Goraksha

National Daily

जनस्वास्थ्यमाथि खेलवाड

कोभिड–१९ को संक्रमणले विश्व थलिएका बेला दाङ जिल्लाको देउखुरीमा एउटा विशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना ग¥यो । सयौँ नागरिकलाई जमघट गराएर नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतम सो कार्यक्रमका प्रमुख अतिथि बने ।

शिक्षामन्त्रीका सल्लाहकार समेत रहेका गौतमले निजी तथा सामुदायिक विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सल्लाह दिनुको साटो सयौँ कार्यकर्तालाई नेकपामा प्रवेश गराए ।

आस्था एउटा कुरा हो, जसले पनि राजनीतिक आस्था र विचार परिवर्तन गर्न स्वतन्त्र छ, तर विश्वव्यापी कोरोनाको महामारीमा सामाजिक भीडभाड, भोजभतेर, राजनीतिक जमघट, सभासम्मेलन नगर्ने राज्यको नीति हुँदाहुँदै सोही सत्तारुढ दलका नेता प्रमुख अतिथि बनेर पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्छन् भने यसलाई आम जनताले के बुझ्ने ? यही प्रश्न आम नागरिकले सत्तारुढ दल नेकपालाई सोधिरहेका छन् ।

मुलुकको अर्थतन्त्र कोरोना भाइरसको संक्रमणका कारण अक्रान्त बनेको छ । आम नागरिकको पिसिआर परीक्षण र औषधि उपचारका लागि राज्यसँग न त अस्पताल छन् न त परीक्षणका लागि पर्याप्त किट र भिटिएम नै छन् । यस्तो अवस्थामा सामाजिक दूरी कायम गर्नु र आफ्नो दैनिकी चलाउनु आम नागरिकको दिनचर्या जस्तै बनेको छ ।

तर सत्तारुढा दल नेकपाकै इञ्चार्जले चुनावी सभाको झल्को दिने गरी पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्छन् भने त्यसको जवाफ राज्यले दिनुपर्छ कि पर्दैन । जीवन गौतमलाई राजनीति गर्नु छ । त्यसका लागि नागरिकको मन जित्नु आवश्यक छ ।

तर सरकार चल्नै मुस्किल भएको समयमा पार्टी प्रवेशको नाटक गरी आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन । यदि सत्तारुढ दललाई यो छुट छ भने उद्योग वाणिज्य संघका निर्वाचनहरु पनि तत्कालै हुनु आवश्यक छ । खानेपानी संस्थाका अधिवेशनलाई रोक्नुको कुनै औचित्य रहँदैन ।

सामुदायिक वन उपभोक्ता समितिका अधिवेशनहरु निरन्तर चलिरहनु पर्दछ । यसमा पनि सत्तारुढ दलले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।

कोरोना भाइरसको संक्रमणका कारण होटल व्यवसायहरु विगत ६ महिनादेखि ठप्प भएका छन् । यातायात व्यवसायीले करोड रुपैयाँभन्दा बढी लगानी गरेर खरिद गरेका एसि÷डिलक्स बसहरु सञ्चालनमा आउनसकेका छैनन् । भविष्यका कर्णधार बालबालिका विद्यालय पुग्न सकिरहेका छैनन् ।

मुलुकलाई यसबाट कसरी मुक्ति दिन सकिन्छ भनेर सोच्नुपर्ने जिम्मेवार सत्तारुढ दलका केन्द्रीय सदस्यले नै आफ्नै पार्टी नेतृत्वको सरकारले तोकेका न्यूनतम स्वास्थ्यका मापदण्ड उलङ्घन गर्नु अवश्य पनि उपयुक्त हुन सक्दैन । दुइतिहाई वहुमतको सरकारलाई जनताको काम गर्न र मन जित्नका लागि पार्टी प्रवेश गराइरहनु आवश्यक छैन ।

पार्टीको नेतृत्वको सरकारले जनताका न्यूनतम आवश्यकता पूर्ति गर्दै आम जनताको आर्थिक उकासको वातावरण बनाउनसके कसैलाई पनि यस्तो संक्रमणको अवस्थामा पार्टी प्रवेशको नाटक गर्न जरुरी छैन । जनताको स्वास्थ्यमा खेलवाड नगर । कोरोनाको संक्रमणको जोखिम दिनदिनै बढिरहेको छ ।