Goraksha

National Daily

असोज लाग्दै गर्दा दाङमा बाढीको वितण्डा

नारायण खड्का
दाङ, २९ भदौ । रातिमा जल तथा मौसम विज्ञान विभागको म्यासेज मोबाइलमा बज्यो । यसरी मेरो मोबाइलमा मौसम कार्यालयबाट म्यासेज आएको पहिलोपटक थियो । त्यसैले आँखा मिच्दै भए पनि एकछिन नियालेर हेरे । जसमा दाङको बेलझुण्डी, तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा अति भारी बर्षा हुने भन्दै सावधानी अपनाउन भनिएको थियो ।

भारी बर्षाले नदी तथा खहरे खोलाहरुमा बाढी आउन सक्ने र नदी तथा तटीय क्षेत्रहरु डुवानमा पर्नसक्ने खतरा उसले एसएमएस गरी सावधान रहन सूचित गरिएको थियो । पढ्दा अचम्मै लाग्यो । के यो साँच्चै होला भन्ने प्रश्न आफैलाई सोध्न मन लाग्यो । असोजको महिला लाग्दै गरेको हुँदा त्यति विश्वास गर्ने आधार थिएनन् । नगरौ विज्ञानलाई चुनौती दिनु समान ठहथ्र्यो ।

आफै अलमलमा पर्दै सुत्ने प्रयास गरे । मैले फुलवारी बखरियाका मित्र तथा पत्रकार देवीराम कुसारीलाई फोन गरें, उनको पनि यस्तै जवाफ थियो, यो बर्षकै उच्च बहाव बबईमा देखिएको छ, तर दाङ सुरक्षित भए पनि बर्दियालाई यसले डुवानमा पार्न सक्छ । तत्काल प्रमुख जिल्ला अधिकारीलाई पनि फोन गरें, उनको मोबाइलमा पनि यस्तै म्यासेज आएको पाएँ ।

डायल गरें रेडक्रसका सभापति नारायण आचार्यलाई, उनी पनि यसअघि नै बाढीको म्यासेज पाइसकेका रहेछन् । ठूलो जनशक्ति तयारी अवस्थामा रहेको उनले अभिव्यक्ति दिए । किनकि बाढी सूचना प्रणालीले धेरै सहज भएको छ, उद्धार र राहत व्यवस्थापनमा पनि । दाङ सुरक्षित रहेको तथा बर्षात जारी रहेमा समस्या बर्दियामा हुनसक्ने संकेत गरे ।

फोन गर्दाको समयमा बर्षात न्यून भइसकेको थियो, तर खोलामा बाढी भने थिएन । घोराहीबाट प्रकाशित हुने पत्रिका तुलसीपुरमा बिहान १० बजेसम्म पनि पुग्न सकेका थिएनन् । सायद मौसम बरालिएको हुनसक्छ ।

विश्वभरी लकडाउन हुँदा यो बर्ष मनसुनी स्याडुलसमेत परिवर्तन भएको छ । विश्वव्यापी कोरोनाको महामारीसँगै शुरु भएको लकडाउनले प्रकृति खुसी छ । त्यसैले बर्षात पनि अस्वाभाविकरुपमा भइरहेको छ । एक साता पनि खडेरी परेको अवस्था छैन । झप्प के आँखा लाग्दै थियो, निन्द्रा भंग हुने गरी आकाश पड्कियो ।भारी बर्षा शुरु भयो । सँगै रातभर गड्याङ–गुडुङ् गदै आकाश पड्किने क्रम रोकिएन । जसले गर्दा धेरै दंगाली सायद बितेको रातभर चैनको निन्द्रा सुत्न सकेनन् होला । मजस्तै । जसले बेचैन बनाइदियो ।

त्यही भारी बर्षाका कारण जिल्लाबासीले मंगलवार बाढीको वितण्डा खेप्नुप¥यो । विहानभर तुलसीपुर–घोराही सडकखण्डका विभिन्न खोलामा आएको बाढीले यातायात ठप्प भए । खोलाहरुका धार नै परिवर्तन गरेर बगिरहेको हुँदा साना सवारी साधन ठप्प प्राय रहे । सोमवार विहान साढे ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित भागीराम चौधरीको घरमा चट्याङ पर्दा क्षति पुगेको छ । चट्याङले घरका तीनवटा कोठा ध्वस्त भएका छन् ।

