अहिले कोरोना भाइरसका कारण विश्व समुदायक आक्रान्त बनेको छ । यसबाट नेपाल पनि अछूतो छैन । कोरोनाका कारण करिब ६ महिनादेखि शैक्षिक संस्था, लामो दूरीका सवारी साधनहरु चल्नसकेका छैनन् भने उद्योग, व्यवसायलगायतका क्षेत्रहरू पनि नियमित हुन सकिरहेका छैनन् । झनपछि झन कोरोनाको त्रास बढ्दै छ । यो अवस्थामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुनुपर्ने हो । तर, स्रोतको अभाव, समाजिक दूरी कायम गरेर काम गर्नुपर्ने अवस्थालगायतका कारणले पनि अपेक्षा गरेवमोजिम संघसंस्थाहरूले काम गर्न नसकेको टिप्पणी हुने गरेको छ । कोरोनाको कहरकाबीच पनि घोराहीमा रहेको सीसा नेपाल संस्थाले भने कोरोनासम्बन्धी सचेतना कार्यक्रससँगै आइसोलेशनमा बसेका र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नेलगायतका कामहरू गरेको देखिएको छ । साथै संस्थाले अन्य सचेतनामूलक कार्यक्रम समेत गरिरहेको जनाएको छ । यस्तो जोखिमको समयमा पनि संस्थाले कसरी काम गरिरहेको छ भन्ने जान्न गोरक्षकर्मी लिलाधर वलीले संस्थाका अध्यक्ष साजिदा सिद्दिकीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको त्रासकाबीच कसरी काम गर्दै हुनुहुन्छ ?
विश्व अहिले कोभिड–१९ को कहरमा फसिरहेको छ । अचम्मको भाइरस, जसले नपताउँदो तरिकाले मानिसलाई अट्याक गरिरहेको छ, यसले सबैलाई त्रासकाबीचमा बाँच्न वाध्य पारिहरको छ । कुनै पनि मानिस कोरोनाको जोखिममा परेको छ वा छैन थाहा छैन ।
केही संकेत देखिएको छ तर ती संकेतहरु पनि सामान्य छ । जस्तो : ज्वरो १००.४० भन्दा बढी आउनु, स्वासप्रश्वास अत्यधिक हुनु, रुघाखोकी लाग्नु यी कोभिड–१९ का लक्षणहरु हुन् । यसका वावजुद पनि संक्रमणबाट जोगिएर काम गर्नु आफैमा चुनौतीपूर्ण काम हो ।
हामीले यस्तो समयमा आफूलाई सुरक्षित राख्दै र समुदायलाई सुरक्षित रहन आग्रह गर्दै काम गर्दै आएका छौँ । राहत वितरणदेखि संक्रमणबाट सुरक्षित रहने सचेतनालाई हामीले अहिले विशेष जोड दिइरहेका छौँ ।
जनतालाई कोरोना भाइरसको जोखिमको समयमा सचेतना जगाउने काम गरेको भन्नुभयो, कस्ता कामहरू गर्नुभयो ?
सन् २०१९को अन्त्यदेखि हाम्रो देशमा पनि कोरोनाको जोखिम देखियो । तत्काल कोरोनाको कारण मानवीय क्षति त भएन तर कोरोनाको जोखिम बढेपछी २०७६ चैत्र महिनाको ११ गतेदेखि कोरोनाका कारण हाम्रो देशमा पनि लकडाउन सुरु भयो । त्यसपछि मात्र दाङका केही क्षेत्रमा सचेतानामूलक कार्यहरु अलि व्यापक गरियो ।

जस्तै : हरेक क्षेत्र सिल भयो, भारतलगायत फरेनकन्ट्रीबाट आउनेहरुलाई राज्यले म्यानेज गरेन । त्यही बेला म स्वयम् फिल्डमा खटिए र दाङमा सचेतनामूलक कार्यक्रमहरु गरियो । त्यसमा पनि फोन, इमेल, फेसबुक, ह्वाट्सब, भाइवर तथा जुम मिटिङबाट कोरोनाको बारे आफूले पनि बुझे र अरुलाई पनि सम्झाउने प्रयास गरेँ । केही स्वास्थ्य सामग्रीहरु पनि सहायोग गरियो ।
यो समयमा तपाईं कुन–कुन संरचनामा संलग्न भएर काम गर्नुभयो ?
