यम रेग्मी
तल्लो जीवन उपन्यास अंश
ट्याई ! ट्याइ !! ट्याई !!! कोलेको आवाज आयो माथि वनबाट ।
आवाजले रक्षा झस्किई । जब आवाज सँगसँगै एक हुल बाख्रा पनि देखापरे । मन ढुक्क भयो उसको ।
बाख्रासँगै एउटा केटो देखाप¥यो । केटो बाह्र–तेह्र वर्षको हुँदो हो । अर्की बूढी देखापरिन् । साठी काटेकीजस्ती थिइन्, उनी । रक्षा बाख्राको हुल हेर्दै रमाइरहेकी थिई ।
बूढीका आँखा रक्षामाथि परे । उनी भूत देखेर तर्सिएझैँ तर्सिइन् । टक्क अडिए, उनका गोडा । हातमा एउटा घाँसको मुटो थियो । भूइँमा प्यात्त खस्यो, हातबाट । एकटकले नियाली रक्षाको अनुहार धेरैबेर, अनौठो पाराले ।
केही बेर घोरिएर कपाल कन्याइन र बोलिन् ‘नानी तिमी पण्डित बाजेकी छोरी हौ नि, होइन र ?’
‘हजुर, हो । कसरी चिन्नुभयो ?’ रक्षा जिज्ञासु मनले बोली ।
‘तिम्रो खुकुरीको धारजस्तो नाकको डाँडीले । ठ्याक्कै मिल्छ, पण्डितबाजेसँग ।’ उनी
मुसुक्क हाँसिन् । अगाडिका नीला गिँता देखिए ।
– ‘हो र ?’ रक्षा लजालु मुस्कान हाँसी ।
– किन आको त यो डरामर्र्नु ठाउँमा ?
– माटो लिन ।
– बूढी तलतिर झरिरहेका बाख्रालाई हेर्दै बोलिन्–‘ए च्यान्टे ! बाख्रा घरतिर धपाएर बान्न भनेस् है जानलाई ? सुनिस् ?’ वन थर्किने गरी बोलिन् ।
– ‘हो, हो, बोइ ! सुने’ तलबाट टाठो आवाज आयो ।
– ‘नानी तिमीलाई ह्याँ एक्लै आउन डर लागेन ?’
– ‘अँह !’ रक्षा टाउको हल्लाई ।
– ‘यो वरपिपल आस्न त दिउँसै डराउन दिन्छ भन्छन् नानी । म त मरेकी पण्डितकी छोरी भूत बनेर आई कि भनेर कस्तो झस्केँ । तिमीलाई चिनेपछि बल्ल मन ढुक्क भयो ।’ उनी लामो सास फेरिन् ।
– ‘को पण्डितकी छोरी ? किन मरी ? कसले मा¥यो ? कसले रोप्यो यो डाँडामा वरपिपल ?’ बन्द गोपीका पात खप्टिएझैँ प्रश्नमाथि प्रश्न खप्टाई रक्षाले ।
बूढी फेरि लामो सास फेरिन र सुस्तरी बोलिन्– ‘कथा लामो छ नानी, वरपिपलको ।’ वरपिपलतिर पुलुक्क हेरिन शिरदेखि पाउसम्म । हात जोडेर वरपिपललाई नमन गरिन् । आँखा रसाए उनका । बोलिन्–‘तिमरूको आत्मले शान्ति पाओस्m तिमरूको पे्रम अमर हओस् ।’
बूढीको कुराले रक्षाको अनुहारमा छपक्क बादलले छोप्यो । पिरो भयो मुटु । रञ्चे देखियो अधर । गोपालतिर पुलुक्क हेरी । पारिडाँडामा आफूलाई पर्खिरहेको देखी । फरक्क फकिई बूढीतिर । झट्ट बोली, ‘कसको प्रेम बोई, भन्नुहोस् ?’ गहिरो ओढारबाट आएझैँ रुञ्चे आवाज आयो रक्षाको मुखबाट ।
‘आजभन्दा साठी वर्ष पैलेको घट्ना हो । म सानै थिएँ । घट्ना त म पनि देख्न पाइन । घरमा बा र आमा हुँदासम्म घरमा कुरा गर्थे छटपटिरहन्थे ।’ बुढी बोल्दाबोल्दै झावुक बनी । आवाज मधुरो भएर आयो ।
‘के कुरा गर्थे बोई ?’ रक्षा हतारमा बोली ।
‘गर्थे नानी दुःखका कुरा । परापूर्वकालदेखि चलिआएको उही पे्रम र जातको कुरा । यो जात र प्रेमले धेरै छोराछोरीको प्राण खायो । धेरै बाबुआमालाई सहराविहीन बनायो ।
यो पे्रम पनि जाँ–जाँ अप्ठारो छ त्यैँ–त्यैँ खोज्दै हिड्ने रैछ ।’ आरानको गोलझैँ राता भए बूढीका आँखा । प्रेम र जातप्रति आक्रोश स्पष्ट देखिन्यो । उनी रिसले थरथर काप्न लागिन् ।
रक्षा केही बोलिन । हेरिरही, बूढीका व्यवहार ।
बुढी झनै विगतको स्मृतिमा हराइन् । जसरी आगो भएकी थिइन् त्यसरी नै पानी भइन् । मुसुक्क हाँसिन् र बोलिन्, ‘डरायौ क्या हो, मलाई देखेर पण्डिनी नानी !’
