Goraksha

National Daily

ईन्दिरा र रबिनको ‘मोयाँ’

दाङ, २४ पुस । केहि समययता गायन यात्रामा निरन्तर ईन्दिरा गैरे पछिल्लो समय आँफूलाई सक्षम गायिकाको रुपमा दर्ज गराउन सफल छिन् । निरन्तर एक पछि अर्को गीतमा आवाज पस्कँदै आएकी ईन्दिराको पछिल्लो गीतले उनको गायकीलाई झनै उँचो बनेको गतिलो प्रमाण पेश गरिदिएको छ ।

मोया’ नामक लोकदोहोरी गीत मार्फत हालै फेरी सांगितिक क्षेत्रमा सार्वजनिक भएकी ईन्दिराको यो गीतको गायकीले स्रोताहरुको मायाँ थप बटुलेको छ । मोया को अर्थ मायाँ हो । मायाँलाई मोयाँ भनेर बोलिने पुरानो मौलिक शैलीलाई टिपेर बनाईएको यो गीतका हरेक शब्दहरु यस्तै पुराना मौलिक शब्दका टुक्काले सजिएका छन् । स्टेज कभर गर्न सुहाउने यो गीतले ईन्दिरालाई सांगितिक क्षेत्रमा स्टार बन्ने बाल्य चाहना केहि हद सम्म पुरा हुने आशा पलाएको छ । ‘मैले यो गीतमा धेरै मेहनत गरेकी छु,’ उनले भनिन् ‘यो गीत मैले धेरै आशा गरेको गीत पनि हो, र अहिले मलाई दर्शक स्रोताहरुले देखाउनु भएको मायाँले मलाई यो क्षेत्रमा थप उत्साहित पनि बनाएको छ ।’ यसअघि ईन्दिराको आवाजमा दर्जनौँ गीतहरु सार्वजनिक भैसकेका छन् ।

ईन्दिरासंगै यो गीतमा रविन लामिछाने गुञ्जिएका छन् । गीत लेखन शरद पाण्डेको हो भने लय अर्जुन सापकोटाले तयार पारेका हुन् । युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा चर्चित टेलिसिरियल ‘सक्किगोनी’ की कलाकार तथा मोडल रक्षा श्रेष्ठको सुन्दर नृत्य कैद गरिएको छ । गीतको भिडियोमा रक्षाका जोडीका रुपमा अर्जुन गौतम देखिएका छन् । दुबै कलाकारको उत्कृष्ट नृत्यले भिडियोलाई थप उत्कृष्ट बनाईदिएको छ । भिडियोको निर्देशन काजीश श्रेष्ठले गरेका हुन् ।