म स्वयम् सीसा नेपालको केन्द्रीय अध्यक्ष छु । हाल मानवअधिकार आयोगको तर्फबाट गठित कोभिड जिल्ला अनुगमन सदस्य छु, मुस्लिम आयोगको कोभिड अनुगमनको दाङ तथा प्यूठानको जिल्ला संयोजकका रुपमा काम गर्दैछु र जिल्ला प्रशासन दाङका केही समितिहरुमा रहेको हुँदा कोभिड रोकथामाका विषयमा काम गरिरहेको छु ।
सचेतनामूलक काम, कोभिडबाट बच्ने उपायका बारेमा जानकारी जनहितमा जारी सन्देश नेपाल सरकारको स्रोतमा रहेर सचेतना तथा क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामग्री सहयोग गर्ने काम हामीले गरेका छौँ । जस्तै कोरोनाबाट बच्नका लागि बेला–बेलामा साबुन–पानीले मिचिमिची हात धुने, पटक–पटक हातले आँखा, नाक र मुखमा नछुने, ज्वरो, खोकी लागेको व्यक्तिबाट टाढा बस्ने, खोक्दा, हाच्छ्यु गर्दा नाकमुख पेपर वा कुहिनाले छोप्ने, सेनिटाइजरको प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी आवश्यक सेवाको लागि अत्यावश्यक नम्बर जस्तैः अस्पताल, कोभिड–१९ सहायता नम्बर लिने, मनोसामाजिक परामर्शदाताको नम्बर लिने र भीडभाडमा नजानेलगायतका कुराहरु क्वारेन्टाइनमा बसेका तथा सर्वसाधारण नागरिकलाई सचेत बनाउने काम गरेका छौँ ।
यसैगरी होमआइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु, जस्तै हावा तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा एकलै बस्ने, संक्रमण अवधिभर बाहिर ननिस्कने, नियमित रुपमा आफ्नो हात साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची धुने, सेनिटाइजर प्रयोग गर्ने, दाँत माझ्ने ब्रस, मन्जन, साबुन, स्याम्पु, टबेललगायतका सामानहरु आफ्नो छुटै प्रयोग गर्ने, धेरै प्रयोग हुने चीजहरु जस्तै ढोकाका ह्याण्डल, टेबल तथा अन्य सामग्रीहरु फिनायल, लाइजोलजस्ता डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित रुपमा सफा गर्ने जस्ता दैनिक गरिने कार्यहरु किसाएका छौँ ।
त्यस्तै छुट्टै शौचालय प्रयोग गर्ने, आफूले प्रयोग गरेका सामानहरु अरुलाई प्रयोग गर्न नदिने, आफ्नो कोठा आफैले सफा गर्ने, घर बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्ने, खोक्दा वा हाच्छ्यु गर्दा मुख छोप्ने, आफूले प्रयोग गरेका रुमाल, मास्कलागायतका सामानलाई छुट्टै ढक्कन सहितको डस्विनमा फ्याँक्ने र तुरुन्तै सावुनपानीले हात धुनेलगायतका कुरा सिकाउने काम समेत गरेका छौँ ।
क्वारेन्टाइन अनुगमनका क्रममा के पाउनुभयो, त्यहाँको व्यवस्थापन र उनीहरुको बसाईमा ?
यो बीचमा निकै फिल्डमा खटिएको छु । लगभग जिल्लाका धेरै क्षेत्रमा गएँ । ठिकै रह्यो, अब घर जस्तो काहाँ हुन्छ र ? राज्यले स्कूलमा क्वारेन्टाइनहरुको व्यवस्थापन गरेको पाइयो । देशभन्दा बाहीरबाट आएका सदस्यहरुले आफूले पनि म्यानेज गर्नुभयो ।
र, केही व्याक्तिहरुले ‘हामी क्वारेन्टाइनमा बसेर घर जान्छौँ, हाम्रो कारणले गर्दा परिवार र समाजका व्यक्तिहरुमा केही समस्या नपरोस्’ भनेको सुन्दा मलाई निकै गर्व लाग्ने गरेको छ । अब त मानिसहरु सचेत हुनुहुँदोरहेछ भन्ने लाग्यो । कोही–कोहीले चाहिँ ‘यो सरकारले हामीलाई निकै दुःख दियो’ भनेर गुनासो समेत गर्नुभएको थियो । उहाँहरुलाई सम्झाएका पनि थियौँ हामीले ।
सीसा सस्थाले अहिले के–के काम गर्दै आएको छ ?
