यौँ भने धर्मले पनि हाम्रो रक्षा गर्दछ । हाम्रो प्रकृतिले भूगोललाई पाश्चात्य सभ्यता र पूर्वीय सभ्यतामा विभाजन गरेझैँ सभ्यता र संस्कृतिले पनि पूर्वीय र पाश्चात्य गरी दुई सभ्यतामा विभाजन गरेको छ ।
संसारको सर्वप्राचीन सभ्यता नै पूर्वीय सभ्यता हो । यो सभ्यतालाई आर्ष सभ्यता भनिन्छ । खास गरी ऋषिमहर्षिहरुले निर्माण गरेको सभ्यता नै आर्ष सभ्यता हो । संसारको आदि ग्रन्थ रामायण र त्यसपछि महाभारतलाई मानिन्छ । जसका रचयिता क्रमशः महर्षि बाल्मिकि र वेद व्यास थिए । उनीहरुले आफ्ना चार वेद र १८ पुराणहरुमा प्रयोग गरेको भाषा नै संस्कृत भाषा हो ।
तसर्थ, यसलाई देव भाषा भन्ने गरिन्छ । आधुनिक भाषाविज्ञानको जन्म हुनुभन्दा पहिले अथवा मानव सभ्यताको आदिकालदेखि नै मानिस चेतनशील भएदेखि संस्कृत भाषा मानव सभ्यतामा आएको हो । हिन्दू धर्म र संस्कृत भाषाबीच अन्योन्याश्रित सम्बन्ध छ ।
पछि नयाँ संसारको खोजी गर्ने क्रममा जब क्रिष्टोफर कोलम्बसले १९औँ शताब्दीमा अमेरिका पत्ता लगाए । तबदेखि संसारमा अंग्रेजी भाषाले आफ्नो प्रभुत्व कायम गर्दै आयो । बेलायती विद्वान् लर्ड म्याकालेले पूर्वी सभ्यता र संस्कृतिले मानव सभ्यतामा निर्माण गरेको नैतिक चरित्रको विकास, अध्यात्मवादी दर्शनको अनुराग, अनुशासनशीलता आदि विभिन्न कारणले अंग्रेजहरु अत्तालिएका थिए । जब लर्ड म्याकाले भारतमा आए त्यहाँ उनले पूर्वीय सभ्यताको केन्द्रविन्दु भारतलाई नै भएको देखे ।
भारतमा संस्कृत वाङमयले पूर्वीय मानव सभ्यताकै नेतृत्व गरेको देखे । यो देखेपछि उनी धेरै हतास भएर आफ्नो देश बेलायतमा एउटा चिठ्ठी पठाए । उनले भने ‘जसरी भए पनि संस्कृत भाषालाई कमजोर बनाउन अंग्रेजी भाषामा पठनपाठन हुने विद्यालयहरुको स्थापना भारतमा गर्नु पर्दछ र भारतको शिक्षामा अंग्रेजी विषयको पाठ्यक्रमलाई विशेष जोड दिनुपर्छ ।’ भन्ने सल्लाह उनले अंग्रेजहरुलाई दिए ।
हामीलाई थाहा छ भारत अंग्रेजहरुको उपनिवेशमा थियो । तसर्थ, उनीले त्यहाँ जुन नियम कानुन बनाउँथे त्यही नियम कानुन नै लागू हुन्थ्यो । उनको सल्लाहलाई आत्मसात गर्दै अंगे्रजहरुले भारतमा संस्कृत विषयलाई कमजोर बनाउनको निमित्त अंग्रेजी स्कूलहरुको स्थापना गरे र त्यहाँको पाठ्यक्रममा अंग्रेजीलाई महत्व दिने नीतिको अवलम्बन गरे ।
त्यसपछि क्रमशः समाजका टाठाबाठा र हुनेखानेवर्गका छोराछोरीको आकर्षण संस्कृत शिक्षातर्फ होइन अंग्रेजी शिक्षातर्फ बढ्न थाल्यो र धमाधम अंग्रेजीमा पठनपाठन हुने बोर्डिङ स्कूलहरु खुले । त्यसपछि क्रमशः पूर्वीय सभ्यता र संस्कृति तथा संस्कृत भाषा कमजोर हुँदै गएको देख्दा अंग्रेज विद्वान् लर्ड क्याकालेले खुशी भएर आफ्ना पिताजीलाई पत्र लेखे । जसमा उनको प्रशन्नताको मूल कारण संस्कृत भाषा र पूर्वीय सभ्यता कमजोर हुँदै जानु थियो भन्ने कुरा प्रशिद्ध भाषा वैज्ञानिक प्रा.डा.माधव पोख्रेलले बताउनुभएको पाइन्छ ।
