लिलाधर वली
दाङ, ४ असोज । पछिल्लो समय दाङमा व्यावसायिक माहुरीपालन व्यवसाय गर्ने किसानको संख्या बढ्दै गएको छ । माहुरीपालन व्यवसायबाट उत्पादन भएको माहुरी सजिलै विक्री हुने र माहुरीका लागि चरण क्षेत्र समेत राम्रो भएकाले जिल्लामा माहुरीपालन व्यवसाय बढ्दै गएको हो ।
तर कुनै बेला यस्तो समय थियो जुन समय घोराहीमा माहुरी किन्नलाई समेत पाइँदैन थियो । त्यही समयमा तुलसीपुरबाट ४ हजार ५ सय रुपैयाँमा एक घार माहुरी किनेका घोराही उपमहानगरपालिका–१८ निवासी विवेक गौतमले अहिले दश लाख बढी मूल्यको माहुरी पाल्दै आएका छन् ।
माहुरी पालन गर्ने शौखलाई पूरा गर्नका लागि २०५४ सालमा ४ हजार ५ सय रुपैयाँमा एक घर माहुरी किनेर ल्याएका थिए । त्यही घारलाई बृद्धि गर्दै गौतमले पछिल्लो समय ‘अम्विकेश्वरी बी’ कन्सर्न फर्म दर्ता गरेर व्यावसायिक रुपमा माहुरीपालन गर्दै आएका छन् । उनीसँग अहिले ८५ घर माहुरी रहेका छन् । मह उत्पादनसँगै माहुरीका घार बढाएर विक्री गर्ने गरेका गौतम परिश्रममा विश्वास गर्ने मान्छे हुन् ।

परिश्रममा विश्वास गर्ने गौतमले माहुरीपालनमा राम्रोसँग लागे अन्य व्यवसायको तुलनामा माहुरीपालन उपयुक्त व्यवसय भएको समेत उनी बताउँछन् । ‘जुनसुकै पेशा व्यवसायमा मिहिनेत आवश्यक हुन्छ, त्यो मिहिनेत माहुरीपालन व्यवसायमा पनि गर्नुपर्छ’–गौतमले भने–‘त्यो मिहिनेत कसैलै माहुरीपालन व्यवसायमा गर्छ भने अन्य सानोतिनो व्यवसायलाई माहुरीपालन व्यवसायले सजिलै जित्छ ।’ अन्य व्यवसायको तुलनामा माहुरीपालन व्यवसाय सजिलो र कम खर्चमै गर्न सकिने भएकाले पनि सहज भएको उनी बताउँछन् ।
२०५४ सालदेखि माहुरीपालन व्यवसाय गर्दै आएका गौतमको मुख्य आम्दानी नै माहुरीपालन हो । उनलाई माहुरीपालन व्यवसायमा श्रीमती र छोराले साथ दिँदै आएका छन् । गौतमकी श्रीमती अम्विका गौतम माहुरीपालन व्यवसायसम्बन्धी प्रशिक्षक समेत हुन् ।
उनले माहुरीपालन गर्ने किसानहरुलाई तालिम समेत दिने गरेकी छिन् । ‘हाम्रो घरपरिवार नै माहुरीपालनमा छ, जसका कारण घरको मुख्य आम्दानी नै माहुरीपालन हो’–छोरा विरोध गौतमले भने–‘यहीँबाट आएको पैसाले परिवार चल्छ ।’ उनले वार्षिक रुपमा करिब ७ देखि ८ लाखसम्म माहुरीका घार र मह उत्पादन गरेर विक्री समेत गर्ने गरेका छन् ।
दुई दशकदेखि माहुरीपालन गर्दै आएको गौतम परिवारसँग माहुरीपालनसम्बन्धी राम्रो अनुभवसँगै ज्ञान समेत रहेको छ । त्यही ज्ञान र अनुभवका कारण लामो समयदेखि आपूmहरु माहुरीपालनमा रहेको उनले बताए । दाङमा माहुरीको राम्रो सम्भावना रहेको भन्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजनामा समेत रहेको बताए ।
‘दाङमा माहुरीको राम्रो सम्भावना भएको क्षेत्र हो, यसलाई राज्यले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ’–गौतमले भने–‘सम्भावना भएका करण मैले ५ सय घरसम्म माहुरी पु¥याउने योजनामा छु ।’ माहुरीका लागि उपयुक्त क्षेत्र भए पनि अन्य व्यवसायको तुलनामा माहुरीसँगै महको बृद्धि हुन नसकेको उनले बताए ।
माहुरीपालन व्यवसाय गरेको छोटो समयमै प्रतिफल लिन सकिने र उत्पादन भएको मह विक्रीमा कुनै समस्या नहरेकाले पनि आपूm व्यवसाय विस्तारमा लागेको उनी बताउँछन् । त्यसका लागि गौतमले गत वर्ष कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ अनुदान समेत प्राप्त गरेका छन् । उक्त रकमले आपूmलाई व्यवसाय विस्तारका लागि थप सहयोग पुगेको उनी बताउँछन् ।