चेतनाले नै विवेकहीन बनाएको छ

मनोज पौडेल

म सहरबजारमा बस्ने मान्छे । म बाहुन भएकै कारण कतिपटक काठा, लोभी भनि भनी मागेको छु । कति साथीहरुले र छरछिमेकले बाजे भनेर सम्बोधन गर्छन् । तर, मलाई यस कुरामा कुनै दुःखेसो छैन । किनकी तर पनि म त आखिर उपल्लो जातिकै परेँ ।

तर पनि पीडा हुन्छ हजुर के गर्ने ? सहरबजारमा बस्ने मजस्तो मानिसलाई यो पीडा छ भने सदियौँदेखि पीडित भएर, दलनमा परेर, वञ्चितीकरणमा परेकाहरुको अवस्था र उनीहरुप्रति हुने दुव्र्यवहार र हेपाहा प्रवृत्तिको पराकाष्ठा के होला ?

सहरबजारको अवस्था यो छ भने दूरदराज र दुर्गममा बस्ने कथित तल्लो जातिहरुको अवस्था के होला ? उनीहरुको आवाज कसले सुन्छ होला ? आवाजविहीनहरुको त्यो समानता, न्याय र उत्पीडनभित्र खोजिरहेको मुक्तिको आवाज स्वरकण्ठबाट कहिल्यै बाहिर आउँछ होला? त्यो पीडा भित्रको पुकारले कहिले साकार रुप पाउँछ होला? यी र यस्तै सामाजिक बिभेदले कहिले हाम्रो समाजबाट जरो निकाल्छ होला….!!!!

त्यो मानिस हुँ जसले सामाजिक विभेद भन्दा पनि घरभित्रै अन्तरवैयक्तिक विभेद बढी देखेँ र भोगेँ पनि । म सानो छँदादेखि ८ कक्षा पढ्दासम्म सम्झन्छु, मेरो परिवारमा कुखुराको मासु खान वर्जित थियो, हामी दिदभाइहरुलाई कुखुरा खान मन लागे बाहिरै पकाएर खाने गर्दथ्यौँ ।

त्यो वर्जित त्यतिबेलासम्म रह्यो जतिबेला मेरो दिदीको विवाह भएर भिनाजु हाम्रो घर आउनुभएन । भिनाजुको आगमन सँगसँगै हाम्रो घरमा कुखुरा पनि भित्रियो, किनकि भिनाजुलाई कुखुराको मासु मनपर्ने रहेछ । छोराछोरीलाई पो बाहिर पकाउ भन्न सजिलो ज्वाइँलाई के भन्ने ?

सम्झन्छु, स्कूल पढ्दा हामी दाजुभाइहरु त्यतै तिरबाट मामाघर वा साथीको घरमा गएर अबेर घर आउँदा पनि आमा रिसाउनु हुन्नथ्यो । भोक लागेको होला जा भान्सामा गएर खाजा खा भन्नुहुन्थ्यो, तर दिदी स्कूल सकेर घर आउन केही ढिला भयो भने आमा रिसाउनुहुन्थ्यो र भन्नु हुन्थ्यो– ‘यही हो तेरो घर आउने समय ? खाजा राखिदेकोछु गएर घिँच ।’ मलाई आमासँग रिस उठ्थ्यो र भन्थे ‘के भनेको दिदीलाई त्यस्तो बुढीमाउँ ?’ र आमा भन्नु हुन्थ्यो–‘छोरी पाएपछि थाहा पाउँछस् !’

अहिले मेरो एउटा छोरी छ र म बुझ्दै छु, दिदी घर ढिलो आउनुभन्दा उहाँको सुरक्षाप्रति आमाको ध्यान बढी केन्द्रित थियो, तर आमालाई थाहा रैनछ हाम्रो समाजमा छोराहरु पनि सुरक्षित छैनन् । तर पनि हिजोदेखि आजसम्म छोरीहरु नै बढी असुरक्षित छन् हाम्रो समाजमा ।

