लघुकथा : महङ्गी

सरद बिष्ट
‘आयो ! आयो ! लौ ! आयो ।’
एकाविहानैै झिसमिसे उज्यालोमा एक युवक करायो ।

म केही कुरा बुझ्न सकिनँ । झ्याल खोलेर सुस्त चियो गरेर बाहिर हेर्दा कुहिरोले घामलाई ढपक्क ढाकेको थियो । जाडोले हात र गोडा कापिरहेका थिए । अलि पर फेरि उही युवकको आवाज सुनियो ।

हातमा थुप्रै पेपरहरु च्यापेर म भएको ठाउँतिर आउँदै थियो । म छक्क परेर सोचे, ‘के हो ? उसले समातेको ।’ मलाई केही पनि थाहा भएन । सहरको लागि म विल्कुल नयाँ मान्छे त्यसैले मलाई घुलमिल हुन ज्यादै गाह्रो भएको थियो ।

म बसेको घरको सामुन्ने उक्त युवक आएपछि उसलाई सानो आवाजमा के आयो भाई भनेर सोधे– ‘आजको कान्तिपुर पत्रिका आयो ।’ भन्दै उसले जानकारी गरायो । पत्रिकाको मूल्य रू. १० मात्र भएकोले उक्त पत्रिका किनेर सर्र–सर्र हेरे । पत्रिकाको पहिलो पृष्ठमा लेखिएको थियो– ‘प्याजको भाउ किलोको ३०० रुपैयाँ’ भन्ने समचारले पत्रिकामा कभर स्टोरी छापिएको थियो ।

मेरो नजिकै भएका व्यक्तिहरु कानेखुशी गर्दै थिए । म आश्चर्यमा परेँ । उनीहरुको गन्थनमा महँगीका कुरा थिए । सुनको भाउ अनमोल छ । लसुनको भाउ पनि महँगो छ । गाडीभाडा बढेको छ । हरेक खाद्यवस्तुको मूल्य दर बढेको छ । मेरो नजिक रहेका ती मान्छेहरुले सरकारलाई गाली गरिरहेका थिए ।

साँझ झमक्कै पर्दै थियो । म अफिसबाट फर्कंदै थिएँ । कोठामा ग्यास पनि आजैबाट सक्किएको थियो । ग्यास खोज्न एउटा पसलमा पुगे । त्यहाँ लेखिएको थियो– ‘यहाँ खाना पकाउने ग्यास सक्किएको छ ।’ कतै अभाव कतै फेरि महँगीले गर्दा बजारमा सबैथोक किन्न धौ–धौ भएको थियो ।

स्वर्गद्वारी न.पा.–३, प्यूठान