न माक्स,न सेनिटाइजर
बालाराम खड्का
तुलसीपुर, २८ भदौ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरसम्म पुगेको भन्दै जिल्लामा लकडाउन गरिएको छ । तर समुदायस्तरमा भने त्यसको कुनै पालना गरिएको छैन् ।
समुदायमा नत सामाजिक दूरी कायम छ नत सुरक्षाका उपायहरु अपनाइएको छ । लकडाउन बजारका चोक–चोकमा मात्र कार्यान्वयन भएको छ । गाउँघरमा भने स्वास्थ्य सुरक्षाको बारेमा कुनै चेतना नै नभएको जस्तो अवस्था छ । नत कसैको मुखमा सुरक्षाका लागि माक्स छ नत सेनिटाइजर प्रयोग हुने गरेको छ ।
‘गाउँमा स्वास्थ्य संवेदनशीलतालाई हेलचक्र्याइँ गरिएको छ, माक्स गोजीमा हुन्छ, नत सामाजिक दूरी कायम हुन्छ’, स्थानीय चित्रबहादुर केसीले भने । उनले घर परिवारदेखि समुदायस्तरमा समेत सबै सचेत हुनुपर्नेमा अझै पनि त्यो हुन नसकेको बताए ।
गाउँ–गाउँमा विभिन्न संस्कृतिसँग जोडिएका कार्यहरु पनि भइरहेका छन् । अहिले सोह्रश्राद्ध चलिएका छन् । स्वास्थ्यका दृष्टिकोणले सकेसम्म श्राद्ध भर्चुअल विधिबाट गर्न आह्वान गर्दासमेत त्यसको कार्यान्वयन हुन सकेको छैन् । स्वयं पण्डितनै उपस्थित भएर श्राद्ध सम्पन्न भएका छन् ।
त्यस्तै श्राद्धदेखि गाउँमा हुने हरेक कार्यमा समेत आफ्ना आफन्तको सहभागिता हुने गरेको छ । चाहे त्यो जन्म दिन होस् वा विवाह व्रतवन्धनमा समेत जमघट हुने गरेको छ । यसले पनि संक्रमणको खतरा कायमै रहेको जानकारहरु बताउँछन् ।
‘कोरोना कोसँग छ भन्ने थाहा छैन, यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गर्नुपर्छ तर त्यो यहाँ कमजोरी छ’, स्थानीय छवि डाँगीले भने । उनले बजारमा सुनसान भए पनि गाउँघरमा भने त्यो नदेखिएको बताए । आफ्नो सुरक्षा आफै गर्नुपर्छ र मास्क सेनिटाइजरलगायतका सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्छ भन्ने सबैले बुझ्नुपर्ने भए पनि सो हुन सकेको छैन् ।
गाउँघरमा लकडाउनको पालना हुन नसक्दा संक्रमण फैलने जोखिम उत्तिकै रहेको बताइएको छ । गाउँघरमा अनावश्यक जमघट तथा आफ्ना आफन्तहरुसँगको भेटघाट भने चलिरहेको छ । त्यस्तै लकडाउनमा सञ्चालन भएको कार्यालयहरुमा पनि भने जस्तो स्वास्थ्य सुरक्षा नउपनाउँदा कोरोनाको जोखिम कायमै रहेको बताएको छ ।
‘कार्यालयहरुमा पनि स्वास्थ्य सजकता अपनाएको छैन चाहे सरकारी होस् वा निजी तथा संस्थान’, सेवाग्राहीहरु बताउँछन् । कुनै कार्यलयमा त हात धुने सावुन पनि नभएको देखिएको छ ।
तर केही कार्यालय र संस्थाहरुले भने ज्वरो नाप्नुका साथै स्वास्थ्य सतर्कताका लागि सबै विधिहरु अपनाएका छन् । कोरोनाको जोखिमबाट बच्न र बचाउन स्वयं आफै स्वास्थ्यसम्वन्धी मापदण्ड अपनाउनुपर्ने हुन्छ ।
