स्थानीय पालिकाले निःशुल्क यातायात सेवा रोक्दा, डायलायसिस सेवा लिन समस्या
शिवराज खनाल
लमही, २६ भदौ । देउखुरीको लमहीस्थित डायलासिस सेन्टरले सेवा दिन थालेको ६ महिना पुग्यो । तर सेवा शुरु भएलगत्तै भएको लकडाउन र बन्दाबन्दीले हेमोडायलासिस सेवा लिनुपर्ने मृगौला रोगीहरुलाई यातायातकै समस्या परेको छ ।
कहिले लकडाउन त कहिले स्थानीय यातायात चल्ने भएको अवस्थामा स्थानीय पालिकाहरुले व्यवस्थापन गरिदिएको मृगौला रोगीहरुका लागि निःशुल्क यातायात सेवासमेत बन्द भएपछि बिरामीहरु यातायातको समस्यामा परेका हुन् ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि निःशुल्क हेमोडायलासिस सेवा शुरु भए पनि यहाँका मृगौला रोगीहरुका लागि पर्याप्त नभएपछि कम्तीमा २५ जना मृगौला रोगीहरु नियमित हेमोडायलासिस सेवा लिनका लागि देउखुरीको लमही डायलासिस केन्द्र जाने गरेका थिए ।
लकडाउन शुरु भएसँगै घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको व्यक्तिगत लगानीमा स्थानीय बिरामीहरुलाई लमहीसम्म डायलासिस सेवा लिन जाने आउने व्यवस्थाका लागि निःशुल्क बससमेत व्यवस्था गरेको थियो । त्यो सेवा दुधराससम्मका विरामीले पाएका थिए ।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले समेत संस्थागतरुपमा निःशुल्क बस सेवा उपलव्ध गराएको थियो । तर लकडाउन खुलेसँगै स्थानीय रुटमा बस सेवा सञ्चालन भएपछि घोराहीका वडाध्यक्ष पाण्डे र तुलसीपुर उपमहानगरपालिका दुवैले निःशुल्क बस सेवा उपलव्ध गराउन छाडेपछि बिरामी समस्यामा परेका हुन् ।
‘हाम्रो अपेक्षा भनेको स्थानीय पालिकाले सम्बन्धित पालिकाका बिरामीलाई निःशुल्क यातायात सेवा उपलव्ध गराउन सके हुन्थ्यो भन्ने मात्र हो, किनकि बिरामीलाई निःशुल्क डायलासिस सेवा लिन आउन–जान अहिले समस्या भएको छ’, केन्द्रका संयोजक तथा रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले भने ।
यातायात सेवाका अभावमा बिरामीहरुले कहिले एम्वुलेन्स त कहिले चर्को भाडामा निजी गाडी रिजर्भ गरेर डायलासिस सेवा लिन आउन बाध्य हुनुपरेको पनि उनको अभिव्यक्ति थियो ।
लकडाउनसँगै केही बिरामी अन्यत्र पलायन भएको पनि उनले दावी गरे । ‘चर्को बन्दाबन्दीपछि कम्तीमा आधा दर्जन नियमित डायलासिस गराइरहनुभएका बिरामी पनि लामो समयदेखि सम्पर्कमा आउनुभएको छैन’, अध्यक्ष आचार्यले भने ।
अझै पनि डायलासिस केन्द्रमा पर्याप्त डायलासिस क्षमता छ । अहिले केन्द्रमा ५० जनाले सेवा लिइरहेका छन् । दुई सिफ्टमा डायलासिस सेवा सञ्चालनमा आएको छ । ‘बिरामीको संख्या ६० जनाभन्दा बढी पुगेमा दैनिक ३ सिफ्टमा सेवा सञ्चालन गर्ने तयारीमा छौं, हाम्रो क्षमता ९० जनासम्मलाई नियमित डायलासिस सेवा दिने हो’, आचार्यले भने ।
लमहीमा हाल राप्ती अञ्चलका दाङ, सल्यान, प्यूठानलगायतका जिल्लाबाट समेत डायलासिसका लागि आउने गरेका छन् । केही बर्ष अघिसम्म केही सरकारी संस्थामा मात्र निःशुल्क डायलासिस सेवा हुँदा नियमित सेवाको अभावमा धेरै मृगौला रोगीहरुको अकालमै ज्यान जाने समेत गरेको थियो ।
