राधेश्याम उपाध्याय
सावित्री महिमा
एक दिन युधिष्ठिरले मार्कण्डेय मुनिसँग भने पाञ्चालीको दुःख देखेर म साह्रै दुःखी छु । पाण्डवहरुकी पत्नी द्रुपदकी छोरी पाण्डुकी बुहारी भएर पनि हामीसँग यो वनमा धेरै दुःख पाइन् । यस्तो दुःख पाउने यो दुनियामा अरु पनि कोही भए कि भएनन् ।
भएका भए भने त्यो वृत्तान्त सुनाउनुहवस् भनी सोधे र मार्कण्डेय मुनि भन्नुहुन्छ । हे राजन ! एक सुशील राजा अश्वपति थिए । उनका सन्तान थिएनन् । उनले सावित्री जगदम्बिका जननीको आराधना गरे । धरै समय बितेपछि सावित्री जगदम्बिकाको दर्शन पाए । देवीको प्रसाद स्वरुप छोरीको जन्म भयो ।
छोरीको नाम पनि देवीको नामबाटै सावित्री भनी राखे । सावित्री पनि हुर्कदै जवान भइन् । एकदिन जंगलमा डुल्न गएको समयमा सत्यवानसँग भेट भयो र मोहित भइन् । उनले मनमनै पति मान्न लागिन् ।
कुनै दिन नारदमुनि राजा अश्वपतीसँग आए र सावित्रीको विवाहको कुरा उठ्यो । नारदले आाफ्नो योगबलले सावित्रीले राजकुमार सत्यवानलाई मन परेको कुरा थाहा पाए । नारद मुनिले राजकुमार सत्यवान वर्षदिनका उनको आयु सक्किने र मृत्यु हुने कुरा पनि भनिदिए ।
राजा अश्वपतिले सावित्रीलाई मुनिले भनेको सत्य वचन सुनाए र तिम्रो के इच्छा छ, मलाई प्रष्ट नढाँटी भन भनी सोधे । सावित्रीले नारद मुनिका अगाडि नै भनिन् ‘सत्पुत्रहरुमा सम्पत्ति बाँडेर एक पटक मात्र दिइन्छ, त्यसै गरी कन्यादान पनि यस संसारमा एक पटक दिइन्छ, जो नारी पतिब्रता हुन्छन् उनले पनि पति एक पटक मात्र वरण गर्दछन् ।
मैले पनि सत्यब्रतलाई पति मानिसकेँ भन्ने जवाफ दिइन् । दीर्घायु वा वर्ष दिनभित्रै मर्ने कुरा दैवाधिन छ । त्यो हामीले टारेर टर्दैन, त्यसैले मेरो विवाह उनीसँग नै गरिदिनुस् भनिन् । यो उनको दृढविचार सुनेर राजा अश्वपतिले मन दुखाएर भए पनि छोरीको सावित्रीको विवाह सत्यवानसँग गरिदिए ।
सत्यवान राजा द्युमत्सेनका छोरा थिए । द्युमत्सेन अहिले शत्रुहरुले राज्य खोसेकाले जंगलमा गई बसेका थिए । उनी अन्धा पनि थिए । सावित्रीले पनि म राजाकी छोरी राजकुमारी हुँ भन्ने घमण्ड नराखी सासुससुरा तथा पतिको राम्रो सेवा गरेर बस्न लागिन् ।
नारद मुनिको वचन अनुसार जब वर्ष दिन पुग्न चार दिन बाँकी थियो, सावित्री पनि दुखी हुँदै यमराजको कठोर ब्रत गर्न लागिन् । तीन दिनसम्म अन्न जल त्यागेर चौथो दिन ब्राह्मणहरुद्वारा साङ्गेता गरी ब्रत पूर्ण गरिन् । आएका सबै ब्राह्मणहरुलाई खुशी बनाइन् ।
