रगैजामा अस्थायी प्रहरी विट
दाङ, २८ भदौ ।शान्तिनगर गाउँपालिका वडा नं. ५ मा रगैंजा बजारमा अस्थायी प्रहरी बिट स्थापना
गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा, जनप्रतिधि, बुद्धिजीवी तथा समाजसेवीको पहलमा रगैँजा बजारमा अस्थायी प्रहरी बिट स्थापना गरिएको हो ।
पछिल्लो समय रगैँजा बजार तीव्र गतिमा बजारको रुपमा विस्तार हुँदै गएको र विभिन्न किसिमका होहल्ला, अशान्ति, चोरी, डकैटीजस्ता घटना बढ्न थालेपछि अस्थायी प्रहरी विटको स्थापना गरिएको हो ।
रगैँजामा अस्थायी प्रहरी विटको स्थापना भएपछि साविक धनौरी गाविसका सम्पूर्ण गाउँ टोल सुरक्षाको दृष्टिकोण सुरक्षित हुने अपेक्षा गरिएको छ । साविक धनौरी गाविस अहिलेसम्म सुरक्षाबाट पछाडि परेको थियो ।
पटक–पटक ईलाका प्रहरी कार्यालय खिलतपुरमा अस्थायी प्रहरी विटको माग गरेर रगैजामा प्रहरी विट स्थापना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्रराज शर्माले बताए । साविक धनौरी गाविसका कुनै ठाउँमा पनि सुरक्षा निकाय नहुँदा उद्योगी, व्यवसायी तथा स्थानीयहरु सुरक्षा दृष्टिकोणले विभिन्न समस्या झेल्दै आएकाले सबैको साथ र सहयोग कारण प्रहरी विट स्थापना भएको अध्यक्ष शर्माको भनाइ रहेको छ ।
उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, बुद्धिजीवीहरुले लिखितरुपमा ज्ञापन–पत्रसहित अस्थायी प्रहरी विटको माग गरेको हुँदा तत्काल दैनिक २ जनाका प्रहरी जवान खटाएको इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए । रगैँजा बजारमा धेरै पटक विभिन्न घटना
घटेको र माग जायज भएकाले अस्थायी प्रहरी विट स्थापना गरेको प्रहरी निरीक्षक केसीको भनाइ रहेको छ ।
विटका लागि शान्तिनगर गाउँपालिका वडा नं. ५ ले सहयोग गरेको छ । करिब १ लाख २ हजारको लगानीमा विट निर्माण गरेको वडा अध्यक्ष गिरिराज बस्नेतले बताए । सबैको मागअनुसार र प्रहरी विट स्थापना गर्न अनिवार्य आवश्यक भएकाले वडाले बिट सहयोग गरेको वडा अध्यक्ष बस्नेत बताउँछन् ।
