गढवामा सर्पदंश उपचार केन्द्र उद्घाटन
लिलाधर वली ÷शिवराज खनाल
दाङ, ४ असोज । गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिकाले करिब एक करोडको लगानीमा निर्माण गरेको गढवा गाउँपालिका–६ गढवामा निर्माण गरेको सर्पदंश केन्द्रको आइतवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् ।
सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले अव देउखुरीवासीले सर्पको टाकाईबाट अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले सर्पको टोकाईबाट बर्सेनी धेरै व्यक्तिले अकालमा ज्यान गराउनुपर्ने दाङवासीको बाध्यता अब गढवा गाउँपालिकाले अन्त्य गर्ने समेत बताए ।
‘दाङको देउखुरी क्षेत्र, त्यसमा पनि राप्ती नदीदेखि दक्षिणको भाग सर्पको जोखिम क्षेत्रका रुपमा रहेको छ’, मुख्यमन्त्री पोख्रेलले भने– ‘त्यो जोखिमलाई हटाउनका लागि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र बनाएर महत्वपूर्ण काम गरेको छ ।’ उनले यसको दीर्घकालीनरुपमा सञ्चालनका लागि रिपुमर्दन गणसँग कुरा गर्न आग्रह गर्दै केन्द्रीय स्तरबाट आवश्यक पर्ने सहयोगका लागि आफूले पहल गर्ने समेत बताए ।

त्यस्तै मुख्यमन्त्री पोख्रेलले अहिलेको समय कोरोना महामारीको समय भएकाले कोरोना विरुद्धको अभियानमा लाग्नसमेत सबैलाई आग्रह गरे । ‘अहिलेको समय कोरोना महामारीको हो, यसबाट बच्न सबै सुरक्षा मापदण्ड अपनाउन जरुरी छ’, उनले भने– ‘लापरबाही गरेर कोरोनाको जोखिम बढाउने काम कसैले नगर्नु होला ।’ उनले ज्येष्ठ नागरिक, बालबच्चा, गर्भवती र दीर्घरोगीका लागि कोरोना भाइरस खतरा रहेको समेत बताए ।
उनले कोरोनाबाट बच्नका लागि हरेक नागरिकहरुले अनिवार्यरुपमा मास्क प्रयोग गर्नेदेखि सामाजिक दूरी कायम गरेर बस्नुपर्ने समेत बताए । ‘कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने हो’, मुख्यमन्त्री पोख्रेलले भने– ‘मापदण्ड पालना गर्दै आफूमा आँट र साहस बढाउने र शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने हो भने कोरोनाले केही गर्न सक्दैन ।’
त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देउखुरीवासीले विकास भएन भनेर गुनासो गर्नुपर्ने समयको अन्त्य भएको समेत बताए ।

‘देउखुरीवासीको सधै गुनासो हुन्थ्यो, देउखुरीको विकास भएनन् भन्ने अब, त्यो गुनासोको अन्त्य हुँदैछ’, मुख्यमन्त्री पोख्रेलले भने– ‘लमही–कोइलावास सडक पिच भएको छ, राप्ती नदीका विभिन्न ठाउँमा पुल बनेका छन्, गाउँ–गाउँमा सडक पिच भएका छन्, देउखुरीमै गुणस्तरीय स्वास्थ्य र शिक्षा समेत जनताले पाइरहेका छन् ।’
मुख्यमन्त्री पोख्रेलले जनताको लागि सरकारले धेरै काम गरेको भन्दै अब जनताले उत्पादनमा लागेर राज्यलाई सहयोग गर्नुपर्ने समय आएको समेत बताएका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले गढवामा सर्पदंश उपचार केन्द्र निर्माण भएसँगै जनताले खुशी भएको बताएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रजित चौधरी, सर्पविज्ञ अर्जुन कचिलालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरको अध्यक्षतामा भएको थियो । गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका कर्मचारी कुलराज कुमालले गरेका थिए ।
उपचारमा ७ को तालिम प्राप्त टोली
सर्पदंश उपचार केन्द्रमा उपचारका लागि रिपुमर्दण गणबाट तालिम प्राप्त ५ जना र गढवा गाउँपालिका स्वास्थ्य शाखाबाट २ जना गरी ७ जनाको टोली रहने भएको छ ।
उक्त ७ जनाको टोलीले सर्पदंशका बिरामीहरुको उपचार गर्ने सर्पदंश उपचार केन्द्रका सदस्य शंकर पाण्डेयले जानकारी दिएका छन् । ‘नेपाली सेनाको टोली सो ठाउँमा बस्ने गरी संरचना निर्माण भएर उपचार केन्द्र सञ्चालनको व्यवस्था मिलाएका थियौ’, सदस्य पाण्डेयले भने– ‘तर सुरक्षाका कारण तत्काल नेपाली सेनाको टोली यहाँ नबस्ने भएको छ ।’
तत्काललाई लमहीको अर्जुन खोलामा रहेको रिपुमर्दन गणको शाखाले हेर्ने भएको समेत उनले बताए । उपचार केन्द्रमा दुई टा इमर्जेन्सी बेड र तीनवटा अन्य बेड गरी ५ वटा बेड तयार गरिएको उपचार केन्द्रले जनाएको छ । उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण तथा औषधि आइसकेको केन्द्रका हेल्थअसिटेन्ट जीवन शर्माले बताए । उनका अनुसार तत्काल सर्पदंश उपचार केन्द्रले बिरामीहरुबाट ३ सय रुपैयाँ शुल्क लिने निर्णय गरेको छ ।
भन्सारको अवलोकन
यसैबीच मुख्यमन्त्री पोख्रेलले कोइलाबास नाकाको अवलोकन समेत गरेका छन् । प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद र अन्य जनप्रतिनिधिसँगै कोइलाबास पुगेको टोलीले भन्सारको पछिल्लो अवस्थाका बारेमा भन्सारका कर्मचारीसँग जानकारी लिएको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले ३७ बर्षअघि घोराहीबाट हिँडेर कोइलावास पुगेको स्मरण गरेका थिए । उनले कोइलावासको इतिहास आफूलाई राम्रोसँग थाहा भएको र यसको विकासको लागि स्थानीयस्तरबाटै पहल आवश्यक भएको र त्यसमा सहयोग गर्न प्रदेश सरकार तयार भएको बताएका थिए ।