Goraksha

National Daily

प्राविधिक जनशक्ति उत्पादन गर्ने स्थानीय सरकारको नमुना कलेज

गोरक्ष समाचारदाता
तुलसीपुर, ३० भदौ । प्राविधिक जनशक्ति उत्पादनमा जोड दिँदै तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ ।

स्थानीय सरकारले पनि कलेज सञ्चालन गर्न सक्छ भन्ने उदाहरणका साथमा उपमहानगरपालिकाले मेट्रो कलेजका रुपमा स्थापना गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

‘बाटो–घाटोलगायतका संरचना निर्माण मात्रै नभएर दक्ष जनशक्ति उत्पादन पनि स्थानीय सरकारको काम हो भन्ने सोचका साथमा कलेजको स्थापना गरेका हौं’, उनले जानकारी दिए ।

गत शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सहकार्यमा तीन वर्षे वन विज्ञान कार्यक्रम सञ्चालन गरेको कलेजले यसै शैक्षिक सत्रबाट पाँचवटा विषय सञ्चालन गर्न लागेको पनि कलेजका अध्यक्षसमेत रहेका नगरप्रमुख पाण्डेले जानकारी दिए ।

प्राविधिक विषय पढ्न टाढा जानुपर्ने बाध्यताका साथै चर्को शुल्कसमेत तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि कलेजले महत्वपूर्ण भूमिका खेल्न सक्ने कलेज सञ्चालक समितिका सदस्य सूर्यबहादुर डाँगीले वताए ।

उनले अत्यन्त कम शुल्कमा अध्यापन गराइने समेत जानकारी दिए । ‘स्थानीय सरकारले सञ्चालन गरेका कारण हामीले अत्यन्त कम शुल्क लिने योजना बनाएका छौं’, डाँगीले भने । उनका अनुसार यसै शैक्षिक सत्रबाट तीनवर्षे कार्यक्रमअन्तर्गत वन विज्ञान, कृषि विज्ञान, फुड एण्ड डेरी, मेकानिकल इन्जिनियरिङ्ग र इलेक्ट्रीकल इन्जिनियरिङ्ग विषयको अध्यापन हुने भएको छ ।

सदस्य डाँगीका अनुसार उपमहानगरपालिका भित्रकालाई ४० प्रतिशत र अन्य ठाउँबाट आउनेलाई २० प्रतिशत समेत कलेजले छुट दिने भएको छ । कलेजको भवन निर्माणका लागि प्रदेश सरकारले ९ करोड विनियोजनसमेत गरिसकेको जनाइएको छ ।

‘यसै वर्षबाट भवन निर्माणको काम समेत अगाडि बढ्नेछ’, नगरप्रमुख पाण्डेले भने । उनले प्रदेशकै नमुना कलेजका रुपमा विकास गरिने पनि बताए ।