सबै ब्राह्मणहरुले पनि बिदा भई जानलाग्दा ‘शौभाग्यवती भवः’ भन्ने आशीष दिए । सबै ब्राह्मणहरुलाई भोजन गराइन् तर पतिको मृत्युको दिन आजै हो भनी चिन्तित भई आफूले भोजन गरिनन् । यज्ञका लागि समिधा ल्याउँछु भनी सत्यवान बञ्चरो लिई जंगल जान लागे ।
त्यो देखेर सावित्री म पनि सँगै जान्छु भनी जिद्दी गरिन् । तिमी ब्रत बसेकी छौ ब्रतले गर्दा तिम्रो शरीर क्षीण तथा दुर्बल छ तिमी नजाउ भनी निकै सम्झाए तर उनले नमानेर सँगै वन गइन् । नारद मुनिले भनेको कुराले उनलाई सताइरहेको थियो । तै पनि उनले केही थाहा नपाए सरह पतिसँग कुरा गर्दै हाँस्दै साथै वन गइन् ।
सत्यवान् समिधा चिर्दाचिर्दै अकस्मात अप्ठारो महशुस भयो भनी भूइँमा सुते । यो नराम्रो आवस्था देखेर सावित्रीले पनि आफ्नो काखमा पतिको सिरानी बनाई धीरताका साथ बसिन् । त्यसैबेला उनका अगाडि एक कालो भयङ्कर पुरुषको मूर्ति देखिन् र डराएर सोधिन ‘हे बलवान पुरुष ! तिमी को हौ ? मेरा अगाडि किन खडा भयौ ?’ यो सुनेर उभिएको व्यक्तिले भन्दछन् ‘हे सती ! म यम हुँ । जसको आयु सकिन्छ उसलाई लिन म आउँछु ।
अहिले तिम्रा पति यी सत्यवान्को आयु समाप्त भयो र म यिनलाई लिन आएको हुँ ।’ यो सुनेर सावित्री भन्दछिन् ‘हे यमदेव ! मरेका मानिसलाई लिन त देवदूत आउँछन् । अहिले हजुर स्वयम् किन आउनु प¥यो’ भन्दा यम भन्दछन् ‘हे सावित्री ! जो धार्मिक, गुणी र श्रेष्ठ छ उनलाई लिन म स्वयम् आउनु पर्दछ । तिम्रा पति सत्यवान पनि त्यसै श्रेणीमा पर्दछन् ।’ यति भनेर यमदेवले हातमा भएको पासले सत्यवानको प्राण ताने ।
सत्यवान पनि निर्जिव मुर्दा भए । यमले सुक्ष्म शरीरलाई बाँधे र दक्षिण दिशातर्फ जान लागे । त्यो देखेर सावित्रीले पतिको शिर लाई भूइँमा राखिन् र यमका पछाडि लागेर हिंड्न लागिन् । यमदेवले पनि ‘हे सती तिमीले पतिको राम्रो सेवा गरेकी रहिछौ । अब आश्रममा गएर पतिको अन्त्यष्टि गरी यिनै मेरा पुज्य हुन् भनी सासुससुराको राम्रो सेवा गरी बस । अब फर्क, यो शरीरले कोही पनि यमलोक जान सक्दैन’ भने ।
यो सुनेर सावित्रीले भनिन् ‘मैले पति भक्तिको पालन गर्दछु, त्यसैले म कुनै कठिनाइबिना हिड्न सक्छु । सबैले स्वधर्मको पालन गर्नुपर्दछ । हजुरले भनेको सबै ठिकै हो तर म आफ्नो पतिलाई त्याग गर्न सक्दैन, बहुत डर लागिरहेको छ ।’ यो सुनेर यमदेवले भन्दछन् ‘हे देवी ! तिम्रो सुन्दर कुरा सुनेर म खुशी भएँ, पति बाहेकको वर माग भने ।’
