सामान्य हेलचक्राई गर्दा गुम्छ आँखा

बालाराम खड्का
तुलसीपुर, ७ असोज । सल्यानका एक जना १४ वर्षका व्यक्तिले आँखा विझाएर आँखा मिच्दा–मिच्दा रातो भएर सुनियो । उनले केही दिन घरमै झारफुक गराए तर सन्चो नभएपछि आँखा उपचार केन्द्रमा आएर उपचार गरे ।

धेरै दिनपछि मात्र आँखा सञ्चो भयो । त्यस्तै कृष्ण नगरपालिकाकी बालिका किरण तेलीको आँखा पनि मोतियान्दिुका कारण उपचारै नगरी दृष्टि बन्द नै भयो । अन्तिममा आँखा अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गरेपछि मात्र आँखा देख्ने भइन् र रमाउँदै घर फर्किइन् ।

त्यस्तै जुम्लाकी सुकमायाको पनि घरमै धामीझाँक्री गर्दागदै दुई वर्षदेखि आँखा बन्द भएपछि अन्तिममा आँखामा लागेको मोतियाविन्दुका कारण आँखा बन्द भएको थाहा पाएपछि शल्यक्रिया गरी उनले आँखा देख्ने भइन् । उनले दुई वर्ष बोका र कुखुराबाट आएको लाखौ रकम आँखाको झारफुकमै खर्च गरिन् ।

उनीहरु त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै धेरैले हेलचक्राइका कारण जानी नजानी आँखाको ज्योति गुमाउने गरेका छन् । संसार देखाउने आँखाजस्तो संवेदनशील अङ्गको समयमै उपचार नगराउँदा तथा हेलचक्राईका कारणले दर्जनौँले यसरीनै आँखाको दृष्टि गुमाएर दृष्टिविहरुन बन्नुपर्ने अवस्था छ । नजिकै आँखा अस्पताल र उपचार केन्द्र भए पनि हेलचेक्राई गर्दा यस्तो समस्या आउने गरेको छ ।

अन्य रोगजस्तै आँखासम्बन्धी समस्या आएपछि अस्पतालसम्म पुग्नुपर्छ र समयमै उपचार गराउनुपर्छ भन्ने सचेतना हुँदाहुँदै पनि हेलचक्राइ गरी ढिला अस्पतालमा आउँदा आँखामा ठूलो समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर नेत्र रोग विशेषज्ञ डा. सुलक्ष्मी कटुवालले आँखामा चोटपटक लागेपछि समयमै उपचार नहुँदा यस्तो समस्या देखिने गरेको बताइन् ।

उनले आफूहरुले उपचारका सबै विधिहरु प्रयोग गर्दा समेत कतिपयको आँखा नै निकाल्नुपर्ने अवस्था समय–समयमा आउने गरेको बताइन् । डा. सुलक्ष्मीले वार्षिक करिब दर्जन बढी आँखाका बिरामीहरुमा आँखा नै निकाल्नुपर्ने अवस्था आएको बताइन् ।

‘सकेसम्म हामीले आँखा बचाउने प्रयासगर्ने गरेका छौँ, समयमै अस्पतालसम्म उपचारका लागि नआउँदा कतिपयको आँखा नै निकाल्नुपर्ने अवस्था हुन्छ’ –उनले भनिन् । आँखामा घाउ–चोट लागेपछि घरमै उपचार गर्ने तथा गाउँघरमा धामी झाँग्री र अन्य औषधीहरु प्रयोग गर्दा यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।

डा कटुवालले हेलचक्राई गर्ने समयमा चिकित्सको सल्लाहअनुसार औषधी प्रयोग नगर्ने र घरमै अन्य औषधी हाल्ने परम्परा अझै पनि रहेको बताइन् । आँखामा घाउ चोटपटक लाग्यो भने आँखामा संक्रमणको विकास छिटो हुने गरेका कारण पनि आँखा बचाउन नसक्ने अवस्था आएको उनले बताइन् ।

उनले नेपालीले दुखाइ सहने बानीले गर्दा पनि समयमै उपचार गर्न नआउने बताइन् । त्यस्तै आँखा उपचार केन्द्र रुकुम पूर्वका नेत्रसहयाक सञ्जय पाठकले यस्ता समस्या भएका ८ जना बढी आँखा विरामीलाई अस्पतालमा रिफर गरेको बताए । उनले उपचार केन्द्र नजिक हुँदा पनि अन्तिममा बिरामीहरु आउने गरेको बताए ।

नेपालको ९० प्रतिशतभन्दा बढी भागहरुमा आँखा उपचारको सेवालाई नेपाल नेत्रज्योति संघ अन्तर्गतको आँखा अस्पतालहरु, उपचार केन्द्रहरुमार्फत् सेवा प्रदान गर्दै आइरहेको । १८ वटा आँखा अस्पतालहरु र ८५ आँखा उपचार केन्द्रहरु सञ्चालन रहेको छ भने वार्षिक ३२ लाखभन्दा बढी नेत्ररोगीहरुलाई वहिरङ्ग सेवा र करिब ३ लाख ५० हजारभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरी उपचार सेवा पु¥याउँदै आईरहेको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुले हालसम्म २८ लाख बढीलाई ओपिडी र १ लाख ७८ हजार बढीको आँखाको सल्यक्रिया गरी उज्यालो प्रदान गरेको वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।

आँखाको उपचार तथा आँखासम्बन्धी समस्या भएमा तुरुन्तै नजिकैको आँखा अस्पताल तथा उपचार केन्द्रमा आउन चिकित्सकहरुको सुझाव छ । आँखा अस्पतालहरुले विभिन्न समयमा स्वयम्सेविका, शिक्षक तथा धामीझाँक्रीहरुलाई प्राथामिक आँखा उपचारसम्बन्धी तालिम भने दिने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए ।