मेरो खुशीः स्वर्ण जित्दा…

  •   
  •  

उच्च शिक्षा अध्ययनका लागि रोल्पाबाट भर्खर दाङ झरेको थिएँ । घोराहीमा रहेको महेन्द्र वहुमुखी क्याम्पसमा आइएमा भर्ना भएको थिएँ । कलेज आउने जाने समय चलिरहेको थियो । कलेजको खाली समयमा विद्यार्थीहरु मिलेर भलिबल खेल्ने गथ्र्याैं । भलिबल खेल्ने प्रायः रोल्पा, सल्यान, प्यूठानतिरका विद्यार्थीहरु थियौँ । नत्र पढाई नै हुन्थ्यो हाम्रो प्राथमिकतामा । घोराहीको पुरानो आर्मी व्यारेक नयाँ बजारमा हाम्रो घर थियो । त्यहीँ बसेर म अध्ययन गर्दै थिएँ ।

२०६५ सालतिर हाम्रै टोलमा युवाहरु मिलेर बक्सिङ सिक्दै गरेको थाहा पाएँ । सानोमा लाहुरे बन्ने चाहनाले गर्दा होला मलाई सानैदेखि बक्सिङ सिक्ने चाहना थियो । आफ्नै टोलमा खेल हुन्छ भन्ने सुनेपछि त्यही चाहनाका कारण म सिक्ने ठाउँसम्म पुगेँ । त्यहाँ समिर सिद्दिकी गुरुले खेल सिकाउनुहुँदोरहेछ । गुरुलाई भेटेपछि मैले पनि खेल्न सुरु गरेँ । गेम खेल्न सुरु गरेको लामो समय भएको थिएन । त्यही वर्ष नै चितवनमा राष्ट्रिय टिम छनोटका लागि पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन थालेको थियो । खेलप्रति रहर जाग्दै थियो । मैले खेल सिक्दै गरेको दाङ बक्सिङ क्लवबाट साथीहरु सहभागी हुँदै थिए ।

म भने प्रतियोगितामा खेल्न नपाए पनि हेर्नका लागि आतुर थिएँ । साथीहरु खेल्न जाँदा मलगायतका साथीहरु प्रतियोगितामा खेल हेर्नकै लागि दाङबाट चितवन गएका थियौँ, रहरैरहरमा । त्यो प्रतियोगितामा सल्यानबाट खेल्ने खेलाडी नभएरै हुनुपर्छ समिर गुरुले मलाई सल्यानबाट खेल्न आग्रह गर्नुभयो । भर्खर खेल सिक्दै गरेको ममा जोश थियो, हुन्छ भनिदिएँ । सल्यान जिल्लाबाट उक्त प्रतियोगितामा पहिलो पटक सहभागी हुने मौका पाएँ । ‘पहिलो पटक खेलमा सहभागी हुँदाको छुट्टै खुशी थियो, त्यसैमा डर, चिन्ता पनि थियो, खेलमा नराम्रोसँग हारिन्छ कि भन्ने’– उनी सम्झन्छन्–‘तर खेलको नतिजा नसोचेको भयो, सायद गुरु, साथीहरुको हौसलाले नै होला, मैले पहिलो पटक खेलेकै खेलमा स्वर्ण जित्ने मौका पाएँ, त्यो क्षण मेरो जीवनको बिर्सनै नसकिने खुशीको क्षण हो ।’ त्यही खेलबाटै भूपेन्द्र थापा पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भए । त्यो समय गुरु, साथीहरुसँग खुब रमाइलो गरेको थिएँ ।

