Goraksha

National Daily

बजार खुलेसँगै व्यावसायिक नेता अनुगमनमा

अमरराज आचार्य
दाङ, ३० भदौ । व्यावसायिक नेताहरुकै आग्रहमा रोगको भन्दा भोकको त्रास देखिन थालेको भन्दै बजार खुल्ला भएपछि व्यावसायिक नेताहरुले स्वयं बजार अनुगमन थालेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा भए÷नभएको बारेमा अनुगमन गरेको छ । सोमवारदेखि बजारमा पुगेर मापदण्ड पूरा गरे÷नगरेको बारेमा जानकारी लिन थालेको हो । निषेधाज्ञा खुलेपछि व्यापारमा भीडभाड बढेपछि मापदण्ड भए÷नभएको बारेमा अनुगमन गरिएको हो ।

व्यावसायिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको नगरेको बारेमा अनुगमन गर्न थालिएको स्वास्थ्य सुरक्षा अनुगमन समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए । अनुगमनका क्रममा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पूरा गरेको नै पाइएको बुढाथोकीले बताए ।

‘अनुगमनका क्रममा नागरिकहरुसचेत नै रहेको पाएका छौं’, बुढाथोकीले भने । केही स्थानमा व्यक्ति–व्यक्तिबीचको दूरी कायम नराखेको पाइएको उनले बताए । दूरी कायम नभएका स्थानमा सेवाग्राहीहरुलाई सचेत गराइएको उनले बताए । व्यवसायीहरुलाई व्यवसाय गर्दा अपनाउनुपर्ने अन्य सजगताका बारेमा पनि जानकारी गराइएको थियो भने सचेतना सन्देश लेखिएका स्टीकर पनि टाँसिएको थियो ।

यस प्रकारको अभियानलाई निरन्तरता दिइने संयोजक बुढाथोकीले बताए । सोमवार बालमन्दिर चोक, दामोदर चोक, बैंकरोड, न्युरोडमा अनुगमन तथा सचेतना गराइएको थियो । त्यस अवसरमा समितिका सदस्यहरु मिनराज भाट, टंकप्रसाद पोख्रेल (कमल), दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, फेन्सी व्यवसायी समितिका सचिव माधव खनाल, गल्ला तथा किराना व्यवसायी समितिका विकास वलीलगायतको सहभागिता रहेको थियो ।

बजार खुलेस“गै चहल–पहल

सोमवारदेखि निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहल–पहल बढेको छ । जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञा खुकुलो गराएसँगै सोमवारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन भएका थिए । जिल्लाभित्र निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर–विजोरको आधारमा सञ्चालन भएका छन् ।

लामो समयदेखि बन्द रहेका व्यवसायहरु सञ्चालनमा आएपछि व्यवसायमा सुधार आउने अपेक्षा व्यवासायीहरुले गरेका छन् । उनीहरुले निषेधाज्ञा अन्त्य गर्न आग्रह गरेका छन् । सवारी साधन तथा बजार खुलेपछि नागरिकले केही सहजता महसुस गरेका छन् ।

लामो समयको निषेधाज्ञाले नागरिकहरुमा रोगको भन्दा पनि भोकको समस्या थियो । निषेधाज्ञा खुकुलो भएसँगै काम गरेर खान पाइने अपेक्षामा नागरिकहरु रहेका छन् ।