Goraksha

National Daily

‘नगरपालिका शील गरिएको छ’

दाङ, १ असोज । हेलो मेयरसाव, कन्ट्रयाक्ट ट्रेसिङको निवेदन थियो, कहाँ दर्ता गरौं, मैले यो प्रश्न सोधिरहँदा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भनेका थिए– ‘नगरपालिका शील भइसकेको छ, निवेदन दर्ता गर्ने अवस्था छैन, अनि कन्ट्रयाक्ट ट्रेसिङ पनि हुँदैन ।’

नेपाल सरकारले निर्णय गरिसकेको छ, आवश्यक परे शुल्क तिरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जानुहोला । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलालचौधरीको सोझो जवाफ थियो । कसैलाई बिझाउन सक्थ्यो, तर मलाई उनको अभिव्यक्तिले कुनै असर गरेन । हस् सर तैपनि जानकारी गराउन जाँदैछु, अफिसियल रेकर्डका लागि, परीक्षण त तपाईहरुकै दायित्व हो ।

सायद नरुलाललाई शीलको अर्थ जानकारी भएन कि ? त्यो मैले गेटमा पुगेपछि मात्रै जानकारी पाएँ । घोराही उपमहानगरपालिका शील भएको थिएन । स्वास्थ्य शाखा र सरसफाई शाखाका कर्मचारीहरु काममा खटिइरहेका थिए ।

गोरक्ष दैनिकका सम्पादक र प्रकाशकका बुवाआमालाई नै कोरोना पोजेटिभ देखिएपछि पत्रिकामा काम गर्ने हामीहरु पनि एउटा लिखित दस्तावेज लिएर निवेदन दर्ता गर्न स्थानीय सरकारकोमा पुगेका थियौं । हाम्रा सहकर्मी सन्तोष सुवेदी र म त्यहाँ पुग्दा सप्तरंगी टेलिभिजनका क्यामरामेन नारायण नेपाल पनि त्यहाँ पुगेका थिए ।

तर स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीले हाम्रो निवेदन सहर्षरुपमा स्वीकार गरे, सरकारी नियम जेसुकै भए पनि हामीले सुलोचनाको पिसिआर परीक्षणको तयारी गरिरहेका छौं, उनको रिपोर्टपछि मात्रै तपाईहरुको आवश्यक परे कन्ट्रयाक्ट ट्रेसिङ गरौंला ।

कति मिठोरुपमा प्रस्तुत भएका थिए स्वास्थ्य प्रमुख । प्रोस्टेटको अप्रेशन गरी आराममा बसेका जीएम पनि हाम्रो आग्रहलाई स्वीकार गर्दै नगरपालिकामा आएका थिए । हेरौं परीक्षण क कस्को हुन्छ, क–कसलाई बजार डुले पनि हुन्छ, क–कसलाई होम क्वारेन्टाइनमा राख्नुपर्छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिका शील गरिएको छ । हाम्रो निवेदन अफिसियल दर्ता त भएन, तर स्वास्थ्य प्रमुखले स्वीकार भने गरे । उनले हातमा निवेदन लिँदा पालिका प्रवक्ता भरत अर्याल पनि उदार थिए । सकेसम्म गरौंला परिवारसँग कुरा भइरहेको छ । हेरौं नगरप्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले पनि भनेका थिए, प्रक्रियागतरुपमा काम होला भन्ने अपेक्षा गर्नुस् ।

संक्रमण देखियो कि शील गर्ने अभ्यास पहिलो होइन, किनकि त्रिविवि शिक्षण अस्पतालमा पनि एकजना विरामीमा कोरोनाको संक्रमण देखिनासाथ शील भएको थियो । राप्ती स्वास्थ्य विज्ञानमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि शील गरिएको थियो ।

तुलसीपुरको प्रादेशिक अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुलाई संक्रमण पुष्टि भएपछि अस्पताल शील गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको पञ्जीकरण शाखामा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि सोही शाखा मात्र शील गरिएको थियो । काठमाडौको वीर अस्पतालमा कम्तीमा ८० चिकित्सक कर्मचारीलाई कोरोनाको संक्रमण पुष्टि भएपछि वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो ।

त्यसो त घोराही उपमहानगरपालिकाकै वडा नं. १० कम्तीमा पनि आधा महिना शील भयो । छिमेकी रोल्पाको होलेरी बजार पनि केही दिनका लागि शील गरिएको छ । तर शील गरेर समस्याको समाधान हुन्छ त ? आम नागरिकहरुले यही प्रश्न सोधिरहेका छन् । स्थानीय सरकार बेखवर छ, सायद अब कुनै पनि तहबाट लक्षण नदेखिएका सम्भावित संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुनेछैन ।

घोराही उपमहानगरपालिका बन्द कर्मचारीमा कोरोना देखिएपछि दाङको घोराही उपमहानगरपालिका बन्द गरिएको हो । मंगलवार ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधवारदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने उपमहानगरपालिकाले जनाएको छ ।

कार्यालका ६ जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् ब्यवस्थापन र सरसफाई सेवालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु असोज ४ गतेसम्म स्थगित गरिएको छ । घोराही उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।