यस आधारमा भन्नुपर्दा हाम्रो देश नेपालमा पनि जब बोर्डिङ स्कूलहरु स्थापना हुँदै गए र त्यहाँ धनी तथा समाजका हुनेखानेवर्गका छोराछोरीहरु पठनपाठन गर्न थाले र जसको कारणले पूर्वीय सभ्यता क्रमशः दिन प्रतिदिन कमजोर बन्दै गायो मात्र होइन पूर्वीय सभ्यताको मेरुदण्ड मानिने हिन्दू धर्म नै कमजोर बन्न पुग्यो । यसरी भाषा र धर्मबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जसरी अंग्रेजी भाषाले ईसाइ धर्म वा क्रिश्चियन धर्मलाई बलियो बनाउँछ त्यसैगरी संस्कृत भाषाले हिन्दू धर्म र त्यसका अनुयायीहरुलाई समेत बलियो बनाउँछ भन्ने तर्क विद्वान्हरुले राख्दै आएका छन् ।
यस आधारमा भन्नुपर्दा हाम्रो देश नेपालमा जब वि.सं. २०७२ को नयाँ संविधानको निर्माण गरियो तबदेखि संस्कृत भाषा र हिन्दू धर्म दिन प्रतिदिन कमजोर हुँदै जान थाल्यो । यसको खास कारण धर्मनिरपेक्ष शब्दलाई नेपाली समाजले बुझ्न नसक्नु हो । धर्मनिरपेक्ष भनेको धार्मिक सहिष्णुता हो । हाम्रो देश नेपाल वहु जाति, वहुभाषी, वहुलधर्म र वहुल संस्कृति भएको देश हो । यद्यपि, यो देशमा विभिन्न प्रकारको विविधता भए पनि एक धर्मावलम्बीले अर्को धर्मावलम्बीलाई सम्मान् गर्ने परम्परा अनादिकालदेखि नै रही आएको छ । जसलाई धार्मिक सहिष्णुता भनिन्छ ।
विभिन्न मुलुकहरुमा धर्मको नाममा, जातिको नाममा, संस्कृतिको नाममा ठूलाठूला युद्ध भएका इतिहासहरु छन् । तर, हाम्रो देश नेपालमा अनादिकालदेखि त्यस्तो भएको कहिल्यै पाइँदैन । यसको खास कारण संस्कृत भाषा र पूर्वीय सभ्यताले निर्माण गरेको नैतिकता, अनुशासनशीलता र मानवतावादी भावनाको विकास हो । यसको साथै महामानव गौतम बुद्धले दिएको विश्वमानवतावादी दर्शनले पनि नेपाललाई हिंसातर्फ लाग्ने सन्देश दिएको छैन ।
अहिंसा परमो धर्म अर्थात् अहिंसा नै मूल धर्म हो भन्ने मान्यता बौद्धमार्गीहरुले अवलम्बन गर्दै आए । जसको सकारात्मक प्रभाव हिन्दू धर्मावलम्बीहरुमाथि पनि पर्न गयो । यसरी संस्कृत भाषाले हिन्दू धर्मको संरक्षण र विकासमा पु¥याई आएको अमूल्य योगदान आज दिन प्रतिदिन कमजोर हुँदै गएको छ । यसको खास कारण हिन्दू धर्मावलम्बीहरु स्वयम् हुन् भन्ने तर्क पनि विद्वान्हरुले अगाडि सारेको पाइन्छ ।