संस्थाले विभिन्न प्रकारका काम गर्दै आएको छ । अहिलेको विषम परिस्थितिमा पनि हामीले मुस्लिम समुदायको मस्जिद, मदरसा अनुगमन गर्ने, सीसा नेपालको आन्तरिक पलानबाट राशन, कपडा र स्वास्थ्य सामग्रीहरु बाँडिरहेका छौँ ।
घोराही उपमाहानगरपालिकाको शिक्षा तथा युवा शाखाको सहयोमा कोभिड–१९ को विश्वव्यापी महामारीमा बालबालिकाको सम्पूर्ण विकासका लागि रेडियो कार्यक्रम फुर्सदमा बालबालिकाको लागि कुराबारे रेडियो कार्यक्रमको म स्वयम् प्रस्तोता भएर सञ्चालन गरेको थिएँ । अष्ट्रेलिया सरकार, कारितास अष्टे«लिया तथा कारितास नेपालको आर्थिक सहयोगमा सीसा नेपालको आयोजनामा क्वारेन्टाइन, आइसोलेशन, केही समुुदायका मानिसहरुलाई डिगिनिटी–किट तथा हाइजेनिक किटहरु सपोर्ट गरियो ।
जुन किटमा साबुन, सरफ, मन्जन, ब्रस, टबेल, मास्क, सेनिटाइजर, ग्लप्स, काइँयो, हाते–लाइट, सेनेटरी–प्याड रहेका थिए । अहिले युएसएआइडीको सहयोगमा घोराही उपमाहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा दंगीशरण गाउँपालिकाको लागि कार्यक्रम सम्झौता भएको छ । कोभिडबाट बच्न रेडियो कार्यक्रम, पोस्टर, हाते–पर्चा, हालको आवमा कति रकम स्थानीय स्तरबाट छुट्याएको छ, त्यसकोे बारेमा अध्ययन गर्ने कार्य रहेको छ । हाल म त्यही काममा खटिरहेको छु ।
कोभिड–१९ बारे बच्ने उपायबारे सचेत बनाउने काम गरिरहेको छु । हाल कोरोनाको जोखिम भएको हुँदा लामो समयसम्मको बन्दाबन्दीले सामान्य मानिसको आर्थिक अवस्थामा क्षति भएको छ । साझ के खने, विहान के खाने भन्ने अवस्थामा धेरै मानिस रहेका छन् ।
तिनीहरु कतै समाजमा आत्महत्या न रोजून् भनी कमेरो सम्पर्कमा आएका जतिलाई काउन्सिलिङ गरिरहेको पनि छु । विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा पर्न गएको असरले हाला विद्यार्थी भाइबहिनीहरुलाई साइकोसोल काउन्सिलिङ गर्ने काम समेत गरिरहेको छु ।
तपाईं अधिकारकर्मी पनि हुनुहुन्छ, लकडाउनका क्रममा दाङमा मानवअधिकारको अवस्था कस्तो पाउनुभयो ?
हाल दाङ जिल्लाको मानवअधिकारको अवस्थाको बारे मेरो पल–पल हरके पल सरोकार नै रहेको छ । मानवको आर्थिक अवस्थामा होस् या सामाजिक अवस्थामा होस या सांस्कृतिक अवस्थामा होस् या समग्रमा मानवअधिकारको संरक्षण र प्रबन्धनको सवालामा विभिन्न निकायसँग छलफल र बहस भइ नै रहेको छ ।
स्थानीय निकाय, जिल्ला प्रशासन दाङको प्रमुख, प्रहरी प्रमुख, मानवअधिकार टिम, मुस्लिम आयोग टिम, गैरसरकारी संघसंस्था, पत्रकार, उद्योगी, व्यवसायी, दाङमा रहेका युवा क्लव, महिला समूह, सहकारी, बालक्लवका टिमसँग कोरोनाको विषयमा अलि बढी छलफल भइरहेको छ भने मेरो ध्यान नै अहिले कहाँ के भएको छ भन्ने विषयमा केन्द्रित छ । कहीँ कमीकमजोरी छ भने तत्काल सुधार गरी समुदायका मानिसहरुलाई कोरोनाको कहरबाट जोगाउने भन्ने विषयमा रहेर जनाकारी गराइरहेको छु भने समग्रमा हेर्दा कहीँ केही समस्या भने आएका छन् ।
त्यसलाई राज्यले एडजस्ट गरिरहेको पनि छ । तर लकडाउन गर्दा किन ग¥यो, लकडाउन नगर्दा किन गरेन भन्ने बहस भएको बढी पाएको छु । राज्यको प्लान त छँदैछ तर अब हरेक व्यक्ति आफै जोखिमबाट बच्ने उपाय गर्नुपर्छ । होइन भने अझै जोखिम बढ्यो भने धेरै हताहत हुनसक्छ । त्यसैले सबै सचेत बन्नुपर्छ जस्तो मलाई लाग्छ ।
स्थानीय सरकारले आफ्नो क्षेत्रमा एकदमै गरिब समुदायको बारेमा योजना बनाई उनीहरुलाई राशन, औषधीलगायतका अतिआवश्यक सामग्रीहरु सहयोग गर्नुपर्छ । व्यवसायहरु धरापमा परेको हुँदा व्यापारी तथा अन्य सामान्य मानिसको बैंक ऋणबारे राज्यले बेलैमा सोचेन भने धेरै मानिस डिप्रेशनमा जानसक्छन् । मनोसामाजिक अवस्था बिग्रिएर अर्को दुर्घटना हुनसक्छ । बालबालिकाको सवालमा पनि हामी अलि सचेत हुन जरुरी छ । किसानको समस्यालाई तत्काल राज्यले सम्बोधन गर्नुपर्छ ।
समग्रमा कोभिडको जोखिममा पनि गैससहरुले कसरी काम गरिरहेका छन् ?
