Goraksha

National Daily

ग्रामीण क्षेत्रमा प्रभावकारी छैन अनलाइन कक्षा

रेशम खड्का
दाङ, २८ भदौ । नेपाल सरकारले पछिल्लो समयमा अनलाइन कक्षालाई बैधानिकता दिँदै विद्यार्र्थीहरुबाट पनि शुल्क लिन पाउनेगरी शैक्षिक सत्र सुचारु गर्न निर्देशिका जारी गरेको छ ।

त्यसैअनुरुप संस्थागत एवं सामुदायिक विद्यालयहरुले समेत अनलाइन कक्षाको अभ्यास विधिवतरुपमा सञ्चालनको तयारी गरिरहेका छन् । तर विद्यार्थीहरुले अनलाइन कक्षाका लागि आवश्यक नेटवर्क कसरी स्थापित गर्ने, डाटा प्याकेज कसरी लिने तथा वाइफाइ सेवा लिएकाहरुलाई विद्युत कटौतीका समयमा कसरी सहभागी हुनेलगायतका समस्यामा भने सरकार बोलेको छैन ।

सूचना प्रविधिको पहुँच दूरसञ्चारले सबै ग्रामीण इलाकामा पुराएको अवस्थामा पनि विद्युत सेवा भने निकै अनियमित छ । दाङकै सन्दर्भमा भन्ने हो भने दैनिक कम्तीमा १० पटक विद्युत सेवा अवरुद्ध नभएको अवस्था कहीँ पनि छैन । के कारणले विद्युत सेवा कटौती हुन्छ भन्ने सवालमा विद्युत कार्यालयका अधिकारीले तथानाम अभिव्यक्ति दिँदै आएका छन् । सडक किनारामा बाँसको रुख बढेको बहाना होस् वा झिंगटको रुख काट्ने बहानामा दैनिक जसो विद्युत सेवा अवरुद्ध भइरहेको छ ।

विद्युत सेवा र दूर सञ्चारको नियमित सेवा विना अनलाइन कक्षा सम्भव छैन ।
‘अस्तिको कक्षामा २७ जना सहभागी थियौं, हिजो घटेर २० जना थियौं, आज म आफै विद्युत नभएका कारण अनलाइन कक्षामा सहभागी हुनै सकिन’, पव्लिक ज्ञानज्योतिका ११ कक्षाका विद्यार्थी सक्षम रिजालले भने । विद्युत सेवा नियमित नभएसम्मका लागि सबै विद्यार्थीहरु अनलाइन कक्षामा जोडिन असहज भएको पनि उनको अभिव्यक्ति थियो ।

अनलाइन कक्षालाई बैधानिक बनाउने सरकारको प्रयास हो भने दूरसञ्चार कम्पनीले पनि विद्यार्थीहरुका लागि फ्रि डाटा प्याकेज ल्याउनुपर्ने उनको तर्क थियो । विद्युत सेवामा पैसा, डाटा प्याकेजमा पनि पैसा सबै विद्यार्थीका अभिभावकले धान्न नसक्ने अवस्था छ । यो अवस्था दाङमा मात्रै छैन । मुलुकका सबै क्षेत्रमा पनि रहेको छ ।

अनलाइन समाचारका अनुसार ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ ।

जिल्लाको मध्यविन्दु–३, ब्रह्मस्थान घर भएर चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अजिता पोखरेलले आफूहरु अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताइन् । ‘कोरोना संक्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन गरेपछि म घरमा आएर बसेकी छु, यहाँ फोन गर्नका लागि त नेपाल टेलिकमको मोबाइलमा राम्रोसँग नेटवर्क आउँदैन’, उनले भनिन्– ‘यस्तो ठाउँमा अनलाइन शिक्षा कसरी प्रभावकारी हुन्छ ?’ त्यसो त रोल्पा, रुकुम र प्यूठानमा पनि अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन ।

पढ्ने विद्यार्थीलाई मात्र होइन पढाउने शिक्षकलाई समेत विद्युत सेवाले प्रभाव पारिरहेको छ । नेपालका विभिन्न जिल्लामा कुन बेला बत्ती जान्छ र कुन बेला आउँछ भन्ने जानकारी विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई पनि आधिकारिक जानकारी छैन । सूचना प्रविधिको चरम विकास भएको अवस्थामा पनि विद्युत सेवामा निर्धक्क हुने कुनै पनि अवस्था छैन । सरकारको भिजन एउटा हुन्छ, तर विद्युत प्राधिकरण भने आफ्नै समस्यामा रुमल्लिइरहेको देखिन्छ ।

दाङकै अवस्थामा पनि विद्युत सेवा नियमित हुन आकाशको फल जस्तै भएको छ । घोराही क्षेत्रलाई झिंग्नीको सवस्टेशनले धान्ने तथा तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रलाई पञ्चकुले सवस्टेशनले धान्ने गरी हाइटेन्सन लाइन विस्तार समेत भएको छ ।

एकातर्फको विद्युत सेवा अवरुद्ध भएमा अर्कोतर्फको विद्युतले मेकअप गर्ने विद्युत प्राधिकरणका तात्कालीन सिइओ कुलमान घिसिङले पञ्चकुले सवस्टेशन उद्घाटनका क्रममा भनेका थिए । विद्युत खपत बढाउन समेत उनले उपभोक्तालाई आग्रह गरेका थिए ।

तर यहाँका घोराही र तुलसीपुर विद्युत कार्यालयहरुले भने नियमित विद्युतसेवा होइन, यो र त्यो बहानामा जनतालाई विद्युत सेवा विमुख बनाउँदै आएका छन् । रुख काट्ने ठेकेदारले केही समयका लागि सटडाउन लिएपछि विद्युतका कर्मचारीले वास्तै गर्दैनन् ।

ठेकेदारले लाइन नमाग्दासम्म विद्युत कार्यालय निदाएर बसेको अवस्था देखिन्छ । सरकारका सबै निकायको समन्वय नै नहुँदा कसरी चल्ला अनलाइन कक्षा ?