हिन्दू धर्मावलम्बी गुरु, पुरोहित वा पण्डितहरुले समेत हिन्दू धर्ममा प्रचलित हिन्दू आदर्शता, मर्यादा, नैतिक मूल्य, मान्यता आदिलाई अवलम्बन गरेको पाइँदैन । खास गरी संस्कृत भाषाका विशिष्ट विद्वान् तथा पण्डितहरु भनेका ब्राह्मणहरु नै हुन् । तर, आज तिनीहरुले आफ्ना सन्तानहरुलाई अंग्रेजी भाषाको पठनपाठनतर्फ प्रेरित गरिरहेका छन् र अरुहरुलाई संस्कृत पढ्नुपर्छ भन्ने सल्लाह यदि उनीहरुले दिन्छन् भने उनको सल्लाह कसले मान्ने ? आज अंग्रेजी शिक्षाले जागिर दिन्छ अथवा अर्थ आर्जनमा सहयोग गर्छ भन्ने नाममा सबै हुनेखाने व्यक्तिहरु डाक्टर, इन्जिनियर, पाइलट आफ्ना सन्तानहरुलाई बनाउन उत्सुक रहेको देखिन्छ ।
के संस्कृत शिक्षा आर्जन गरेका विद्वान्वर्गबाट अर्थोपार्जन गर्न सम्भावना छैन ? यो बुझाइ वास्तवमा गलत हो । महापुराण, ठूलाठूला यज्ञ, महायज्ञ सम्पन्न गर्ने पण्डितहरु र कर्मकाण्ड गर्ने गुरु, पुरोहितहरु यदि आफू मर्यादित भएर हिन्दू धर्मको आदर्श र दर्शनलाई आत्मसात गरी आफ्नो पेशा र व्यवसायमा लाग्ने हो भने कुनै डाक्टर इन्जिनियरले आर्जन गर्ने धन पैसाभन्दा उहाँहरुले आर्जन गर्ने धनपैसा कम हुन सक्तैन ।
उदाहरणको लागि पण्डित नारायण पोख्रेल, उहाँका सुपुत्र दिनबन्धु पोख्रेललाई नै लिन सकिन्छ । उहाँहरुले स्वदेश र विदेशमा समेत पुगी आफ्नो यश र अर्थ दुवैलाई एकैसाथ अगाडि बढाउनुभएको देखिन्छ । तर, दुर्भाग्य कर्मकाण्डी गुरु पुरोहितहरुले विभिन्न प्रकारका कर्मकाण्डहरु जस्तै रुद्री, कथा, सप्ताह, देवीभागवत महापुराण, ब्रतबन्ध, विवाह, न्वारन, श्राद्ध आदिजस्ता कर्महरु गर्न यदि उहाँहरु लाज मान्नुहुन्छ भने अनि कसरी संरक्षण हुन सक्छ हिन्दू धर्म र संस्कृतिको भन्ने तर्क राख्दछन् विभिन्न विद्वान्हरुले ।
अब बोर्डिङ स्कूलमा यदि संस्कृत शिक्षालाई अनिवार्य रुपमा पढाउन लगाउने हो भने स्वतः यसको प्रचार–प्रसार हुन्छ । किनभने बोर्डिङ स्कूलहरुमा पढ्ने बालबालिकाहरु धनीवर्गका नै छन् । उनीहरुले गरेको सिको गरिबवर्गले सजिलै गर्न सक्छन् । तसर्थ, बोर्डिङ स्कूलमा संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने हो भने स्वाभाविक रुपमा सरकारी वा सामुदायिक विद्यालयले समेत त्यसको अनुकरण गर्ने छन् अनि त्यसपछि संस्कृत भाषा र हिनदू धर्मको संरक्षण हुन्छ भन्ने तर्क राख्नुहुन्छ भाषाविद् प्रा.डा.माधव पोख्रेल ।
उहाँको भनाइ अनुसार –‘नेपाल सामन्तवादी संस्कृतिमा हुर्केको मुलुक भएको हुँदा गरिबले गरेको काम धनीले सिको गर्दैन तर धनीले गरेको काम गरिबले सिको गर्दछ’ भन्ने छ । डा.पोख्रेल भन्नुहुन्छ – ‘संसारका विभिन्न मुलुकहरुमा धार्मिक नियम कानुन छ तर हाम्रो देशमा भने छैन । धर्मलाई अफिम मान्ने सिद्धान्तको अनुयायी चीनजस्तो देशमा समेत संस्थागत रुपमा स्थानीय धर्मअधिकारी रहने नियम छ भने स्लाम धर्म, इसाई धर्म, बौद्ध धर्मको त झन कुरै छोडौँ । उनीहरुले आ–आफ्ना धर्मगुरुहरुको स्वीकृतिबिना कुनै काम गर्दैनन् ।