करिब ११ वर्ष बक्सिङ खेलेका थापाले दुई दर्जन बढी स्वर्ण र ३–४ पटक रजत पदक जितेका छन् । ती स्वर्ण जित्दाका क्षणहरु खेलाडीका लागि स्वर्णिम हुनु स्वाभाविकै हो । तर अन्य स्वर्ण जित्दाको खुशी भन्दा उनलाई भर्खरै सकिएको १३औँ साग प्रतियोगितामा स्वर्ण जित्दाको खुशीको क्षण बेग्लै छ । जुन स्वर्णले उनलाई खुशी मात्र दिलाएन, देशदेखि विदेशमा परिचित गराइदिएको छ । काठमाडौँमा भएको ७ राष्ट्र सहभागी भएको प्रतियोगिताको फाइनल खेलमा विश्व बक्सिङ प्रतियोगितामा काँश्य पदक विजेता भारतका खेलाडी मनिस कौसिकलाई हराएर स्वर्ण जित्दाको त्यो क्षण जीवनमा कहिल्यै नबिर्सने खुशीको पल भएको उनी बताउँछन् । ‘एउटा खेलाडीलाई गेम खेलिसकेपछि जित्दाको बेग्लै आनन्द हुन्छ, त्यसमा पनि आफूभन्दा धेरै हाइट बनाएका खेलाडीलाई जित्दाको आनन्द बेग्लै हुन्छ’–उनले भने–‘त्यही सफलता मैले भर्खरै काठमाडौंमा सम्पन्न भएको १३औं सागमा प्राप्त गरेँ ।’ कौसिक विश्व बक्सिङ प्रतियोगितामा काँश्य पदक विजेतासँगै बमन वेल्थ प्रतियोगिताका रजत पदक विजेता थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता र खेलमा धेरै अुनभव बटुलेका उनलाई हराएर स्वर्ण जित्नु मेरा लागि निकै चुनौती थियो । आपूmले सोच्दै नसोचेको सफलता आफ्नै भूमिमा प्राप्त गर्दा त्यो क्षण निकै खुशीको क्षण थियो, मेरा लागि । थापाको अर्काे खुशी २०६७ सालमा पहिलो पटक राष्ट्रिय प्रतियोगितामा साफ खेलमा सिल्भर मेडलिष्ट विजेतालाई हराएर स्वर्ण जित्दाको क्षण हो । प्रतियोगिता काठमाडौंमा भएको थियो । दाङ बक्सिङ क्लवमा सहभागी भएका थापाले सशस्त्र प्रहरीको विभागीय क्लव (एपिएफ)का ११औँ दक्षिण एसियाली प्रतियोगिताका रजतधारी खेलाडी अजित गुरुङलाई फाइनलमा हराएर स्वर्ण जित्दाको पललाई समेत खुशीको क्षणका रुपमा लिने गर्छन् ।

बक्सिङ खेलभन्दा पहिले थापा भलिबल खेल्ने गर्थे । रुचि बक्सिङमै भए पनि गाउँका विद्यालयमा भलिबल खेल खेल्ने गरिन्थ्यो । त्यो समयमा उनी भलिबल खेल्ने गर्थे । भलिबल खेल्दाको क्षणलाई पनि थापा खुशीको क्षणक रुपमा लिने गर्छन् । २०६३ सालमा रोल्पाको जनता माध्यमिक विद्यालय नुवागाउँमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा हामीले भलिबलमा भाग लिएका थियौँ । उक्त प्रतियोगितामा रोल्पाका १७–१८ वटा विद्यालयका टिमको सहभागिता थियो । त्यति धेरै विद्यालयहरुको सहभागितामा भएको प्रतियोगितामा हाम्रो विद्यालयको टिम विजेता बनेर सिल्ड जित्दाको खुशी पनि जीवनको अर्काे खुशीको क्षण भएको थापा बताउँछन् । त्यो प्रतियोगितामा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट प्रमाणपत्रहरु प्राप्त गरेका थिए ।

२०७० सालदेखि नेपाल प्रहरीको विभागीय टिमबाट बक्सिङ खेलहरु खेलिरहेका थापा २०४६ साल मंसिर १२ गते रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका–३ युनिकोटमा बुबा ओमप्रकाशथापा र आमा खटकुमार थापाको कोखबाट साहिँलो सन्तानका रुपमा जन्मिएका थिए । रोल्पाको बाल शिक्षा माध्यमिक विद्यालय बाघमराबाट औपचारिक शिक्षा सुरु गरेका थापाले रोल्पाकै जनता माध्यमिक विद्यालय इरिवाङबाट २०६३ सालमा एसएलसी पास गरेका थिए । काठमाडौंमा रहेको आरआर क्याम्पसमा अध्ययनरत थापा नेपाल प्रहरीको विभागीय टिममा खेल खेलरहेका छन् ।