गोरक्ष समाचारदाता
दाङ, ८ असोज । यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधवार हो तर मंगलवारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ ।
यसले अझै केही दिन मनसुन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् । केही दिन अघि भारतमा उच्च चाँपीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।
त्यसैको प्रभाव दुई÷चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चाँपीय क्षेत्र एक्कासी बिलाएर पुनः न्यून चाँपीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसमपूर्ण बदलीमा परिणत भएको छ ।
मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी दिए । मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । न्यून चाँपीय क्षेत्र विस्तारै उत्तर–पश्चिम आउँदै छ ।
यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो । अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्यपूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चाँपीय रेखा नेपाल नजिक आउँदा भारी वर्षाको सम्भावना हुन्छ ।
विगतमा तीन÷चार दिन नेपालमा राम्रो घाम लागेको थियो । छिटफुटबाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चाँपीय क्षेत्र बनिसकेको थियो । त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालिको मनसुन हट्ने विश्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चाँपीय क्षेत्र त्यहीँ बिलाएर गयो र न्यून चाँपीय क्षेत्र बन्न पुग्यो ।
त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुनसकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ ।
अहिले पूर्व र मध्यक्षेत्रमा रहेको मनसुनी प्रभाव बुधवारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यस क्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ ।
यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँ–ठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २ सय ४० प्रतिशत पानी परेकाले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।
प्राप्त विवरणअनुसार बाढीपहिरोबाट वैशाखयता ३ सय ७५ जनाको मृत्यु, सय जना बेपत्ता र ४ सय २० जना घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २ सय ७२ जनाको मृत्यु र ७४ बेपत्ता भएका छन् । अधिकांश घटना जेठ ३० गते मनसुन सक्रिय भएपछि घटेको छ । यसपालि नसोचेको क्षेत्रमा अपत्यारिलो घटना भएका छन् ।
कृषि क्षेत्रमा भने मनसुन जारी रहँदा सकारात्मक प्रभाव परेको छ । सिंचाइ सुविधा नभएका खेतमा रोपिएका धानबालीलाई यो वर्षको मनसुनले निकै साथ दिएको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रले पनि यो वर्ष रोगव्याधी नलागेको अवस्थामा अघिल्लो वर्षभन्दा धानबाली बढी उत्पादन हुने बताएको छ ।