दाङ, १२ असोज । घोराही उपमहानगरपालिकाले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनमा करिब साढे दुई करोड बजेट खर्च गरेको छ । गत बर्षको चैत महिनादेखि हालसम्म २ करोड ४७ लाख ८९ हजार दुई सय नौ रुपैयाँ खर्च गरेको हो ।
सिसा नेपाल र जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सहकार्यमा कोरोनासम्बन्धी आइतवार घोराही आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनसम्वन्धी गरेको काम र त्यस अवस्थामा भएको खर्चका बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कोरोना नियन्त्रणसँगै संक्रमितहरुबाट अन्य व्यक्ति नसरोस् भनेर उपमहानगरपालिकाले सचेत बनाउने काम गरिरहेको जानकारी गराएका थिए । ‘कोरोना भाइरस समुदायमा नसरोस् भनेर हामी शुरुदेखि नै लागेका थियौ, तर समुदायमा फैलियो’, नगर प्रम्ुख चौधरीले कार्यक्रममा भने– ‘कोरोना लाग्दैमा कोही डराउनुपर्ने अवस्था छैन, अहिलेसम्म लक्षणविनाका संक्रमितहरु मात्र हुनुहुन्छ ।’
कोरोनाबाट दीर्घरोगी, बालबालिका र जेष्ठ नागरिकहरु जोखिममा रहने भएकाले उहाँहरुलाई जोगाउने गरी सचेतनामूलक कार्यक्रम गरिरहेको समेत जानकारी दिएका थिए ।
त्यसैगरी नगर प्रमुख चौधरीले लक्षणसहितका बिरामीहरु देखा परेमा र उनीहरुको उपचारका लागि प्रत्येक पालिकामा ५ बेडका अस्पताल निर्माण गर्ने भनेअुसार घोेराही उपमहानगरपालिका–२ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई कोभिडका बिरामीहरुको उपचार गर्ने अस्तालका रुपमा तयारी अवस्थामा राखेको समेत जानकारी गराएका थिए ।
साथै उनले कोरोनाविरुद्धको अभियानमा विभिन्न क्षेत्रको सहयोगले थप हौसल्ला बढाएको समेत बताएका थिए । कार्यक्रममा संस्थाले गर्ने कामका बारेमा सिसा संस्थाका अध्यक्ष साजिदा सिद्धिकीले जानकारी गराएकी थिइन् । कार्यक्रमअन्तर्गत कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने, सचेतनामूलक पर्चा पम्प्लेट वितरणसँगै रेडियोबाट सचेतनामूलक जानकारी दिने कार्यक्रम रहेको संस्थाकी अध्यक्ष सिद्धिकीले जानकारी गराएकी थिइन् ।
युएसएआईडीको साझेदारीमा संघीयता सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रम दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने सिक्देल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहन सेनलगायतले बोलेका थिए ।
उनीहरुले जिल्लामा कोरोना व्यवस्थापनसम्वन्धी भएका कामहरु सकारात्मक भएको समेत बताएका थिए । कार्यक्रममा संस्थाले गर्दै आएका कार्यहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना भाइरसको महामारीको समयमा संस्थाले गर्न थालेको सचेतनामूलक कार्यक्रमले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनमा सहयोग पु¥याउने भन्दै कार्यक्रमको सफलताको शुभकामना समेत दिएका थिए । त्यसैगरी उनीहरुले नागरिकलाई बुझाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।