तर, हिन्दू धर्ममा त्यस्तो कुनै संस्थागत संगठन देखिँदैन । जसले गर्दा हिन्दू धर्मको संरक्षण कमजोर बन्न पुगेको छ । यदि हिन्दू धर्म र संस्कृतिको संरक्षण गर्ने हो भने संस्थागत रुपमा हिन्दूधर्मावलम्बीहरु संगठित हुनुपर्छ अनि मात्र हिन्दू धर्म, हिन्दू संस्कृति र संस्कृत भाषा र वाङ्मयको एकैसाथ विकास र संरक्षण हुनसक्छ भन्ने तर्क राख्नुहुन्छ भाषा वैज्ञानिक डा.पोख्रेल । संस्कृत भाषा खास गरी आधुनिक आर्य भाषाको जननी हो । तर, यसको उत्थान र संरक्षणमा खास कसैको चासो देखिँदैन । संस्कृतका गुरुहरु निष्क्रिय बन्नु नै संस्कृत भाषा कमजोर हुनु हो भन्ने तर्क विद्वान्हरु अगाडि सार्दछन् ।
खास गरी परम्परागत शैलीमा पढाउने हाम्रो प्रवृत्तिकै कारणले संस्कृत भाषाप्रति मानिसहरुको आकर्षण घट्न गएको देखिन्छ । ई.सा.पूर्व १००० देखि १५२० सम्मको वैदिक सभ्यताको निकै ठूलो इतिहास छ । चारवटा वेदहरुमा आ–आफ्नै प्रकारका मूल्य र मान्यताहरु रहेका देखिन्छन् । ऋगवेद संसारकै सर्वप्राचीन ग्रन्थ हो । त्यसपछिका अन्य वेदहरु (यजुर्वेद, अथर्ववेद र सामवेद) गरी चारवटै वेदहरुमा जम्मा २० हजार मन्त्रहरुको संख्या रहेको पाइन्छ ।
वैदिक ऋचाहरुलाई मन्त्र भन्ने प्रचलन छ । तसर्थ, आज हाम्रो धर्म, संस्कृतिको यदि संरक्षण गर्न सकिएन भने भोलि यो देशको समेत संरक्षण गर्न हाम्रा भावी पुस्ताहरुलाई हम्मे–हम्मे पर्न जाने देखिन्छ । संस्कृत शिक्षालाई पनि खालि नीति उपदेशको शैलीमा भन्दा ज्ञान, विज्ञान र व्यावहारिक रुपमा शिक्षण गर्नु आवश्यक छ ।
दाङको सन्दर्भमा भन्नुपर्दा संस्कृत भाषा वा संस्कृत वाङ्मयको विशेष उत्थान हुनुपर्ने हो । किनभने देशकै ठूलो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुण्डीमा स्थापित छ । तर, दुर्भाग्य बेलझुण्डी विश्वविद्यालय तालझुण्डी विश्वविद्यालय बन्न पुगेको देखिन्छ । यसको खास कारण के हो ? र समाधानको उपाय के हो ? भन्नेतर्फ यहाँका आम जनसमुदाय, नागरिक समाज, शिक्षाविद्, संस्कृतका विद्वान् व्यक्तित्वहरु र कुलपति तथा उपकुलपति दुवैले मन, वचन र कर्मले सोच्नुपर्ने देखिन्छ ।
