नारायणप्रसाद श्रेष्ठ
मानिस सामाजिक प्राणी हो । ऊ समाजबिना अलग रहन सक्दैन । समाजमा जेजस्तो वातावरण हुन्छ त्यही अनुकूल उसको आचरण र व्यवहार पनि हुन्छ ।
तसर्थ, जीवनलाई सही र स्पष्ट दिशानिर्देश गर्न सामाजिक मूल्य र मान्यतामा अविछिन्न गति लिएको आचरण र व्यवहारलाई जीवनको उद्देश्यसँग गाँसेर अगुवाले आफूलाई प्रस्तुत गर्नु पर्छ । बुद्धिमान मानिस आफ्नो हरेक कदममा सजग र सतर्क रहेर अघि बढेको हुन्छ ।
समाजमा स्थापित र परिस्कृत संस्कृति एवं संस्कारलाई अँगाल्दै अभिभावकत्व ग्रहण गर्न लागिपरेको हुन्छ । हुन त अभिभावक बन्न त्यति सजिलो कुरा पनि होइन । यसको त्यत्तिकै जिम्मेवारी निभाउन पनि कठिन पर्छ । तर पनि जिम्मेवारी लिने व्यक्तिले आफूलाई हरेक कुरामा इमानदारी र भरोषायुक्त नैतिक चरित्रवान् बनाइराख्नुपर्छ । किनकि नैतिक चरित्र नै उसको नेतृत्वको आधार बनेको हुन्छ ।
मानव जीवन ज्ञानको सागर हो र ज्ञान विज्ञान हो । यस कुरालाई चर्मदृष्टिले होइन मनको आँखाले पहिचान गर्न सक्नुपर्छ । आँखाले देखेको सबै वस्तु सुन्दर हुँदैनन् र सुन्दरता नै असल चरित्र प्रदर्शन गर्ने आधार पनि होइन । तसर्थ, सुन्दरताभित्र पनि कलुषित विचारको प्रभाव हुन्छ भन्ने सत्यलाई बुझी विचारभित्र छचल्किन पुगेको इष्र्या, डाह, घमण्डलाई अन्तरआत्माले पहिचान गर्न सक्नुपर्छ ।
यसभित्रको सुन्दरता र सत्यतालाई बुझी वाह्य आवरणमा होइन अन्तरआत्माको दूरदर्शी चिन्तन र दृष्टिकोणलाई पहिचान गर्न सक्नुपर्छ । सुन्दर हुनलाई स्वभाव र आचरणमा शुद्धता ल्याई यथार्थ सत्यको गहिराईमा पुग्न सक्नुपर्छ । अरुले गरेको कर्म र व्यवहारलाई टिप्पणी गर्ने तथा औँला ठड्याउनुपूर्व आफूले संस्कारयुक्त कार्य गरी देखाउन सक्नुपर्छ । मार्गदर्शक बन्नु अथवा अभिभावकत्व ग्रहण गर्नु भनेको असल विचारले समाजलाई एकसूत्रमा बाँध्नसक्ने क्षमता राख्न सक्नु हो ।
असल विचारको प्रशंसा गर्दै गलतलाई सही बाटोमा अग्रसर गराउन सक्नु हो । हो, प्रत्येक व्यक्ति स्वयम्मा काविल नहुन सक्छ, स्वयम्मा खराब र असल पनि नहुनसक्छ । यसलाई हेर्ने दृष्टिकोणमा भर परेको हुन्छ । मानिसको विचार र सोचाईमा विविधता हुन गई राम्रोलाई नराम्रो र असललाई खराब भनी टीकाटिप्पणी गर्नसक्ने परिस्थिति पनि बन्न सक्छ ।
त्यसैले कुनै पनि सकारात्मक कार्यलाई हेर्ने दृष्टिकोणमा सोच सकारात्मक प्रवृत्ति उन्मुख बनाउन सक्नुपर्छ । सोचाई र गराईमा यदि शुद्धता छ र निःस्वार्थ भाव झल्कन्छ भने त्यहाँ संस्कारगत आचरणले प्रभाव पारेको हुन सक्छ । त्यसैले मानिसले मानिसलाई देखाउने व्यवहार र कर्ममा तिरस्कार प्रवृत्ति देखाउनु हुँदैन । सोच र चिन्तनलाई हरहमेसा सकारात्मक सोचतर्फ आकर्षित गरिरहनु पर्छ ।
जसको कारण आस्था र श्रद्धाको विजारोपण हुन सकोस् । श्रद्धा र आस्थाको केन्द्र बन्नसक्नु नै सच्चा मार्गनिर्देशक बन्नसक्नु हो । जुन व्यक्ति आफू र अरुलाई विश्वास गर्न जान्दछ, समाज मेरो हो मबाटै समाज र राष्ट्रको विकास सम्भव छ भनी अघि बढ्न खोज्छ, सबैको आशा र भरोषाको केन्द्र बन्न लालायित बन्छ त्यसले मात्र समाजको अगुवाई गर्न सक्छ । आदर्श समाज र राष्ट्रको परिकल्पना गर्न सक्छ । यदि यस्तो आचरण र नैतिक चरित्र भएन भने उसले अगुवाई गरेको अर्थ रहँदैन । यसतर्फ सबै मानव चेतनाले गम्भीर रुपले चिन्तन गर्नु पर्छ ।