‘नाइ !’ रक्षा डराएको कालो अनुहार लाएर बोली ।बूढी कथा भन्न लागिन्–‘ल सुन कथा ! म भन्छु । सुनपुर गाउँमा नाम चलेका साइँला पण्डित थिए । गाउँभरिका धनी । न्याय निसाफ सबै उनकै घरामा चल्थ्यो । ठूलो खेतीपाती, घरभरि काम गर्ने नोक्कर र नोक्रनी । सधैँ दशैँ आएझैँ रमाइलो हुन्थ्यो घरामा ।
दुईटी स्वास्नी थिए, बाजेका । जेठीबाट ६ भाइ छोरा थिए । कान्छीबाट पाँच भाइ । जम्मा ११ भाइ छोरा थिए, बाजेका ।
ग्यार भाइका एउटी बहिनी थिइन उषा । सबैभन्दा कान्छी । ती पनि कान्छी स्वास्नीबाट जन्मिेकी थिइन् । जेठीबाट छोरा त भए तर छोरी भएनन् । जेठीबाट छोरी नभएपछि कान्छी ब्या गरे पण्डित बाजेले, गाउँलेहरू सबै त्यसै भन्थे ।
कमैया बस्नेमा गोलेकामीको छोरो हरे पनि थियो । गोरे र उषाको बीचमा माया बसेछ । गहिरो माया । अचक्कको कामी र बाहुनबीचको माया ।’ बूढी रक्षातिर पुलुक्क हेरिन् । कम्मरबाट एउटा बिँडीको खिल्ली निकालिन् । सलाई कोरिन् र बिँडी सल्काइन् ।
स्वाट्ट एक सर्को बिँडी तानिन् । दुई नाकको प्वालबाट इट्टाभट्टाको चिम्नीकोझैँ धुवाँ फालिन् । अर्को पल्ट बिँडीलाई स्वाट्ट तानिन्– ‘माया गरिन्छ कि आफै हुन्छ कुन्नि ? मत केही जान्दैन नानी । गरिन्छ भनौ भने हरेले त उषालाई राम्री देखेर माया ग¥यो, उषाले हरेलाई के देखेर माया गरिन् कुन्नि ?’
हातको बिँडीको ठुटो भूइँमा दलिन् र ठुटोको आगो मारिन् । एक पटक लामो काँसो कासिन् । भूइँमा प्याच्च थुकिन र बोलिन्–‘मायाको हल्ला र गोइठाको आगो उस्तै हुँदारहेछन् नानी । हेर्दा नदेखिने तर सबै माझ पुग्ने । सारा गाउँभरि फैलिएछ हरेको र
उषाको प्रेम ।’
बोल्दाबोल्दै फेरि रोकिइन् ।
‘अनि के भयो बोई ?’ रक्षा उत्सकता जनाई ।
‘के भनु र नानी ! मान्छे–मान्छे मात्र कहाँ हो र, राक्षस पनि हो बा । मान्छेको जातै द्विरुपको । एउटा बोल्छ, अर्को गर्छ ।
दिनभरि तोरी छरेको थियो र पण्डितको घरामा । सधैँ त्यहीँ सुत्थ्यो रे । त्यस रात पनि त्यहीँ सुतेछ । दिनभरिको थकाई मस्तसँग सुतेको रहेछ । पण्डितले गुण्डा लगाएर हात खुट्टा बाँधेछन् । रातारात यहीँ ल्याएछन्, खाल्टो खनेछन् सबै मिलेर । पापीहरूले जातीयताको नाममा जिउँदै पुरिदिएछन् खाल्टामा ।’
रक्षा मलिन मुखले बूढीको अनुहार हेरी । अनौठो लाग्यो उसलाई बूढीआमाको कथा । यति गहिरो कथा होला भनेर उसले कल्पनासम्म गरेकी थिइने ।
‘अनि के गरिन त बोई उषा दिदीले ?’ रक्षा सानो स्वरमा ठूलो जिज्ञाशा राखी ।
‘के गरुन्, ती विचारी ! नानीले । साचो माया गर्नेहरु दुःख मात्रै त पाउँदा रहेछन् । हरेलाई जिउँदै गाडेपछि उषालाई घरबाट भगाए ।
मामाघर बर्दिया पु¥याए, घरका परिवारले । हामी महिलाहरुको के नै लाग्छ र ? पुरुषहरुले जे भन्यो, त्यही मान्नुपर्ने । जता पठायो उतै जानुपर्ने । उतै उसको जवर्जस्ती ब्या गरिदिएछन् ।’ उनी बोल्दाबोल्दै रोकिइन् ।
