मेरो खुशी : नागरिकसभा सफल पार्दाको खुशी …

सामाजिक रुपान्तरणका लागि म सक्रिय भएको पनि ३ दशक पुगेको छ । पत्रकारिता पेशा, शान्ति र मानवअधिकारको संरक्षणका लागि अभियान र समाज रुपान्तरणका लागि गरेका कामहरुका कैयौँ खुशीका क्षणहरु छन् ।

अधिकार तथा सञ्चारका क्षेत्रमा क्रियाशील तुलसीपुर–६ निवासी सुशील बस्नेतले २०६८ सालदेखि द्वन्द्व व्यवस्थापन क्षेत्रमा क्रियाशील रहेको बताउँछन् । अनौपचारिक समूह सम्वाद समूहमा संलग्न रही समुदायमा हुनसक्ने र भइरहेका द्वन्द्वका सवाललाई व्यवस्थापन गर्ने र रुपान्तरण गर्ने काममा आफू क्रियाशील रहेको उनी बताउँछन् ।

अध्ययनको हिसाबले द्वन्द्व व्यवस्थापन नभए पनि अनुभवको आधारमा कैयौँ संस्थापन गर्न सफल भएको उनले बताए । २ वर्ष अघि फिलिपिन्स गएको र त्यहाँ लामो समयदेखि भइरहेको धार्मिक द्वन्द्वलाई व्यवस्थापनको प्रयास भइरहेको छ । शान्ति निर्माणका लागि फिलिपिन्सको राष्ट्रपतिका सल्लाहकारको कार्यालय Office The Presidential Adviser On The Peace Process –OPAPP) रद्वन्द्वरत पक्षको Moro Islamic Liberation Front का सुपरिम कमाण्डसँग गरिएको भेटघाटको समय उनले सझिए ।

विशाल आमसभा सञ्चालनको अनुभव थिएन तर जन आन्दोलन २०६२÷०६३ को समयमा राजनीतिक अधिकारका लागि मानवअधिकार तथा शान्ति समाज सडकमा थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी र देबेन्द्रराज पाण्डले नागरिक आन्दोलनको नेतृत्व लिई देशव्यापी बन्दै गएको थियो । २०६२ सालमा राप्ती अञ्चललाई केन्द्रित गरी विशाल नागरिक सभा तुलसीपुरमा गर्नुपर्ने भयो ।

म त्यतिबेला जिल्ला सचिव थिएँ । उद्घोषणको जिम्मा मलाई थियो । प्रमुख वक्ता कृष्ण पहाडी, पुरुषोत्तम दाहाल, लोक कविअर्जुन पराजुली, देउडा गायक नन्दकृष्ण जोशीलगायत राष्ट्रिय स्तरका वक्ता, साहित्यकार तथा कलाकारहरुको विशाल सभालाई राम्रो व्यवस्थापनमा सहजीकरण गर्न सफल भएको दिन अत्यन्तै खुशी भएँ । ‘मेरो पहिलो खुशी त्यही लेखिदिनुहोला । ‘मेरो पहिलो खुशी त्यही नै हो, त्यसले मलाई थप ऊर्जा दियो’ –बस्ेनतले भने ।

पर्साको वीरगञ्जमा भएको शान्ति समाजको राष्ट्रिय परिषद्को बैठकको उद्घाटन सत्रमा पर्सा जिल्लाको तर्फबाट वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडीलाई कोशेली मायाको चिनो प्रदान गरिँदै थियो । त्यही मञ्चबाट पहाडी सरले मानवअधिकार र शान्ति प्रबद्र्धनमा भविष्यको उज्यालो देखिएको युवा दाङका सुशील बस्नेत भनेर उहाँले बोलाउँदै मलाई सुम्पिनुभयो ।

