गोरक्ष समाचारदाता
दाङ, ८ असोज । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सवडिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमवार बबई गाँउपालिका वडा नं. ५ जौँबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ५ निवासी वर्ष २३ का नवराज खत्री (केसी) रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।
बिना इजाजत अवैद्य वन पैदावार हानीनोक्सानी, लुकाइछिपाई राखेको र ओसारपसार गर्न लागेको सूचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भएपछि पुरन्धारा सवडिभिजन वन कार्यालयका सवअ सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु संयोग बस्नेत, विष्णुप्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोली परिचालन गरिएको थियो ।
गस्ती टोलीछारा संकित स्थानको करिब ४ घण्टाको निरन्तर खोजतलासपछि बबई गाउँपालिका वडा नं. ५ अन्तर्गतको जौँबारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६ दशमलव ५० क्यूफिट र सोही स्थान बस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६ दशमलव ८३ क्यूफिट गरी जम्मा १३ दशमलव ३३ क्यूफिट काठ गस्ती टोलीको निरन्तर १७ घण्टाको प्रयासपछि बरामद गरी उक्त काठ टेक्टरमा लोड गराई पुरन्धारा सवडिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।
यसैगरी बबई गाउँपालिका वडा नं. ५ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकीका छोरा बलबहादुर बुढाथोकीले वन क्षेत्रमा अतिक्रमण गरी बनाएको छाप्रो भेटिएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१ दशमलव ४० क्यूफिट वरामद गरी काठ लुकाउन बनाइएको काठको अस्थायी छाप्रो स्थानीयहरुको रोहबरमा भत्काइएको जानकारी सहायक वन अधिकृत सिद्धान्त बरालले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए । अतिक्रमणकारीलाई वन ऐन २०७६ वमोजिम पाँच वर्ष कैद र विगो अशुल गरी एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सुवेदीले बताए ।