आमाले त्यतिबेला दिदीलाई ढिलो घर आउने कुरामा र हामी दाजुभाइलाई मीठो–मसिनो खानेकुरा विभेद गर्नुहुन्थ्यो, हामी भन्थ्यौँ दिदीलाई किन धेरै, आमाले भन्नुहुन्थ्यो तिमीहरुभन्दा दिदीले धेरै नै खानुपर्छ उसलाई तिमीहरुभन्दा बढी पोषणको आवश्यकता पर्छ, उसले धेरै नै खानुपर्छ ।

बुबाआमाले हामीलाई कहिल्यै केही कुराको कमी हुन दिनुभएन, भन्न खोजेको पर्याउनु नै भयो । आफ्नो खुट्टामा नउभिँदासम्म मन परेको लाउन, खान, घुम्न, पढ्न प¥याउनु नै भयो । हाम्रो समाजमा हामी अलि बढी स्वतन्त्र नै थियौँ ।

घरायसी काम पनि बराबर गर्नुपर्छ भन्नुहुन्थ्यो, हामीलाई सबै काम गर्न लगाउनुहुन्थ्यो तर कपडा ठूलो हुँदासम्म कहिल्यै धोइएन, मेरो बालमस्तिष्कमा कपडा छोरा मान्छेले धुनु हुँदैन भन्ने थियो, किनकि मैले बुबालाई कहिल्यै कपडा धोएको देखिन, आजसम्म पनि स्मरणमा छैन ।

छोराछोरीले हामीले के भन्छौँ, के सिकाउँछौँ त्यो सिक्लान–नसिक्लान तर हामी जे गर्छौं त्यसलाई शतप्रतिशत सिक्छन् । तपाई राम्रो हुनुस् तपाईंका छोराछोरी आफै राम्रा हुन्छन् ।

तपाई मीठो बोल्नुस् उनीहरु मीठो बोल्छन्, तपाईं आदर गर्नुस् उनीहरु आदर गर्छन्, तपाईं पढ्नुस उनीहरु पढ्छन् । तपाईंको छोराछोरीको लागि तपाईंभन्दा ठूलो हिरो अरु कोही छैन, तपाईं उनीहरुको रोल मोडेल हो । आफ्नो आचरण र व्यवहार तपाईंले छोराछोरीमा ट्रान्सफर गर्ने हो ।

विद्यालयमा पढेका र सिकेका कुराहरु आमाबुबाबाट सिकाइएका र सिकेका ज्ञानहरुभन्दा जीवनपर्यन्त गौण हुन्छन् । हामीले कतिपय कुराहरु समाजले के भन्छ भनेर पनि आफ्ना नानीबाबुहरुलाई गलत सिकाइरहेका पनि छौँ, जसले गर्दा समृद्ध, सभ्य र समतामुलक समाज निर्माणको सम्भावना देख्दिन मैले मेरो नजरबाट हेर्दा ।

समाजले जहिले शक्ति प्रदर्शन गर्न खोज्छ, त्यसैले तपाईं केही गर्नुस् तब पनि भन्छ–नगर्नुस् तब पनि भन्छ, केही नयाँ गर्नुस् अनि त के–के भन्छ भन्छ । समाजले जहिले तपाईंको नाडी छाम्ने कोशिस गर्छ, तपाईं जति दबेर बस्नुहुन्छ त्यति दबाउनमा तल्लीन रहन्छ ।

हामी धेरैको मानवीय गुण के छ भने आफ्नो बुद्धि विवेकको प्रयोग भन्दा पनि भीडको पछि लाग्छौँ । मेरो मान्यता के हो भने कुनै पनि सवालमा भीड सही हुँदैन र भीडको कुनै निश्चित उद्देश्य पनि हुँदैन, भीड जहिले शून्य मस्तिष्कमा हुन्छ, कसैको इसारामा नाँच्छ, भीडमा जसले जे बोल्छ त्यही गर्छ भीड । कृपया भीडबाट जहिल्यै टाढा रहनुस् ।

समाजका कथित बुद्धिजीवी, ठूलाबडा र भद्रभलाद्मीहरुले आफ्नो वर्चश्व कायम गर्न भीडको सिर्जना गर्छन्, उनको शक्ति सामथ्र्य, पुरुषार्थ र दबदबा देखाउनमै उनीहरुलाई आनन्द आउँछ, ज्ञान, विज्ञान, न्याय, मानवता, स्वतन्त्रतासँग उनीहरुलाई कुनै मतलव हुँदैन ।