‘उनी विवाह गरिदिएको घरमा सुखी भइन त ?’ रक्षा बोली ।
‘काँ हुनु नानी ! केही वर्ष त पण्डित बगालले माइतै ल्याएनन् रे । चाडपर्वहरूमा बरु यतैबाट उतै गए रे । वर्षौंपछि जब माइत आइन्, उनले यथार्थ थाहा पाइन् । राती भागेर एक्लै यहीँ आइन् ।
जुन हातले खोतलेर हेरिन् । नभन्दै मान्छेको हाडहरू भेटाइन् । त्यसपछि उनले पनि त्यही लाश काखमा च्यँपेर प्राण त्याग गरिन् ।
घरका परिवार, माइतका परिवारले सारा खोजेछन् तर कहीँ भेटाएनन् ? अन्त्यमा यहाँ आए । उषाको लाश भेटाए । त्यो पनि गलेको अवस्थामा । हाडहरु खेरेर दाहासंस्कार गरेछन् ।
‘अनि वर र पिपल कसले रोप्यो त बोई ? कि हजुरले रोप्नु भा हो ?’ रक्षा रुन्चे अनुहार लाएर बोली ।
बूढी हल्का थोँते हाँसो हाँसिन् र बोलिन्– ‘काँ म रोपूलाँ बरै !’ औँलाले देखाउँदै– ‘हेर यही वरको बोटमै हो रे हरेलाई गाडेको ठाउँ’ फेरि पिपलतिर देखाउँदै, यही पिपल उम्र्रेको ठाउँ हो उषाले प्राण त्यागेको ठाउँ ।’
‘कसरी उम्रिए त बोई यी वरपिपल ?’ रक्षा वरपिपललाई नियाmलेर मायालु स्वरले बोली ।
‘त्यो त म पनि भन्न सक्दैन नानी । उषाले आत्महत्या गर्दाखेरि त म पनि ठूली भइसकेकी थिएँ । सबै थाहा पाउँछु । उषाका लाश हेर्न म पनि आएको थिएँ । कुनै पनि महिलालाई लाशको सामु जान दिएनन् ।
सबै पुरुषहरुले नै गरे । उषाको दाहसंस्कारपछि कोही पनि आउन सक्ने भएनन्, यहाँ । दिउँसो डराउन दिन्छ भन्थे, मानिसहरू । वर्षौंसम्म कोही देखापरेन् यहाँ ।
धेरै वर्षपछि केही मानिसहरू अलिअलि यो बाटो हिड्न थाले । उनीहरु हरेको चिहान सुन्दर वरको रूख देखे । उषाको चिहानमा सुन्दर पिपलको बोट देखे । आजभोलिका केटाकेटीहरुलाई यो कुरा थाहा छैन ।
बूढाबूढीहरु आज पनि यो वरलाई हरे कामीको प्रतीक र यो पिपललाई उषाको प्रतीकको रुपमा लिने गर्छन् । तीस वर्ष अगाडि जस्तो रूपमा देखेका थिएँ यी वरपिपललाई आज पनि उस्तै छन् ।’ बूढी पीडाको भारी बिसाए जसरी हलुङ्गो भइन् ।
रक्षाका आँखा रसाए, वियोगान्त कथाले । बूढी मनको भारी बिसाएर हलुङ्गो भइन् । रक्षा पीडाको भारी बोकेर गरुङ्गो भई । रक्षा मनको जिज्ञासा पोख्दै बोली, अरु वरपिपलजस्तै यिनी बूढो नहुने किन होला त बोई ?’
बूढी निर्धक्क भएर बोलिन्–‘मान्छे छुट्टिने बेला आफ्नो प्रेमीलाई जुन रुपमा देख्यो, जिन्दगीभर किन नहोस् । नदेख्दासम्म उस्तै होला जस्तो लाग्छ । मर्ने बेलामा दुवैले एउटै प्रतीज्ञा थियो रे । जुन जुनीका भए पनि पहिलो नजरझैँ हाम्रो माया मीठो रहिरहोस् ।
पहिलो नजर बसेकै उमेरमा एकले अर्कालाई देख्न पाउँ । उनीहरुको प्रेम साचो थियो । भगवान्ले त्यो सुने । उनीहरु मरे वर र पिपल भए आज । वर्ष बित्यो । किशोर र किशोरीजस्तै छन् । नमर्दासम्म त्यस्तै रहिरहने छन् ।’
रक्षा झल्यास आफ्नो प्रेम सम्झिई । चिसो पसिना आयो शरीरबाट ।
क्रमशः …