कोरोनाले झनै थिचियो पर्यटन

कुरा धेरै भए, काम भएनन्
अमरराज आचार्य
दाङ, १२ असोज । कोरोना भइरसको संक्रमणबीच पनि जिल्लामा विश्व पर्यटन दिवस मनाइएको छ । यस संक्रमणमा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र रहेको अवस्थामा अब पर्यटनलाई कसरी उकास्ने भन्ने सन्दर्भमा पनि बहस थाल्नुपर्ने सुझाव दिइएको छ ।

पछिल्लो समयमा वाह्य पर्यटकको सम्भावना झिनो भएकाले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने पनि सहभागीको सुझाव थियो । पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने त्यस कार्यक्रमका बक्ताहरुले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा जिल्ला समन्वय समिति दाङको आयोजना भएको अन्तत्र्रिmया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले दीर्घकालीन योजना बनाएर सबैकोे सहकार्यमा अगाडि बढेका मात्र पर्यटकीय क्षेत्रहरुको विकास गर्ने सकिने उनीहरुको भनाइ रहेको थियो ।

संस्कृतिविद् डा. शिवकुमार सुवेदीले पर्यटकीय क्षेत्रको विकासका लागि उपलब्धिमूलक कार्य गरेर अगाडि बढ्नुपर्ने बताए । ‘कुरा मात्र गरेर हँुदैन प्रभावकारी कामलाई प्राथमिकता दिएर जानुपर्दछ’, डा. सुवेदीले भने । पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण गरिनुपर्ने उनको भनाइ रहेको छ ।

नेपालमा रहेका सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई विकास गरेर अगाडि बढेमा पर्यटकको आकर्षण बनाउन सकिने सुवेदीले बताए । जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई विकास गरेर अगाडि बढेमा नमूना बनाएर अगाडि बढाउन सकिने सुवेदीले बताए । जिल्लामा पर्यटकीय क्षेत्रका केही काम भएको र केही बाँकी रहेको उनले बताए । ‘बाँकी रहेका कार्यलाई राजनीतिक नेतृत्वले पहल गर्ने आवश्यक छ’, सुवेदीले भने ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले पर्यटकीय क्षेत्रको विकासलाई निन्तर रुपमा अगाडि बढाउनुपर्ने बताए । एकपटक विकास गरे मात्र नहुने भन्दै यस क्षेत्रको विकासमा निरन्तर गरिनुपर्ने उनको भनाइ रहेको छ । स्थानीय उत्पादनलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने नेपालीको भनाइ रहेको छ । जसले गर्दा आयआर्जनमा पनि सहयोग मिल्ने उनले बताए । प्रदेश नं. ५ भ्रमण वर्ष सचिवालय का निवर्तमान सदस्य सुन्दर गौतमले आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘पर्यटनमार्फत देशको आर्थिक विकासमा ठूलो सहयोग मिल्दछ’, गौतमले भने । पर्यटन क्षेत्रलाई पछिल्लो समयमा व्यावसायिकरुपमा अगाडि बढाउन थालिएको बताए । यस प्रकारको कार्यले यसको विकास सहयोग पुग्ने उनको भनाइ रहको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले समेत पर्यटन भ्रमण बर्ष २०२० लाइ स्थगित गरेको थियो ।

डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको विकासमा लाग्नुपर्ने बताए । ‘स–सानाभन्दा पनि निश्चित क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिक रुपमा पर्यटकीय क्षेत्रलाई विकास गरेर अगाडि बढ्न आवश्यक रहेको छ’, प्रमुख सुवेदीले भने । भौतिक रुपमा निर्माण गरिएका भन्दा पनि नेपालमा सांस्कृतिक, प्राकृतिक क्षेत्रको अध्ययन गर्ने पर्यटकहरु आउने गरेको सुवेदीको भनाइ रहेको छ ।

‘प्रकृति र धर्म संस्कृतिसम्बन्धीतर्फ बढी आकर्षण गरेको पाइएको छ’, सुवेदीले भने । जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुका बारेमा प्रचार–प्रसार गरिनुपर्ने बताए । प्रचार–प्रसार हुन नसक्दा जानकारी नभएर पर्यटकीय क्षेत्रहरु पछाडि पर्ने उनले बताए ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले जिल्लामा पर्यटनको विकासका लागि प्याकेज निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्याकेज निर्माण भएमा जिल्लाको कुनै एक स्थानमा आउने पर्यटकलाई अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन सकिने उनको भनाइ रहेको छ । जिल्लामा रहेका सबै निकायहरुले समन्वय गरेर यस क्षेत्रको विकास गर्न लाग्नुपर्ने बताए । सबै स्थानीय तहहरु तथा निकायसँग समन्वय हुन नसक्दा यस क्षेत्रको विकासमा समस्या हुने गरेको चौधरी बताए ।

घोराही उपमहानगरपालिका पर्यटन प्रवद्र्धन शाखाका प्रमुख बालकृष्ण खनालले पर्यटन प्रवद्र्धनका लागि संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारलाई अगाडि बढाउनुपर्ने बताए । पर्यटनलाई आय आर्जनसँग जोडेर अगाडि बढ्नुपर्ने बताए । यसका लागि स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । यसको प्रयासस्वरुप घोराही उपमहानगरपालिकाले ‘एक स्थान एक उत्पादन’ अभियानलाई अगाडि बढाएको बताए ।

धारापानी धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले पुराना पुरातातिक वस्तु तथा सामग्रीहरुको अध्ययन गरिनुपर्ने बताए । जसले गर्दा त्यसको बारेमा सही जानकारी दिन सकिने उनको भनाइ रहेको छ । कार्यक्रममा विषय प्रवेश गराउँदै केबी मसालले पर्यटन क्षेत्रको विकास गर्ने पूर्वाधार विकास गर्ने जरुरी रहेको बताए । पर्यटनलाई आकर्षण गर्ने कुनै पनि नौलो चिज दिन सक्नुपर्ने उनको भनाइ छ ।

मान्छे मात्र आएर नहुने भन्दै खर्च गर्ने बातावरण सिर्जना गर्नुपर्ने उनले बताए । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले गरेका थिए । त्यस अवसरमा कोभिड–१९ को कारण स्थगित भएको जिल्लाको पर्यटन गतिविधिलाई सबै क्षेत्रको समन्वय गरेर प्रभावकारी बनाउने र पालिकाहरुसँग समन्वयमा जिल्ला समन्वय समितिको अगुवाइमा पर्यटकीय क्षेत्रको दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निर्णयसमेत गरिएको छ ।