भनिन्छ सुरुवात आफैबाट गर्नुपर्छ । जति सुकै लामो र कठिन यात्रा किन नहोस् सुरुवात त पहिलो पाइलाबाटै हुन्छ । तपाईं जबसम्म बदलिनु हुन्न समाजलाई दोष पनि नदिनुस्, समाज तपाईं हामी मिलेर त बनेको हो । हाम्रो दिमागमा वर्षौं भरिएर रहेको असामजिक तुष मिल्क्यायौँ भने समाज बन्ने निश्चित छ । गाह्रो पनि होला मिल्काउन किनकि यो स्याल हो, जसले बाघको खोल ओढेर बसेको छ र हामीलाई दिग्भ्रमित बनाइराखेको छ । किनकि हामी शक्तिका पुजारी हौँ, हामीलाई कमजोर देखिनु छैन । चेतनशील नै किन नहोस् आखिर जनावर त हौँ नि हामी । त्यही चेतनाले थप हिंस्रक, विवेकहीन र क्रुर बनाएको छ हामीलाई ।

तर पनि हरेक कुरा सम्भव छ, परिवर्तनको लागि आँट, शाहस र धीरता चाहिन्छ । निरन्तरता, लगाव र दृढविश्वास चाहिन्छ, हामीले चाहेको परिवर्तन हामीले गर्न सक्छौँ । परिवर्तनका हतियारहरु हाम्रै वरिपरि छन् । बस चिन्न सक्नुप¥यो र ती हतियारहरुको प्रयोग सही समय र स्थानविशेषमा हुनुप¥यो ।

समाज बदल्ने ठेक्का तपाईं हामीले लिएका छैनौँ, होला सामाजिक उत्तरदायित्वका कुराहरु जुन हामीले निभाउनै पर्छ तर यो तपाईंको जिम्मेवारी, कर्तव्य र नैतिकता पनि हो कि सामाजिक बेतिथि र विभेद, कूरीति, कूसंस्कार विरुद्ध तपाई बदलिनुस् । तपाईंको परिवारको सोचाई र व्यवहार बदलिने छ । जसले तपाईंको भावी सन्ततीलाई समाजभित्रको असामाजिक तत्वले असर नगरोस् । भन्नेले त के–के भन्छन्, भन्छन् कुरा नसुनेकै राम्रो, बस मनमा एउटा अडान लिन जरुरी छ धर्ती फाटोस् कि आकाश म गलत हुने छैन र हुन दिने पनि छैन ।

कुखुराको मासु वर्जित मेरो घरमा अहिले सबै किसिमका सामाजिक, वैयक्तिक विभेदहरु वर्जित छन् । हामी पूर्ण स्वतन्त्र छौँ, कुनै पनि किसिमको खानेकुरा खान अब हाम्रो लागि निषेधित क्षेत्र तोकिएको छैन । परिवर्तनको सम्वाहक हामी आफै हौँ, आफूलाई चिन्नुहोस् । यहाँ परिवर्तनको लागि कुनै जादु वा चमत्कार हुनेवाला छैन, हाम्रो समाज बदल्ने जिम्मेवारी हाम्रो हो, यो हाम्रै काँधमा छ बोक्ने शाहस हामीले नै गर्नुपर्छ, तर याद गर्नुस् समाजको चिन्ता गर्दा आफ्नो घर नजलोस्, तपाईंको वैयक्तिक, पारिवारिक कर्तव्य र जिम्मेवारी तपाईंको लागि समाजभन्दा ठूलो हो ।

सके समाजलाई योगदान दिने हो नसके पनि समाज हामी भन्दा बाहिर छैन । हरेक घर उदाहरणीय बने समाज आफै उदाहरणीय बन्छ, जंगलमा आगो लगाउन सिर्फ एउटा सलाईको काँटी काफी छ र हाम्रो परिवार त्यही सलाईको काँटी बनोस् र तहसनहस पारोस्, हामीभित्र गुम्सिएर, लुकेर बसेका जंगली प्रवृतिहरु । वश ! यत्ति आत्मविश्वासको जरुरी छ । हामीभित्र असीमित ऊर्जा छ र हामी परिवर्तन गर्ने छौँ हाम्रो समाज ।