अडियौं तर रोकिएनौं….
खेमराज रिजाल
तुलसीपुर, १२ असोज । ‘दातृ निकाय र पछिल्लो समयमा स्थानीय सरकार र प्रदेश सरकारको सहयोग जुट्दै थियो ।
मुख्य स्रोत भनेको बिरामीको उपचार र शल्यक्रिया नै थियो, यसबीचमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हामी केही समय अडियौं, तर रोकिएनौ’, एक्चालिसौं सामाजिक सेवा दिवसका अवसरमा आयोजित कोभिड–१९ को संक्रमण र आँखा स्वास्थ्य कार्यक्रम विषयक अन्तक्र्रियामा राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले भने ।
कोरोनाको महामारीले विश्वलाई थलाइरहेको अवस्थामा आँखा अस्पताल पनि प्रभावित बन्यो । चैत महिनासम्मको रफ्तार त सन्तोषजनक नै थियो तर त्यसपछिका तीन महिना अस्पतालको सेवा लक्ष्यअनुरुप अघि बढ्न सकेन । ‘हामीले लक्ष्य लिएको तथ्यांकमा २१ प्रतिशत मात्र सफलता हासिल ग¥यौं, त्यो अवधिमा’, समीक्षा कार्यक्रममा प्रशासक थापाले भने ।
उनको भनाइमा कोरोनाका त्रासबीच धेरै कार्यक्रम त शून्य पनि बने तर जुलाइमा ओपिडी मुस्किलले ३० प्रतिशत पुगेको छ । ‘हामी केही समय ठिङ्ग अडिनुको विकल्प थिएन तर अहिले फेरि उपचार सेवामा दौडिरहेका छौं’, थापाको अभिव्यक्ति थियो ।
अस्पतालले बार्षिक लक्ष्यको २९ प्रतिशत मात्र प्रगति प्राप्त गरेको छ, सायद अबको ५ महिनामा बाँकी लक्ष्य पूरा गर्ने अवस्था रहने छैन । तैपनि अस्पतालले कोरोना संक्रमणकाबीच अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कोरोना भाइरसविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम र अस्पताललाई सहयोग जुटाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय कार्यालयमा भेटघाटका कार्यक्रमलाई भने निरन्तरता दिएको बताएको छ ।
अस्पतालका सिनियर मेडिकल सुपरिटेण्डेन्ट डा. शुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्काले सरकारले कोभिड संक्रमणको समयमा तीनवटै अस्पतालमा हेल्प डेस्क स्थापना गरिएको, टास्क फोर्स निर्माण भएको, म्यानुअल निर्माण भएको तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसको संक्रमणबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए ।
‘हामीले जोखिममा परेका मवदुरहरुलाई सहयोगस्वरुप चार वटा नगरपालिकालाई ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग पनि गरेका थियौं, किनकि हामी सामाजिक उत्तरदायित्व बहनमा पनि जिम्मेवार बन्न खोजेका थियौं’, प्रमुख अतिथि खड्काले भने । आफूहरु सधैभरी दातृ निकायको सहयोगमा चल्न नखोजेको भन्दै अस्पतालको अपनत्व अब स्थानीय सरकारले लिनुपर्ने पनि उनको सुझाव थियो ।
‘हामी नाफामुखी निजी अस्पतालजस्तै भैदिएको भए आज सबैभन्दा बढी सुविधा सम्पन्न अस्पताल पनि बन्न सक्थ्यौं तर त्यसो नगरेर हामीले सामाजिक सेवा भावलाई आत्मसात गर्न खोजिरहेका छौं’, राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासकीय प्रमुख किरण पौडेलले सोही कार्यक्रममा स्मरण गरे ।
अस्पतालले पुरन्धाराको बिरामीलाई त्यही गाडी पठाई अस्पताल ल्याई निःशुल्क शल्यक्र्रिया गरी फेरि घरसम्मै पुराएको अवस्था पनि उनले औल्याए, तर सरकारले सबै गैरसरकारी संस्थालाई एउटै क्याटेगोरीमा राखेकोमा खिन्नता व्यक्त गरे ।सामाजिक सेवा दिवसकै अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले सरकारले गैरसरकारी संस्थाहरुलाई आफ्नो बैसाखी मात्र बनाएको उल्लेख गर्दै साँच्चै सामाजिक अभियानमा लागेका संस्थालाई हृदय खोलेर सम्मान गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथि शुलक्ष्मी कटुवालले आँखा स्वास्थ्य कार्यक्रमलाई सरकारले अपनत्व ग्रहण गरेको अवस्थामा सधैभरी दातृ निकायमा निर्भर हुनुपर्ने अवस्थाबाट मुक्त हुने बताइन् । यसमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिकाको पनि उनले अपेक्षा गरिन् । आफूहरुलाई सरकारले ग्रेडिङ गरिदिनुपर्ने पनि उनको सुझाव थियो । आँखा स्वास्थ्यको समस्या महिलाहरुमा बढी हुने देखिएकाले महिलालाई विशेष सावधानी अपनाउन पनि उनको सुझाव थियो ।
सामाजिक सेवा दिवसको अवसर पारेर नेपाल नेत्रज्योति संघ दाङले रक्षाचौरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव शर्मिला डिसी, बाल अधिकारकर्मी निर्मल नेपाली, पत्रकार बसन्त आचार्य, नेत्रज्योति संघका प्रशासनिक प्रमुख चिरञ्जीवी रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ दाङद्वारा सञ्चालित राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । यसैबीच पत्रकारहरुको टोलीले तुलसीपुर उपमहानगरपालिकाको ५० लाख अनुदानलगायत अन्य निकायको सहयोगमा नवनिर्मित सुविधासम्पन्न ओपिडी भवनको पनि अनुगमन गरेको थियो । करिब–करिब निर्माण सम्पन्न भइसकेको ओपिडी भवन सम्भवतः केही महिनाभित्रै सञ्चालन हुने अस्पतालले जनाएको छ ।