मेरो हर्षको सीमा नै रहेन । त्यो मेरो अर्को खुशी हो’ उनले भने । टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी र एक बालकको हत्यापछि टीकापुरको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको थियो । सम्वाद समूह दाङमा छलफलमा जुट्यौँ । हाम्रो पहल केही गर्ने कि भन्ने भयो । तर बैठकमा पहल गर्ने र नगर्ने मत बाझियो । अवस्था डरलाग्दो छ । हामी नै असुरक्षित हुनसक्छौ भन्ने मत पनि थियो । हामीले जोखिम स्वीकार गर्दै टीकापुर पुग्यौँ ।

कैलाली प्रशासनले शान्ति निर्माणका लागि गरेको पहल प्रभावकारी हुन नसकेको हाम्रो टिमलाई भन्यो । पुरुष थारुहरु घर छोडेका थिए । कयौँ भारत प्रवास भएका थिए । केही जोशीपुरको जंगलमा बसेका थिए । हाम्रो प्रयास जारी रह्यो । घरपरिवारलाई टीकापुर नभनी बाँके भनि जानेगरेको थिएँ ।

तत्कालीन डिआइजी माधव नेपाल, प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौर, ईलाका प्रशासन कार्यालयका प्रमुख सुमन धिताल, सशस्त्र प्रहरीका हर्क रावललगायतले सम्वाद प्रक्रियामा जोडिनुभयो । थारु समुदायबाट बडघर भल्मन्सा, महटावाँ महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी, बिरालु चौधरी, जितबहादुर चौधरी, आशीष चौधरी र पत्रकार भुवन अधिकारीको योगदान निकै सकारात्मक भयो । जसले गर्दा सम्वाद प्रक्रियालाई पूरा गर्न सफल भयो ।

डिआइजी माधव नेपाल र कैलालीका थारु समुदायबीचको सम्बाद भई ईलाका प्रहरी कार्यालय टीकापुरमा वार्तापछिको चियापान कार्यक्रम भयो । मलाई रातभर निद्रा लागेन । घरपरिवारमा हुनसक्ने भयका कारण दाङबाट कैलालीको टीकापुर जान्छु नभनेर गई थारु समुदाय, सुदूरपश्चिम प्रदेश माग गर्ने समूह र प्रहरीबीचको सम्वाद सफल भएको दिन म निकै खुशी भएँ । त्यो मेरो अर्को खुशी हो ।

२०४६ सालमा एसएलसी पास गरी काठमाडौंमा पब्लिक युथ क्याम्पस काठमाडौंमा भर्ना भएँ । छिमेकी ३ जना राणा परिवारका हुनुहुन्थ्यो । जेठो दाजु तत्कालीन अवस्थामा कर्णेल, अन्य दुई दाजुभाइ सेनानी (मेजर) हुनुहुन्थ्यो । मेजरमध्येका एक जना नेपाल सुटर (निशानवाज) त्रिभूवन क्लवबाट खेल्नुहुन्थ्यो । उहाँको नजर ममाथि परेछजस्तो अहिले अनुभूति हुन्छ ।

उहाँले आफ्नो छोरा एकजना र दाजु अर्का मेजरका छोरा र मलाई त्रिभुवन क्लवमा तेक्वान्दो खेल्ने प्रस्ताव गर्नुभयो । हामीले पनि स्वीकार गरिहाल्यौँ । झण्डै ३ वर्ष त्रिभूवन क्लव (आर्मी) क्लवमा टेक्वाण्दो खेले । साधारण नागरिकको सन्तान म राणा परिवारको प्रयासमा आर्मीको क्लवमा खेल्न पाउनु ठूलो अवसर थियो । त्यतिबेला पनि म निकै खुशी भएको थिएँ ।

काठमाडौंमा स्नातक तहको अध्ययनपछि दाङ फर्किएँ । बसाई साविक उरहरी गाविस वडा नं. ६ मोतिपुर थियो । मेरो माइलाबुबा तिलकबहादुर बस्नेतको सक्रियता र मेरा बुबा र अन्य ठूलाबुबा, सानाबुबा र स्थानीयको पहलमा स्थापना गरिएको प्रावि प्री–गाँउ नजिकै थियो । दिनभर घरमा बसेर गफ गर्नुभन्दा कक्षा ५ सम्म सञ्चालन रहेको सरकारी विद्यालय, विद्यालयमा शिक्षक नभएको मौका छोपी अंग्रेजी विषय स्वयम्सेवी रुपमा पढाउन पाउँदा खुशी लाग्यो ।