तर भाग्यवश कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । त्यो चट्याङले चौधरीको घरमा तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले जानकारी दिए । आइतवार राति दाङमा मेघ गर्जनसहित भारी बर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरुमा बाढीले बितण्डा मच्चायो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको छ । वलीको २२ दिनका १ हजार चल्ला र १० बोरा दाना बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए । त्यसबाट वलीको ४ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै तुलसीपुर–घोराही सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले एउटा बोलेरो गाडी बगाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार ना ४ छ १४४६ नम्बरको उक्त बोलेरो गाडी बगाउँदा ३ हजार कुखुराका चल्ला मरेर नष्ट भएका छन् । गाडी विहान साढे ६ बजेतिर बगाएको डिएसपी खड्काले बताए ।
बाढीले बगाउ“दै गरेका व्यक्तिको उद्धार

दाङमा बाढीले बगाउँदै गरेका एक व्यक्तिको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी रेशम नेपालीलाई चौखाखोलाको बाढीले बगाउँदै गर्दा स्थानीय र प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए । प्रहरी निरीक्षक पालका अनुसार उद्धार गरिएका नेपालीको अवस्थामा भने गम्भीर छ ।

नेपालीको टाउको र चिबुमा गहिरो चोट रहेको प्रहरीले बताएको छ । हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पालले जानकारी दिए । घर नजिकैको चौखाखोला तर्ने क्रममा त्यसमा आएको बाढीले नेपालीलाई बगाएर करिब एक किलोमटर टाढासम्म पु¥याएको थियो । त्यही क्रममा स्थानीयबासी र प्रहरीले मिलेर उनको उद्धार गरेको प्रहरी निरीक्षक पालले बताए । सोमवार बेलुका सवा ८ बजेतिर खोलामा आएको बाढीले बगाउँदै गरेका नेपालीको उद्धार भएको थियो ।

बर्षाले घर भत्किए सोमवार राति अबिरल बर्षाका कारण तुलसीपुरमा क्षेत्रमा विभिन्न व्यक्तिका घर धप्किएका छन् भने केहीका घरहरु डुवानमा परेका छन् । तुलसीपुर ३ हडेबाँस निवासी ३४ बर्षीय गोपालजञ्ग वलीको कच्ची घर भत्किएको छ । मानवीय क्षति नभए पनि अहिले त्यहाँ स्थानीय र प्रहरीले उद्धार जारी राखेको प्रहरीले बताएको छ । त्यस्तै तुलसीपुर–१६ लक्ष्मीपुर निवासी ४२ बर्षीय मोतीलाल चौधरीको घरभित्र पानी पसेको छ ।

पानीले गर्दा लत्ता–कपडा तथा खाद्यान्न भिजेर नोक्सान भएको प्रहरीले बताएको छ । त्यस्तै तुलसीपुर–१६ गणेशपुर निवासी ३८ बर्षीय सञ्जु पुनमगरको चारकोठे पक्की घरमा पानी पसेको छ । पानीले लत्ता–कपडा र खाद्यान्न भिजेको छ । त्यस्तै तुलसीपुर–१६ लक्ष्मीपुर निवासी ३३ बर्षीय केशव खत्रीको घरमा पनि पानी पसेको प्रहरीले जानकारी दिएको छ ।

आइसोलेटेड बर्षातः मौसम कार्यालय

यसैबीच मौसम तथा जलवायु विज्ञान विभागले यसलाई आइसोलेटेड बर्षात भनेको छ । बेलझुण्डीमा आइतवार राति तीन घण्टाको अवधिमा ६९.६ मिलिमिटर बर्षात भएको रेकर्ड मौसम कार्यालयले मापन गरेको छ ।

यसबीचमा गड्याङ–गुडुङ र चट्याङसमेत पर्न सक्ने कार्यालयको अनुमान छ । सोमवार राति पनि बेलझुण्डीमा नभएर आसपासका क्षेत्रमा फेरि भारी बर्षात हुनसक्ने मौसम कार्यालयले जनाएको छ ।

‘यो विशेष बर्षात होइन, मनसुनको अन्तमा पनि केही स्थानमा मनसुन सक्रिय हुनसक्छ’, मौसम तथा जलवायु विभागका मौसम पूर्वानुमानकर्ता गंगा नगरकोटीले गोरक्षलाई फोनमा बताइन् । सामान्यतया सेप्टेम्बर अन्तसम्म मनसुन सक्रिय रहने भन्दै गंगाले अझै पनि केही दिन स्थान विशेषमा भारी बर्षातको सम्भावना हुने पनि उनको अभिव्यक्ति थियो ।