आज जापान, अमेरिका, जर्मनीमासमेत संस्कृत भाषाको सुन्दर पठनपाठन हुन्छ । विशेष गरी जर्मनेलीहरु संस्कृत शिक्षामा हेलिएका छन् भन्ने तर्क राख्नुहुन्छ डा.माधव पोख्रेल । राणाकालमा नेपालमा गोर्खा भाषा प्रकाशिनी समिति थियो । जसको निर्देशनमा मात्र पुस्तक तथा पत्रपत्रिकाहरु शुद्ध रुपमा छापिन्थे । तर, आज पूर्ण प्रेस स्वतन्त्रताको कारणले होला भाषिक शुद्धतालाई ध्यान दिने काम भएको देखिँदैन । जसले गर्दा संस्कृत भाषा मात्र होइन अन्य भाषाहरु समेत कमजोर बन्न पुगेका छन् ।
गैरसंस्कृतका व्यक्तिहरुले लेख्ने र बोल्ने गरेको संस्कृत भाषालाई शुद्ध बनाउने काम संस्कृतका खास गरी विद्वान्हरुको हो । तर उहाँहरु त्यस दिशातर्फ लागेको देखिँदैन भन्ने तर्क राख्दछन् समालोचकहरु । इण्डो युरोपियन भाषा अन्तर्गत् संस्कृत भाषा पनि पर्दछ । तसर्थ, जसरी युरोपले यहुदी धर्मावलमबीहरुलाई लखेटेर इजरायल बनायो त्यसैगरी संस्कृत भाषा यदि विस्थापित हुने स्थितिमा पुग्यो भने हिन्दू धर्म, संस्कृत भाषा र वाङ्मय तथा पूर्वीय मानव सभ्यता नै भोलि कमजोर मात्र होइन समाप्त हुने स्थितिमा पुग्न सक्छ ।
यो चिन्ता आम जनसमुदाय, राजनीतिक दल र त्यसका नेतृत्वकर्ताहरुले लिनुपर्ने अनिवार्य आवश्यकता जस्तो देखिन्छ । संस्कृतमा अध्ययन अनुसन्धानको लागि प्राच्य वाङ्मय शोधविधि पनि विद्यमान छ । तर, पश्चिमी शोधविधिले संस्कृत भाषाको शोधविधिलाई कमजोर बनाइदिएको छ र त्यसका अध्येताहरु प्राच्य वाङ्मय शोधविधिभन्दा पाश्चात्य शोधविधितर्फ प्रभावित र प्रेरित भएको देखिन्छ ।
निष्कर्षमा भन्नुपर्दा वर्तमान समयमा नेपालले ठूलो जनसंघर्ष गरी प्राप्त गरेको नेपालको संविधान २०७२ ले संसारमै आफ्नो उत्कृष्ट स्थान राखेको छ । तर यसको मर्म र भावनालाई हामीले सतही रुपमा बुझी सदुपयोग गर्न यदि सकेनौँ भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ हुन जाने छ । यसले वहुल धर्म, वहुल भाषा, वहुल संस्कृति, वहुजाति आदिको समान रुपमा सम्मान गर्ने आदर्शलाई आत्मसात गरेको छ ।
धर्म निरपेक्ष भनेको रातारात आफ्नो धर्म त्यागेर अर्को धर्म ग्राहण गर्नु भनेको होइन । बरु आफूले अवलम्बन गरेको धार्मिक आस्था र विश्वासप्रति मन, वचन र कर्मले लाग्नु र हरेक धर्मावलम्बीहरुले परस्परमा एकले अर्कालाई सम्मान गर्नु हो भन्ने बुझ्नु पर्दछ ।
यदि यसो हुन सक्यो भने हाम्रो संस्कृत भाषा पूर्वीय सभ्यता हिन्दू धर्म र संस्कृतिका साथै अन्य धर्म र संस्कृतिको समेत संरक्षण हुन जाने छ र यसले गर्दा नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको समेत संरक्षण हुन जाने देखिन्छ । हेक्का रहोस् पछिल्लो समयमा संस्कृतका केही विद्वान् पण्डितहरुले संस्कृत भाषा पूर्वीय सभ्यता र संस्कृतिको संरक्षणको लागि प्रयास गर्दै आउनुभएको देखिन्छ । यो प्रशंसनीय कार्य हो ।