त्यसपछि बोर्डिङ स्कूल सञ्चालन गर्न प्रस्तावसँगै न्यू स्टार बोर्डिङ स्कूल सञ्चालन गरी कक्षा ५ सम्म गाउँमै गुणस्तरीय शिक्षाको ज्योति दिन पाउँदा पनि मलाई अर्को खुशी प्राप्त भयो । मैले क, ख, रा पढाएका अहिले राम्रै पेशामा हुनुहुन्छ । २०५२ सालमा कृषि मन्त्रालय अन्तर्गत् ग्रामीण विकास बजार परियोजना सञ्चालनमा आयो । निकै प्रतिस्पर्धाबाटै नायव सुब्बामा नियुक्त भएँ ।

संयोग भन्नुपर्छ तत्कालीन अवस्था कृषि सचिव सूर्यनाथ उपाध्याय हुनुहुन्थ्यो । प्रशासन महाशाखा प्रमुखमा प्रतापकुमार पाठक हुनुहुन्थ्यो । देशभरबाट राम्रो नायव सुब्बा मन्त्रालयमा पियका लागि आवश्यक रहेछ । बुभ्mदै जाँदा मलाई मन्त्रालयमा सिफारिस गरियो, मैले मन्त्रालयमा पियको भूमिका पनि राम्रै निर्वाह गरेँ । त्यो पनि मेरो खुशीको अर्को क्षण हो ।

त्योसँगै म सानैदेखि पत्रकारिताप्रतिको मोह, बिबिसी, अलइण्डिया, रेडियो नेपाल, नेपाल टेलिभिजनका समाचार मैले कहिल्यै छुटाइनँ होला । छुटेको दिन पछुताउँथे । अहिले जस्तो सञ्चारगृह र सञ्चार सेवा थिएनन् ।

रेडियो तुलसीपुरमा २०६० सालदेखि औपचारिक संस्थाका रुपमा संलग्न रही रेडियोले नियमित सेवा प्रशारण गरेको पहिलो दिनको पहिलो समाचार वाचन गर्दा कयौँ खुशी र केही डरको अनुभूति भएको थियो । २०६३ सालतिर हो, दुर्गा गिरी कम्यूटर इन्स्टिच्युट सञ्चालन गर्नुभएको थियो भने स्वर्गद्वारी केवल नेटर्वकका रोहित श्रेष्ठबीच टेलिभिजन च्यानल सञ्चालनको तयारी गर्नुभएको रहेछ ।

मलाई समाचार र कार्यक्रम उत्पादन, सञ्चालन र प्रशारणको जिम्मा दिने प्रस्ताववमोजिम तुलसीपुरमा एसटिएन च्यानल प्रशारण सुरु ग¥यौँ । टेलिभिजन र रेडियोको समाचार वाचन र कार्यक्रम सञ्चालन शैलीका कारण हुनसक्छ, दर्शक स्रोताको भेट गर्नेको संख्या पनि उल्लेख्य भयो । ‘यो पनि मेरो पत्रकारिताको अर्को खुशीको क्षण हो’–बस्नेतले भने ।

मेरो बुबा र मुवाको चाहना नेपाली सेनाको अधिकृत बनाउने थियो । उहाँहरुको चाहना पूरा हुन नसकेको भए पनि नागरिक समाजको क्षेत्रबाट सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागि रहँदा भने खुशी नै छु । त्यसमा पनि २ छोरी र श्रीमतीको सानो परिवार मेरो जीवनका लागि सुखी परिवार भइरहेको छ ।

मेरो यो यात्रामा श्रीमती, साथीभाइ सबैले साथ दिनुभएको छ । म यसैमा खुशी छु । अधिकारकर्मी तथा सञ्चारका क्षेत्रमा क्रियाशील सुशील बस्नेत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

प्रस्तुती  : बालाराम खड्का