खुल्दै विद्यालयहरु…

अमरराज आचार्य
दाङ, ५ असोज । कोभिड–१९ को महामारीका कारण बन्द भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । बन्द भएको करिब ६ महिनापछि विद्यालय सञ्चालन हुन थालेका हुन् ।

लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिकरुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् । नेपाल सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो । त्यसै आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेको स्थानीय तहहरुले जनाएका छन् । लामो समयको बन्दका कारण बालबालिकाहरुको पढाईमा धेरै असर पु¥याएको छ ।

त्यसैले सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु सञ्चालन गर्न सकिने तथा अन्य वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउन भनेको छ । तर वैकल्पिक माध्यमबाट प्रभावकारी शिक्षण सिकाई हुन नसकेको अभिभावकहरुको गुनासो गर्दै आएका छन् । त्यसैले अहिले जिल्लामा विद्यार्थीहरुको उपस्थितिमा नै पढाइ शुरु गर्न थालिएको छ । केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरि सकेका छन् भने केहीले तयारी गरेका छन् ।

बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा पठन–पाठन शुरु भएको हो ।गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि ५ कक्षासम्मको पठन–पाठन शुरु गर्ने निर्णय अनुसार आइतवारदेखि पठन–पाठन शुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्चालन गरिने तयारी गरेको छ ।

गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९ सय ७६ विद्यार्थीहरु छन् । गाउँपालिकामा जम्माजम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठन–पाठन कार्यलाई सञ्चालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए ।

लामो समयसम्म लकडाउन भएपछि विद्यार्र्थीहरुको पढाई अन्योलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन–पाठन कार्यलाई शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए । घोराही उपमहानगरपालिकाभित्र रहेका विद्यालयहरु पनि खुल्ने तयारीमा छन् । घोराही उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमका अनुसार नगरभित्र रहेका विद्यालयहरुले सञ्चालन गर्ने तयारी भैराखेको बताए ।

‘नगरभित्र रहेका विद्यालयहरु केही दिनमा नै सञ्चालनमा आउनेछन्’, प्रमुख गौतमले भने– ‘विद्यालयहरुमा विद्यार्थीहरु उपस्थित गराएर सञ्चालन गर्ने तयारी भएको छ ।’

राप्ती गाउँपालिकाले पनि छिट्टै विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विद्यालयहरुलाई कसरी पढाई सञ्चालन गर्ने भनेर योजना बनाउन लगाइएको र विद्यालयले बनाएको योजनाअनुसार अगाडि बढिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए ।

‘विद्यालयहरुलाई कार्ययोजना बनाउन ५ गतेसम्मको समय दिइएको छ, त्यसपछि विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेर अगाडि बढ्ने छौं’, उनले भने । उनका अनुसार प्रधानाध्यापकसँग आउँदो ६÷७ गतेतिर बैठक बस्ने तयारी गरिएको छ । विद्यालयहरुले आफूले बनाएको योजनाअनुसार अगाडि बढ्नसमेत सहज हुने उनको भनाइ छ । शुरुको १ हप्ता समुदायमा पुग्ने र त्यसपछि विद्यार्थीहरुलाई विद्यालयमा बोलाउने तयारीमा आफूहरु रहेको प्रमुख विकले बताए ।

३ चरण बनाएर विद्यालयहरु सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना रहेको छ । विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न सकिने उनको भनाइ छ । गाउँपालिकाले यसअघि पनि समुदायस्तरमा नै पुगेर बालबालिकाहरुलाई पढाउने गरेको थियो । तर पछिल्लो समयमा कोरोना संक्रमण बढेपछि समुदायमा पढाई रोकिएको प्रमुख विकले बताए ।