सवित्रीले पनि ससुराका दुवै आँखा बन्द छन् । ससुराका दुवै आँखा खुलून भनी वर मागिन् ।’ तिमीले मागे वमोजिम वर दिन्छु तिम्रा ससुराका दुवै आँखा खुल्नेछन् । मरे पछि सबैको गति यही हो । तिमी अहिले थकित छौ, आफ्नो कुटीमा फर्क र आराम गर’ भनी यमराजले वरदान दिए ।
पतिसँग हिंड्दा म थाक्दिन यसमा श्रम पनि लागेको छैन सत्संगले नारीले पतिलाई छोडेर बस्न हुँदैन भन्दछ । त्यसैले मलाई पति छोड्ने कुरा नगर्नुहोस् भन्छिन् । यस्ता कुरा सुनेर यमराजले पति बाहेक दोस्रो वरदान माग म दिन्छु भन्दछन् र सतिले ससुरा राज्य भ्रष्ट भएर जंगलमा दुःख पाइरहेका छन् ससुराको राज्य फिर्ता होस् र सत्धर्मको पालन गरी राज्य भोग गरी बसून’ भनी मागिन् । तथास्तु तिम्रो ससुराको गुमेको राज्य फिर्ता हुनेछ तिमी पनि आफ्नो राज्यमा सासुससुराको सेवा गरी खुशी सथ बस भनी यमराजले भने ।
यो सुनेर सावित्री भन्छिन् ‘हे यमदेव ! म आफ्नो पति त्यागेर कसरी राज्यमा सुखभोग सहित बस्न सक्छु । पति नै मेरो सुखभोगको आधार हो ।’ ‘हे सती तिमी धेरै हठ नगर पति वाहेकको तेस्रो वर माग, म दिन तयार छु तर तिमी शरीर लिएर यमलोक जान सक्दिनौ, फर्क’ भन्दा सावित्री भन्दछिन् ‘हे यमराज ! दिने भए मेरा पिताका छोरा छैनन्, पिताजीलाई सय छोरा दिनुहोस्भन्दा यमदेवले तथास्तु तिमीले मागेका सबै वरदान मैले खुशी साथ दिएँ ।
अब फर्केर जाऊ निकै टाढा आएर व्यर्थमा दुःख पायौ । यो शरीर लिएर मानिस यमलोक जान सक्दैनन् । लोकमा चलिआएको रीति सवैले पालन गर्नु पर्दछ । तिमी किन शाहस गर्दै छौं फर्क’ भने । यो सुनेर सावित्री भन्दछिन् ‘हे यमदेव हजुर नै यमपुरी बस्नुहुन्छ , त्यसैले पनि यमपुरी पवित्र छ । यमपुरीमा पऊनुपर्ने हजुरको दर्शन मैले यहीँ पाएँ ।
हजुर धर्मराज पनि हुनुहुन्छ र सदैव धर्मको पालन पनि गर्नुहुन्छ’ भनी यस्तै अनेक नीतिपूर्वकका कुरा गरिन् । यस्तो नीतिपूर्वकका कुरा सुनेर धर्मराज साह्रै खुशी भई ‘हे सती पतिको देह बाहेक अन्य कुनै कुरा माग्ने अझै इच्छा छ भने चौथो वर माग’ भने र सवित्रीले भनिन् ‘हे देव ! दिने भए मलाई पनि वीर विख्यात धर्मात्मा सय पुत्र हुन्’ भनी मागिन् ।
यमराजले पनि मागेको कुरामा ध्यान नदिई तिम्रो इच्छा पुग्नेछ भने । यो सुनेर दङ्ग हँुदै सावित्रीले भनिन् ‘हे देव ! हजुरजस्तो दानी यो सन्सारमा कोही छैन । सबै श्रेष्ठ पुरुषले जस्तोसुकै संकष्टमा पनि स्वधर्मको पालन गर्नुपर्दछ । धर्म संरक्षण नै आफ्नो कर्तव्य पनि ठान्नु पर्दछ । सम्पत्तिका खातिर लोभ गर्नु पनि हँुदैन । ज्ञानी तथा सज्जनले सदैव अरुको उपकार गर्नु पर्दछ । यस्ता ज्ञानगुनका कुरा सुनेपछि यमराज धेरै खुशी भएर जे इच्छा मनमा छ त्यही पाँचौँ वर माग भनी भने । यो सुनेर सावित्री साह्रै खुशी हुँदै पति पाउँ ।
