स्कूल डायरी : हलुङ्गो झोला, भारी मन …

खेमराज रिजाल
दाङ, ८ असोज । खुम्चिएको स्कूल ड्रेसमा हलुङ्गो झोला बोकेर ७ महिनापछि स्कूल आउँदा सुन्तली फुरुङ्ग छिन् ।

किनकि उसले लकडाउनको ७ महिनापछि साथीसंगिनीहरुलाई भेट्न पाउनेछिन्, त्यसैमाथि तीन किलोमिटरको यात्रामा हलुङ्गो झोला बोक्ने अभिभावकको सुझावले उनी फुरुङ्ग पनि छिन् । तर फुरुङ्ग सुन्तलीका ड्रेस ७ महिनासम्म वेवारिसे हुँदा खुम्चिएका पनि थिए । किनकि केही दिन पुरै समय र पुरै विषय पढाइ नहुने स्कूलले जानकारी गराएको छ रे, सुन्तलीका बाआमालाई ।

सुरु–सुरुमा त अनलाइन कक्षाको अभ्यास पनि गरेको थियो, सुन्तलीको बोर्डिङ स्कूलले तर १० प्रतिशत पनि विद्यार्थी अनलाइन कक्षामा जोडिन नसकेपछि एक सातामै क्यान्सिल । सुन्तली पनि जोडिन सकेकी थिइनन्, त्यो अनलाइन कक्षामा । अर्काको अधिया बारीमा तरकारी खेती गरेर कमाएको पैसाले मुस्किलले सुन्तलीलाई बोर्डिङमा पढाएको थियो परिवारले । एन्ड्रोइड मोवाइलमा डाटा हालेर अनलाइन कक्षामा जोडिनु सुन्तलीका लागि सपनाजस्तै थियो । सुन्तलीका बाले अझै पनि १२ सय मोडेलको नोकिया मोवाइल चलाइरहेका छन् ।

सुन्तलीका झोलामा अघिल्लो कक्षामा ९ विषयका किताब हुन्थे तर अहिले चल्न थालेको पढाइ ४ विषयको मात्रै हो । त्यसैले सुन्तलीको झोला हलुङ्गो छ । समय पनि विहानको ११ बजेदेखि २ बजेसम्मको मात्रै हो । किनकि स्कूलले सामाजिक दूरी कायम गर्न भन्दै तीन सिफ्टमा स्कूल चलाएको छ रे । एक सिफ्टमा तीन घण्टा । झोला पनि हलुङ्गो, समय पनि छोटो तर साथीभाइसँग भने भेट हुनेमा गद्गद् हुँदै स्कूल पुगेकी छिन्, सुन्तली ।

साग बेचेको पैसाले सुन्तलीका बाले उनलाई मास्क किनिदिएका छन्, टमाटर बेचेको पैसाले सेनिटाइजर व्यागको खल्तीमा राखिदिएका छन् । स्कूलबाट तीन किलोमिटर टाढा भए पनि स्कूल बस आउँथ्यो, गाउँका अरु सुन्तलीहरुलाई लिन । तर दिनदिनै समुदाय स्तरमा फैलिइरहेको कोरोनाको संक्रमणको कारण देखाउँदै नेपाल सरकारले मुलुकका कुनै पनि स्थानमा स्कूल बस नचलाउन निर्देशन गरेको छ । किनकि बस चलाउँदा गाउँ–गाउँमा कोरोना फैलन सक्छ ।

स्कूलमा पहिलो कक्षामै मास्टरले सुन्तलीहरुलाई कोरोना भाइरसको खतरा सुझाउँदै गेटमै साबुनपानीले हात धुन लगाए, मास्क लगाउन लगाए अनि स्कूल बस अझै नचल्ने भएकाले पैदल हिंडेर वा अरु गाडी चल्ने स्थानका भए सार्वजनिक गाडी चढेर आउन सुझाव दिए । शिक्षकको पहिलो अभिव्यक्तिले नै सुन्तलीको मन भारी भयो …। सुन्तलीको मनमा पनि कोरोनाको त्रास जन्मियो ।

