सिफ्ट मिलाएर खुल्न थाले स्कूल

गोरक्ष समाचारदाता
दाङ, ८ असोज । तुलसीपुरका निजी तथा सामुदायिक विद्यालयहरु सिफ्ट मिलाएर खुल्न थालेका छन् । विद्यालयमा विद्यार्थीहरुको भीडलाई कम गरी सामाजिक दूरी मिलाएर पठनपाठनका लागि कतै दुई सिफ्ट त कतै तीन सिफ्टमा विद्यालय सरुचालन हुनथालेका छन् । ती विद्यालयहरुमा न्यूनतम स्वास्थ्य मापदण्ड कायम भए÷नभएको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले अनुगमन समेत थालिसकेको छ ।

दिउँसो १ बजे लक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीपुरमा विद्यालयको पोशाक लगाएका विद्यार्थीहरु विद्यालय प्रवेश गर्ने तरखरमा थिए । सामान्य समय भएको भए विद्यालयको आधा समय पूरा गरेर उनीहरुले खाजा खाइरहेको हुनेथिए । तर विद्यालय भर्खर प्रवेश गर्दै थिए । विद्यालय प्रवेश गर्दा उनीहरुकाबीचमा सामाजिक दूरी समेत कायम गरिएको थियो । विद्यार्थीहरु न त कसैसँग अंकमाल गर्दै थिए न त मुख जोडेर कुरा नै ।

गेटबाट भित्र पस्नेबित्तिकै प्लास्टिकको ट्याङ्कीमा पानी थियो र सँगै साबुन पनि । विद्यार्थीहरुले पालैपालो लाइन लागेर हात धोए पनि बल्ल गए कक्षाकोठा भित्र । कोभिड–१९ को संक्रमणका कारण लामो समय बन्द रहेका विद्यालयहरु स्वास्थ्य सुरक्षा अपनाएर खोल्नका लागि सरकारले निर्देश गरेपछि विभिन्न सिफ्टमा सञ्चालन हुन थालेका हुन् ।

‘विद्यार्थीहरुलाई सामाजिक दूरी कायम गरेर कक्षामा राख्ने गरेका छौँ, हात धुनका लागि साबुन–पानीको समेत व्यवस्था गरिएको छ’–विद्यालयका प्रधानाध्यापक प्रकाश खड्काले भने । उनले बिहान र दिउँसो गरेर दुई सिफ्टमा विद्यालय सञ्चालन गरिएको पनि जानकारी दिए । बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म गरी कक्षा सञ्चालन गरिएको उनको भनाइ थियो ।

बालचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक देविराम बस्नेतले विद्यार्थीहरुलाई एकै सिफ्टमा सञ्चालन गरेको बताए । उनले तत्काल सुधार गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने जानकारी समेत दिए । ‘विद्यार्थीहरु सबै आउन नथालेको हुनाले ढिला भएको हो, अब मिलाएर गर्छाैं’–बस्नेतको भनाइ छ । विद्यालय सञ्चालन गर्दा आवश्यक पर्ने विभिन्न सामग्रीहरुको वडाले व्यवस्थापन गरेको वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिए ।

बालमितेरी माविका प्रधानाध्यापक ओमप्रकाश वलीले विद्यार्थी संख्या धेरै भएकाले तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले एउटा कक्षालाई तीनवटा सेक्सनमा बाँडेर दैनिक विहान ७ बजेदेखि साँझ ५ बजेसम्म तीन सिफ्टमा विद्यालय सञ्चालन भइरहेको जानकारी दिए । बिहान ६, ७, ८, दिँउसो शिशुदेखि ५ र साँझ ९ र १० को कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक वलीले जानकारी दिए । विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट जोगिने विषयका बारेमा जानकारी समेत निरन्तर दिइरहेको उनले भने ।

उपमहानगरपालिकाको अनुगमन

विद्यालय सञ्चालनको अवस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले अनुगमन समेत गरेको छ । शिक्षा समितिका संयोजक देवराज विकको अगुवाईमा यस्तो अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कक्षा सञ्चालनमा केही समस्या देखिए पनि विद्यालयहरुले नमुनायोग्य तरिकाले सञ्चालन गरिएको संयोजक विश्वकर्माले बताए । ‘कतिपय ठाउँमा निर्देशिकाको पालनामा केही समस्या देखिएको भए पनि राम्रो प्रयास भएको छ, हामीले आवश्यक ठाउँमा सुधारका लागि निर्देशन दिएका छौँ’–उनले भने ।

सिकाइ केन्द्रहरुले अनिवार्य रुपमा निर्देशिकाको पालना गर्नुपर्ने उनको भनाइ छ । ‘केही संस्थागत विद्यालयहरुले पालना नगरेको पनि पाइयो हामीले तत्काल सुधार नगरे बन्द गर्ने चेतावनी समेत दिएका छौँ’–उनले जानकारी दिए । अनुगमनका क्रममा शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारी र विद्यालय निरीक्षक मानबहादुर खड्काको समेत उपस्थिति रहेको थियो ।

महाशाखाका अधिकृत भण्डारीले विद्यार्थीमा हात नियमित धुनुपर्ने, मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने चेतनाको विकास भएको बताए । देशभरका स्थानीय तहहरुलाई अनुगमनको जिम्मेवारी दिने गरी विद्यालय सञ्चालन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाले पनि विद्यालय सञ्चालन निर्देशिका बनाएर विद्यालय सञ्चालनका लागि अनुमति दिएसँगै ग्रामीण भेगका विभिन्न विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

निर्देशिका अनुसार कुनै एउटा कक्षामा बढीमा १५ जना विद्यार्थी राखेर अध्यापन गर्न सकिने छ । तुलसीपुर उपमहानगरपालिकाले सबै विद्यालयहरुमा पुगेर कक्षाकोठाको अवस्था र स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थाका बारेमा अनुगमन गरिरहेको छ ।