मकैको उत्पादन बढ्यो, बजार पाएन

अमरराज आचार्य
दाङ, ४ असोज । गढवा गाउँपालिका वडा नं. ७ कान्छीगाउँ मोतीपुरका निवासी चोकनाथ चौधरीले उत्पादन गरेको मकै विक्री हुन नसकेको बताएका छन् । उनले करिव १ विगाहामा मकै खेती गर्ने गरेका छन् ।

उनले बैशाखमा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि विक्री नभएको बताए । यसरी तयार भएको मकै विक्री नहुँदा धेरै समस्या भएको उनको भनाइ रहेको छ । मकै विक्री गरेर भएको आम्दानीले घर खर्च चलाउन सहज हुने गरेको थियो ।

तर मकै विक्री नै नभए पनि घर व्यवहार चलाउन समेत समस्या हुनथालेको उनले बताए । गत वर्ष उनले घरबाटै मकै विक्री गरेका थिए । तर यस वर्ष हालसम्म कोही पनि मकै किन्नका लागि नआएको उनले बताए ।

‘अहिलेसम्म कोही पनि मकै किन्न नआएको कारण मकै विक्री गर्न सकिएको छैन’–चोकनाथले भने । मकै विक्री नभएपछि केही बाख्रालाई खुवाइएको छ भने अरु घरमै राखिएको उनले बताए । कोरोनाको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनको कारण मकै विक्री नभएको उनले बताए ।

‘गत वर्षको विक्री मूल्यभन्दा आधा मूल्य कायम राख्दा पनि मकै किन्न कोही आएका छैनन्’–उनले भने । लकडाउनको कारण कुखुरापालन गर्नेहरुले पनि लकडाउनको समयमा कम कुखुरापालन गरेको र केहीले कुखुरापालन नै छाडेका कारण यस प्रकारको समस्या भएको उनी बताउँछन् ।

कृषकले उत्पादन गरेका कृषिवस्तु सरकारले मूल्य निर्धारण गरिदिएर किन्ने व्यवस्था गरिदिएमा कृषकहरुलाई सहज हुने उनले बताए । कृषकले दुःख गरेर उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा कृषकहरु मारमा पर्ने गरेको उनी बताउँछन् । यसतर्फ सरकारले ध्यान दिनुपर्ने चोकनाथले बताए ।
सोही स्थान निवासी रामबहादुर चौधरीको पनि तयारी भएको मकै विक्री हुनसकेको छैन । उनले बैशाखमा तयार गरेको बसन्तेमकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल विक्री गर्न बाँकी रहेको उनले बताए ।

यसरी तयार भएको मकै विक्री नहुँदा धेरै समस्या भएको उनले बताए । ‘तयार भएको मकै विक्री भएको छैन, घर व्यवहार चलाउन समेत समस्या भएको छ’ उनले भने । उनले २ हेक्टरमा ३ बाली मकै खेती गर्ने गरेका छन् । गएको फागुनसम्म तयार भएको दानामकै ३५ रुपैयाँ केजीमा विक्री गरेको उनी बताउँछन् ।

तर अहिले प्रतिकेजी १८ रुपैयाँमा पनि विक्री गर्न समस्या भइरहेकोे उनको भनाई छ । ‘यसरी आधा मूल्यमा दिँदा पनि खरिदार भेटिएका छैनन्’–उनले भने । यसरी आधा मूल्यमा मकै विक्री गर्नुपर्दा आफूहरुको मिहिनेत तथा लगानी समेत उठाउन समस्या हुने उनले बताए । राज्यले कृषकको समस्यालाई ध्यान दिएर सहयोग गर्ने उनले आग्रह गरे ।

राज्यले कृषकले उत्पादन गरेको वस्तुको मूल्य तोकेर खरिद गरिदिनु पर्ने उनले बताए । यसले गर्दा कृषकहरुलाई कृषि पेशामा रहिरहनमा सहयोग पुग्ने उनको भनाई छ । लामो समयको लकडाउनको कारण मकै विक्री हुन नसकेको उनले बताए । लकडाउने गर्दा अन्य क्षेत्रमा जस्तै कृषिमा पनि असर गरेको उनले बताए । उक्त गाउँमा मात्र ५० हेक्टर बढी क्षेत्रफलमा मकै खेती गरिने गरेको उनले जानकारी दिए ।

लमही नगरपालिका वडा नं. ८ सतबरिया निवासी देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै विक्री गर्नुपरेको बताए । गत वर्ष ३५ रुपैयाँ प्रतिकेजी मकै विक्री गरेका उनले यस वर्ष १७÷१८ रुपैयाँ प्रति केजीसम्म मकै विक्री गरेको बताए । लकडाउनको कारण दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको उनको भनाई रहेको छ ।

‘बाहिर पनि नगएको र पशुको आहारा घटेको कारणले मूल्य घटेको हो’ उनले भने । लकडाउनको कारण मकै खानामा पनि कम प्रयोग भएको उनले बताए । यसले गर्दा कृषकहरुलाई समस्या भएको उनले बताए ।

सतबरिया टोलमा मात्र करिब ८० विगाहमा मकैखेती हुनेगरेको छ । देउखुरीमा मकै सुपरजोन कार्यक्रम लागू भएपछि कृषकहरुले ३ बाली लगाउने गरेका छन् । यसबाट आम्दानी समेत गर्ने गरेका थिए । तर यस वर्ष मकैले मूल्य नपाएपछि भने उनीहरुमा चिन्ता छाएको छ ।