Goraksha

National Daily

असोज १ गतेदेखि सबै स्थानमा यातायात सेवा

गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

व्यवसायीहरुले विश्वकर्मा पूजाको दिन पारेर असोज १ गतेदेखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेको त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । उनले मंगलवार नै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै विश्वकर्मा पूजाको दिनदेखि यातायातका साधन चलाउने घोषणा गरेका थिए ।

राजधानीमा बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयुक्त बैठकमा पनि सोही निर्णय भएको छ । सरकारले यातायात खुलाउन सहजीकरण नगरे भदौ १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्ने राय व्यवसायी र मजदुर संगठनले गरेको हमालले बताएका छन् ।

सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनलाई निषेध गरेको भन्दै हमालले असन्तुष्टि पनि पोखेका छन् । उनले के निजी सवारी साधनले कोरोना भाइरसको संक्रमण सार्दैनन् ? भन्ने आशयको प्रश्न पनि गरेका छन् । हमाल नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार पनि हुन ।

सरकारले यसअघि साउन १६ गतेबाट लामो दूरीका सवारी साधन समेत सञ्चालन गर्ने निर्णय गरे पनि पछि त्यो अवधि लम्बाएर भदौ मसान्तसम्म पु¥याएको थियो । नेपालमा गत चैत ११ गते लकडाउन शुरु भएसँगै लामो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

साउन ७ गते लकडाउन अन्त्य भएसँगै छोटा दूरीका सवारी साधन भने सञ्चालमा आएका थिए । तर फेरि संक्रमण ह्वात्तै बढेपछि त्यो पनि रोकिएको छ ।