हाल दाङ जिल्लामा केही गैससका साथीहरु फिल्डमा खटिएर काम गरिरहेका छन् भने कोही साथीहरु नामका मात्र देखियो । केही संस्थाका साथीहरु समुदायमा सचेतनामूलक कार्य गरिरहेका छन् ।
हाल कोरोनाको जोखिम सबैलाई भएको हँुदा संस्थाहरुले आफ्नो इच्छा अनुरुप पनि काम गर्न सकिरहेका छैनन् । यस्तो परिस्थितिमा जोरजबर्जस्ती गर्नु पनि भएन । गैससका साथीहरु गैससको कामकर्तव्य के हो भनी आफै बुभ्mनुप¥यो र समुदायमा सचेतानामूलक कार्य अझै गर्नुपर्छ ।
मुस्लिम समुदायले कोभिडसँगको सतर्कता कसरी अपनाइरहेको छ ?
जिल्लामा मुस्लिम समुदायका साथीहरु पनि नेपालको नियम कानुनलाई पालाना गरिरहेका छन् । कोभिड–१९ का कारण हाल मुस्लिम समुदायका साथीहरुको आर्थिक अवस्था दयनीय बनिरहेको छ ।
किनभने धेरै गरिब परिवारका मानिसहरु दैनिक ज्यालादारी तथा ठेलागाडीमा पुरान कबाड, फलाम, कागज, प्लास्टिकहरु खेरेर जीविको पार्जन गरिरहेको हुँदा हाल लकडाउनले सबै बन्द छ । केही मुस्लिम परिवारहरुलाई दाङका स्थानीय स्तरबाट सहयोग भएको छ भने मुस्लिम समुदायका अगुवाहरु मिलेर राशन, कोहीले नगद सहयोग गरेको छन् तर हाल लकडाउन धेरै महिनासम्म हुँदा दैनिकीमा समस्या परेको छ ।
तर पनि कोरोनाको कहरबाट बच्न सामाजिक दूरी अपनाइरहेका छन् । यो सालमा भएको चाडपर्व पनि घरघरमै मनाएका छन् । मस्जिद, मदरसा सबै बन्द छ, मस्जिदमा मात्र नामाज पढ्ने मौलाना र मौजिम हुनुहुन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म २०६० सालबाट सामाजिक क्षेत्रमा आबद्ध छु । मेरो मिशन नै समाजमा रहेका सकारात्मक पक्षमा रहेर काम गर्ने हो । समाजका नकारात्मक पक्षलाई न्यूनीकरण गर्ने उपायका बारे सबैमा सचेतना फैलाउनु हो ।
म एक सामाजिक क्षेत्रमा काम गर्ने भएको हुँदा मेरो देश तथा आम जनताको हक, हितमा रहेर काम गरिरहेको छु । कोरोनाको कहरका वावजुद पनि म प्रत्यक्ष फिल्डमा खटिएको छु र भुल्न नै नसकिने कोरोना रोकथामका लागि आफ्नो ज्यान जोखिममा राखेर प्रत्यक्ष काम गरिरहेका राजनीतिक दल, आयोग, मन्त्रलाय, प्रदेश, स्थानीय जनप्रतिनिधि, डाक्टर, नर्स, प्रहरी प्रशासन, गैसस, पत्रकार, नागरिक समाज, व्यावसायिक हकहितका लागि उद्योग वाणिज्य संघ, यातायातलगायत सैबैलाई आभार व्यक्त गर्दछु ।
किनभने सबैको अथक प्रयासका कारण जोखिम कन्ट्रोल गर्न सफल भएका छौँ । जाँदजाँदै कोरोनाको कहरबाट बच्न हरेक नागरिक आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने उद्देश्यमा लाग्नुहोस् । काम छैन भने घरदेखि बाहिर धेरै हिड्डुल नगर्नुहोस । अतिआवश्यक काम भए कसैले कसैलाई काम गर्न रोकेको छैन । देशमा भएको कोरोनाको जोखिम परिस्तिथिमा आरोप प्रत्यारोप न लगाऔँ सम्यम र धीरताका साथ अगाडि बढौँ र कोरोनालाई जितौँ ।