शुल्क तिरेर डायलासिस गर्न एकपटकमै कम्तीमा १० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको थियो । सातामा कम्तीमा पनि दुईपटक यो सेवा अनिवार्य थियो । पछि कांग्रेस नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री गगन थापाले सबै सरकारी अस्पतालमा निःशुल्क हेमोडायलासिस सेवा शुरु गरेपछि हरेक जिल्लामा यो सेवा सहज भएको थियो ।
वि.सं. २०७६ माघ २२ गतेदेखि ४ जना बिरामीहरुलाई सेवा दिएर सञ्चालनमा आएको डायलासिस सेन्टरमा अहिले नियमित ५० जना मृगौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् ।
दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम बाँके, बर्दियालगायतका जिल्लाबाट समेत लमहीमा डायलासिस गराउन आउँछन् । जसले गर्दा अहिले डायलासिस सेन्टरमा बिरामीको संख्या बढिरहेको डाइलासिस सेन्टरका सञ्चालकहरु बताउँछन् ।
देउखुरीमै डायलासिस सेन्टर खुलेपछि बुटवल, भैरहवा, नेपालगञ्जसम्म जाने बाध्यता हटेकोमा बिरामीहरु खुसी ब्यक्त गर्छन् । लमहीमा डायलासिस गराउने बिरामीहरु सबै न्यून आर्थिक स्थितिका छन् । लकडाउनको समयमा आउ–जाउ गर्न समस्या परेको र बिरामीले खर्च धान्न सक्ने स्थिति पनि नरहेकाले अस्पतालले जनाएको छ ।
बन्दाबन्दीको समयमा बिरामीका लागि देउखुरी उद्योग बाणिज्य संघले आफ्नो भवन नै उपलब्ध गराएको छ भने राशन–पानीका लागि स्थानीय व्यक्ति तथा संघसंस्थाले सहयोग गर्दै आइरहेको रोटरी क्लब अफ लमहीका सचिव केशव घिमिरेले बताउँछन् । तर यसको निरन्तरता कतिसम्म हुने हो भन्नेमा केन्द्र ढुक्क हुने अवस्था छैन ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा डायलासिस सेन्टर स्थापना गरिएको हो । यसअघि दाङको तुलसीपुरस्थित प्रादेशिक अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई÷दुई वटा डायलासिस मेसिन थिए ।
तर, बिरामीको चाप बढेसँगै ती मेसिनले मात्र पर्याप्त सेवा दिन नसकेपछि देउखुरीको लमहीमा रहेको डाइलासिस सेन्टरमा बिरामीको चाप बढ्दै गइरहेको रोटरी कल्ब अफ देउखुरीले बताएको छ । कोरोना जोखिम बढेसँगै घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सेवा दिँदै आइरहेको डायलासिस सेवा नै बन्द भयो ।
जसले गर्दा पनि लमहीमा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । लमहीमा १० वटा डायलासिस मेसिनसहित १ भेन्टिलेटर र १४ वटा बेड छन् । जसले गर्दा दैनिक तीन चरणमा उपचार दिनसक्ने भएपछि जिल्ला बाहिरबाट समेत सेवा लिन आउनेहरु बढेको रोटरी क्लब अफ लमहीका अध्यक्ष आचार्यले बताए ।
अन्यत्रभन्दा बढी क्षमता रहेको डायलासिस सेन्टर स्थापना गरे पनि पछिल्लो समय प्रदेश र स्थानीय सरकारको चासोमा कमी रहेको भन्दै उनले गुनासो पोखे । बिरामी बढेसँगै खर्चमा अत्यधिक बृद्धि भएको छ, सेन्टर चलाउन नै हम्मे–हम्मे परेको छ, तर यसतर्फ अहिले कसैले चासो दिनुभएन’, आचार्यले भने ।
बजेट भाषण सकियो तर डायलासिस सेन्टरका लागि कुनै किसिमको बजेट छुट्टिएको छैन । जसले गर्दा भावी योजनामा कठिनाइँको स्थिति आउन सक्ने उनको भनाइ छ ।
स्थापनाको बेला सरकार पक्षबाट उल्लेख्य सहयोग रहे पनि अहिले स्थानीय तथा प्रदेश सरकारसँग हार–गुहार गरे पनि डायलासिस सेन्टरको लागि कुनै किसिमको सुनुवाई नभएकोमा आचार्यले भने ।
