कोरोनामुक्त हुनेको संख्या बढ्दै
काठमाडौं, २६ भदौ । केही दिनयता कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो चार दिनमा कोरोना भाइरसका करिब ९ हजार संक्रमित निको भई घर फर्केका छन् ।
मंगलबार अहिलेसम्मकै सबै भन्दा धेरै २ हजार २ सय ८७ जना संक्रमित निको भई घर फर्केका छन् । दैनिक संक्रमित पुष्टि हुने संख्या औसतमा यथावत रहँदा संक्रमित निको हुने दर भने बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार भदौ १९ गते शुक्रबार देखि भदौ २३ गते पाँच दिनभित्र ८ हजार ७ सय ५७ जना संक्रमणमुक्त भई घर फर्केका हुन् । उक्त अवधिभित्र ५ हजार २ सय ६१ जना नयाँ संक्रमित पहिचान गरिएका छन् ।
संक्रमितको संख्या वृद्धि हुनु र थोरै संख्यामा मुक्त हुने हुँदा भदौ तेस्रो सातासम्म करिब ५२ प्रतिशतमा झरेको निको हुनेदर भदौ अन्तिम साताको सुरुवातसम्म ६८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६८.४८ प्रतिशत संक्रमित निको भएका छन् । ३०.८९ प्रतिशतमा संक्रमण सक्रिय छ ।
शून्य दशमलब ६४ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन् । ३ सय ६ जना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसे पनि निको हुने संख्या उल्लेख्य देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले भने बिरामीको औसत उमेर समूह, दीर्घरोगी रहे÷नरहेको तत्वमा निको हुने दर निर्भर रहेको बताए । नेपालमा हालसम्म ४८ हजार १ सय ३८ जना संक्रमित भएका छन् । जसमध्ये करिब ३७ हजार सक्रिय उमेर समूह (२१ वर्षदेखि ५० वर्ष)का छन् ।
यद्यपि नियमित चिकित्सकीय परामर्श र आइसियू, अक्सिजनको उपलब्धताले मृत्युदर घटाउनुका साथै थोरै भए पनि निको हुने दर प्रभावित हुने उनको तर्क छ । तर मन्त्रालयका प्रवक्ता डा. गौतमले भने अधिकांश होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेर निको भएकोले उपचार पद्धतिले फरक नपारेको दाबी गरे ।
‘कोभिड–१९ मा डेडिकेटेड कुनै उपचार छैन्, अधिकांश घरमै वा संस्थागत आइसोलेसनमा स्वतः कोरोनामुक्त भएका छन्’ उनले भने । तर संस्थागत आइसोलेसन सेन्टरमा बस्दा बस्दै सघन उपचार नपाएर प्रदेश २ मा कतिपय बिरामीले ज्यान गुमाएका छन् ।
जनस्वास्थ्यविद् डा. पाण्डेले एक जनाको ज्यान पनि महत्वपूर्ण हुने हुनाले आइसोलेसन सेन्टर र अस्पताल दुबैमा नियमित चिकित्सकीय परामर्श, अक्सिजन, आइसियू र भेन्टिलेटरको सुविधा हुनुपर्ने तर्क गर्दछन् । संक्रमितले आइसोलेसन सेन्टरमा चिकित्सकीय सुविधा समयमै उपलब्ध नभएको गुनासो गर्दै आएका छन् ।
काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसन (अस्पताल) मा बस्ने बढी छन् । संक्रमण नियन्त्रणमा आइसकेको छैन् । निको हुने दर बढे पनि संक्रमण अस्थिर देखिएको छ । जसले गर्दा निको हुने दर बढे पनि बृद्ध संक्रमित बढेसँगै मृत्युदर बढ्न सक्ने जनस्वास्थ्यविद् डा. पाण्डेले बताए । यस्तो अवस्थामा देशैभरिको अस्पताल र आइसोलेसन सेन्टरमा चिकित्सकीय सुविधा र परामर्श महत्वपूर्ण हुन जाने उनले आवश्यकता औंल्याए ।
