Goraksha

National Daily

नारायणपुरमा ‘रेडलेडी’ मेवा

राजेश खत्री
नारायणपुर, २६ भदौ । दाङको नारायणपुरमा ५ नम्वर प्रदेशकै सबैभन्दा ठूलो मेवा खेती गरिएको छ । विदेशबाट बीउ आयात गरी रेडलेडी प्रजातिको व्यावसायिक मेवा खेती सम्भवत जिल्लाकै पहिलो व्यावसायिक खेती हो ।

शिद्धरत्ननाथ मावि नारायणपुरको अढाई बिगाहा जग्गा बार्षिक ४५ हजार तिर्ने गरी लिजमा लिएर दुईजना युवा मिलेर यो मेवा खेती गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पुर्खेउली घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १५ मा समेत बसोबास गर्दै आएका ४६ बर्षे अधिबक्ता कुलबहादुर डाँगी र ४० बर्षे शिक्षक तुलसीराम केसीले मिलेर यहाँ मेवा खेती गरेका हुन् ।

अधिबक्ता डाँगीले समाजशास्त्रमा र केसीले जनसंख्यामा मास्टर्स पनि गरेका छन् । अधिबक्ता डाँगीले १५ बर्षसम्म सरकारी जागिर समेत खाएका थिए । तीनै उच्च शिक्षा हासिल गरेका दुईजना युवाहरु मिलेर यो मेवा खेती गरेका हुन् । उनीहरुले मेवा खेती गर्नुपूर्व उक्त स्थान नांगो डाँडा थियो ।

जुन जग्गामा उनीहरुले रेडलेडी जातको ३ हजार बढी मेवाको बोटहरु हुर्काएका छन् । उनीहरुले लगाएको मेवा ७ महिलापछि फल्न शुरु गरेको थियो । अहिले लटरम्म फलेको छ । उनीहरुले प्रतिकेजी ५० रुपैयाँका दरले त्यो बिक्री गर्दै आएका छन् । एउटा बोटमा कम्तीमा पनि ३० देखि ४० केजीसम्म फल लागेको छ ।

एउटा मेवाको फल तौल गर्दा घटीमा आधा किलो र बढीमा साढे दुई किलोसम्मको छ । हालसम्म दुई जनाको मिलाएर करिब २४ लाख खर्च भएको उनीहरुले बताए । ‘रेडलेडी’ मेवाको जातहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ । ताइवानबाट बीउ मगाएर उनीहरुले यहाँ बेर्ना हुर्काएर रोपका हुन् ।

काठमाडौंबाट एक सय ग्राम बीउको एक लाखमा किनेर ल्याएको अधिबक्ता डाँगीले फरक कोणलाई बताए । ‘रेडलेडी’ जातको मेवाको बीउलाई एक किलोको १० लाख पर्ने गरेको उनले बताए । मेवामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । मेवा उष्ण प्रदेशमा राम्रोसँग फल्ने गर्छ ।

दाङको वातावरण मेवा खेतीको लागि उपयुक्त छ । यो ३५ डिग्री सेल्सियससम्मको तापक्रम भएको ठाउँमा लगाउनु उचित मानिन्छ । मेवा एकपटक रोपेपछि ४ बर्षसम्म निरन्तर फल दिने जानकारहरु बताउँछन् । रेडलेडी जातको मेवाको विरुवा लगाउँदा प्रतिबोट अढाई मिटरको बीचमा लगाउनुपर्छ । यो मेवा करिब ४ फिटदेखि ६ फिटसम्म अग्लो हुन्छ । यसले ४ देखि ८ महिनामा फल दिन शुरु गर्छ ।