पति नै भएन भने हजुरको वर अनुसार मेरा सय पुत्र कसरी होलान् ? पति नै नभएर बाँच्नु भन्दा त मर्नु जाति छ । त्यसैले हे ईश्वर मलाई मेरा पति दिई मलाई खुशी पार्नुहोस् भनिन् । यो सुनेर यमराज खुशी भई हे सती तिम्रो भक्तिदेखि म प्रशन्न भएँ तिमीले मागेका जति सबै वरदान दिएँ भनी आशीर्वाद दिए र सत्यवानको शुक्ष्म शरीरको बन्धन मुक्त गराएर यमराज यमपुरी फर्किए ।
यमराजको शरीरमा शुक्ष्म शरीर प्रवेश ग¥यो र सत्यवान निद्राबाट ब्युँझेझैँ गरी उठ्न लागे, त्यो देखेर सावित्रीले झट्ट पतिको शिर अघिजस्तै आफ्नो काखामा राखिन् र मन्द मुस्मानका साथ हाँसिन् । सत्यवान उठे र अबेला भएको महशुस गरी किन समयमा उठाइनौ भनी सोधे । कस्तो नराम्रो सपना देखेछु । एउटा दिव्य स्वरुपका कुनै पुरुष मेरा अगाडि आए र म निकै डराएछु । त्यसपछि केही थाहा पाउन सकिन भने ।
सायद तिमीले समयमा उठाइदिएको भए यस्तो हुँदैनथियो कि भनी सावित्रीसँग कुरा गर्न खोज्दै थिए तर सावित्रीले अहिले अबेला भयो यी सबै कुरा भोलि विहान गरौँला अब विश्राम स्थल जाऔँ भनी पुष्प र समिधा राखी दुवैले हात समातासमात गरी हिँडे । उता राजा द्युमत्सेनका आँखा खुले ।
एकातर्फ अकस्मात् आँखा खुलेकोमा खुशी थिए भने अर्कोतर्फ छोराबुहारी अबेलासम्म पनि घर नफर्केकाले दुःखी हुन थाले । ऋषि आपस्तभ्द, धौम्य, गौतम र श्रीदाल्भ्यसँग सोध्न थाले । ऋषिहरुले पनि आफ्नो योग बलले छोराबुहारी जीवित नै छन् आत्तिनु पर्दैन । केही विशेष कारणले ढिला हुनगयो चिन्ता नमान भनी सबैले आश्वासन दिए । तै पनि राजाले खोज्दै थिए ।
त्यहीबेला सत्यवानका दम्पतिहरु पनि आश्रममा खुशी हुँदै आइपुगे । सबैले ढिला हुनाको कारण सोधे र सावित्रीले पनि खुशी साथ सविस्तार सबै भनिन् । सावित्री तिमी धन्य रहिछौ भनी सवैले प्रशंसा गरे । यो सबै राजाका शत्रुहरुले पनि थाहा पाए र डराएर उनको राज्य छोडी भागे ।
रैतीहरु आई सबै कुरा सविस्तारमा भने र ससम्मान राजालाई फिर्ता लगि राजसिंहासनमा राखे । सावित्रीको लोकमा कीर्ति छायो । यमराजबाट पाएका सबै वरदानहरु पूरा हुनथाले । मार्कण्डेय मुनिले युधिष्ठिरलाई यो आख्यान सनाए र युधिष्ठिरको मन केही शान्त भयो भने मार्कण्डेय मुनि आफ्ना आश्रममा फर्के ।