स्कूल चलाउन दिने तर बस चलाउन नदिने ? कस्तो सरकार ? सुन्तलीको भारी मनमा फेरि अर्को कौतुहलताको भारी थपियो । बासँगै तरकारी बेच्न उनी सार्वजनिक बसमा चढेर तुलसीपुर पुगेकी थिइन् । पहिले दुधरास तुलसीपुरको भाडा २० रुपैयाँ थियो तर अघिल्लो अस्ति उनी गाडीमा चढ्दा ३५ रुपैयाँ तिरिन् ।

सामाजिक दूरी कायम गरी यातायात चलाउन भन्दै सरकारले ५० प्रतिशत बढी भाडा लिएर आधा यात्रु बोक्ने भनेको घरको टिभीमा समाचार सुनेकी थिइन् । उनको मन अझै भारी भयो, किनकि बसमा यात्रुहरु सिटभरि भएर गल्लीमा समेत उभिएका थिए । किनकि सुन्तलीको सार्वजनिक बसको यात्रा अनुगमन गर्ने सरकार बसभित्र थिएन । सुन्तलीको मन झनै भारी भएको छ ।

हो, म सुन्तलीहरुलाई चियाइरहेको थिएँ, सरकारी निर्णयहरुलाई नियालीरहेको थिएँ अनि स्वास्थ्य मन्त्रालयका निर्देशिकाहरुलाइ दिनदिनै नियालिरहेको थिएँ । सुन्तलीको जस्तै आम नेपालीको मन भारी छ । बजार खुलेको छ तर मन अँध्यारो छ । ओठमा हाँसो छ तर मनमा त्रास व्याप्त छ । रुघा लाग्दा पनि जिउ काप्न थाल्छ, ज्वरो आइहाल्यो भने त जिउनै नचल्ने जस्तैगरी मन भारी हुन्छ ।

मैले देखिरहेको छु, स्कूले विद्यार्थीहरु आफ्नो स्कूल बस हुँदाहुँदै पनि सार्वजनिक बस चढेको । एउटा कलिलो उमेरको विद्यार्थी आफ्नै समुदायका विद्यार्थीहरु चढाइने र सीमित संख्यामा विद्यार्थी बोक्ने आफ्नै स्कूलबसमा चढ्न नपाएर सार्वजनिक बसमा स्कूल पुग्नुपर्ने कस्तो दुर्भाग्य हो ? स्कूले विद्यार्थी आफ्नै स्कूलको बसमा चढ्दा असुरक्षित देख्ने सरकारले सार्वजनिक यातायात सेवाको त्यो भीडभाडबाट विद्यार्थीलाई संक्रमणबाट जोगाउने कस्तो दिवास्वप्न देख्दै छ ? मैले बुझ्न नसकेको कुरा ।

कोरोना भाइरसको संक्रमण फैलनबाट जोगिन र जोगाउन आम जनसमुदायको मनैदेखि भूमिका हुन आवश्यक छ । त्यसमा पनि स्कूले बालबालिका र बृद्धबृद्धाहरुलाई जोगाउनु अभिभावकको पनि दायित्व हो । किनकि बालबालिका भनेका त भोलिका चिकित्सक हुन्, भोलिका प्रधानमन्त्री हुन्, भोलिका प्रधानसेनापति अनि सबथोक हुन् ।

तर उनीहरुलाई स्कूल पुग्न बस सञ्चालनको अनुमति नदिनु कत्तिको दुर्भाग्य हो । सार्वजनिक बसमा कोरोनाको जोखिम छैन सरकार ! हो, सरकार आफै अलमलमा छ । श्रम मन्त्रालय र पर्यटन मन्त्रालयकै कुरा नमिल्दा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएका छन् तर सरकारकै स्वामित्वमा रहेको साझा बस काठमाडौंबाट सायद विहीवारदेखि बाहिरी जिल्लामा सार्वजनिक यातायात सेवा दिँदै छ रे ।

म लेख्न खोज्दै थिएँ, स्कूल चलाउन दिने हो भने स्कूल बस पनि सञ्चालन हुन देऊ । स्कूल गेटमै वाई–फाई सेवा जडित एका घरमा मैले यो डायरी लेखिरहँदा सुन्तली भारी मन लिएर घर फर्किइन् …।