कोही मानिस आफूलाई सबैले विश्वास गरोस्, मेरो इमानदारीमा भरोषा राखोस् भन्ने चाहना राख्दछ । वाह्य आचरण र व्यवहारले सबैको साक्कै बनेको आचरण पनि प्रदर्शन गर्दछन् । तर त्यस्ता मानिसले अरुलाई भरोषा त्यति नगरिरहेको अवस्था रहेको हुन्छ । मलाई सबैले चाहनुपर्छ तर मैले को ठीक को बेठीक छुट्याएर मात्र भरोषा गर्नुपर्छ भनी भन्ने गर्छन् ।
मैले त गरेकै हुँ तर फलानाले यस्तो गरेन, उसको विचार नै गलत हो, यसरी पनि मानिसले आफूलाई प्रस्तुत गरेको हुन्छ । देख्दामा वाह्य सुन्दरताले ओतप्रोत भएर पनि मनमा कलुषित विचार दौडाइरहेका हुन्छन् । वास्तवमा यस किसिमको आचरण आफैमा गलत मानसिकताको उपज हो । यस्तो सोचले कहिल्यै पनि समाज, राष्ट्र शुद्ध बन्न सक्दैन । यस्तो आचरणले कुनै न कुनै किसिमबाट राष्ट्रलाई दूषित बनाइरहेको हुन्छ ।
बाहिर बाहिर निको होइन भित्र भित्र कोइजा, यस्तो सोच विकसित गर्नु भनेको अहंकार र घमण्डको पराकाष्ठा हो । यो मानव स्वभावको गलत र अभिमानी चरित्र हो । आफूले अरुलाई विश्वास नगर्ने तर अरुले आफूलाई विश्वास गरोस्, यस्तो स्वार्थी प्रवृत्ति आफैमा समाजको लागि कलंक हो । यस्तो सोच र चिन्तन बोकेको व्यक्ति कहिल्यै समाजको अगुवा बन्न सक्दैन । यस्ताले समाज, राष्ट्रप्रति जुन अभिव्यक्ति दिन्छन्, यो आचरण भनेको स्वार्थलिप्सा मात्र हो । यस्तो व्यक्तिको व्यवहार र नैतिकता छोटो समयमै नाङ्गिन सक्छ ।
त्यसैले यदि हामी सबैलाई खुशी बाँड्न सक्दैनौँ, विविध चरित्र भएको मानव चरित्रलाई उनीहरुअनुकूल प्रदर्शन गर्न सक्दैनौ भने पनि वहुसंख्यक मानव सोचले ल्याएको विश्वासलाई अटल राख्न उनीहरुकै इच्छा र सोच अनुकूल जिम्मेवारीबोध गर्न सक्नुपर्छ । हामी प्रशंसामा होइन परिमाणमा विश्वास राख्छौँ भन्ने मानसिकता जगाई आ–आफ्नो मूल्यांकन गराउन सक्ने क्षमता राख्न सक्नुपर्छ । आफ्नो होइन अरुको सफलतामा रमाउने विशिष्ट चरित्र प्रदर्शन गर्न सक्नुपर्छ । वास्तवमा सफल व्यक्ति त्यही हुनसक्छ जसले अरुको चाहना र उत्साहमा आफूलाई सकारात्मक सद्भावमा बदल्न सक्छ ।
अभिभावककत्व ग्रहण गर्न सक्ने क्षमता राख्ने कुनै पनि अगुवाले सामाजिक विसंगति र विकृतिलाई बालमनोविज्ञानभित्र प्रवेश गर्न नदिने आचरणयुक्त जीवनयापनको मार्गतर्फ आफूलाई समर्पण गर्नुपर्छ । आफ्ना हरेक कर्मले परिस्कृत समाज र राष्ट्रको सिर्जना गर्नतर्फ प्रेरित गर्न सक्नुपर्छ । विगतमा हाम्रा पुर्खाले जुन किसिमको त्याग र समर्पण देखाई आफूलाई अमरत्व हुने कर्म र आचरणबाट समाजलाई नयाँ ऊर्जा र दिशानिर्देश गरे त्यसलाई आफ्नो सम्पत्ति मानी अगुवाले सगुनसाकार आचरण र व्यवहार गर्नुपर्छ । बाटो बिराएकालाई स्पष्ट दिशानिर्देश गरी उनीहरुलाई आचरणयुक्त संस्कारमा ल्याउन पहिला आफू नै उदाहरण बन्न सक्नुपर्छ ।
नयाँ पिढीको लागि मनोवैज्ञानिक हिसाबले सामाजिक उत्प्रेरक बन्ने आचरण र व्यवहार गर्न जागरुक हुनुपर्छ । ज्ञान र सीपबाट नै सामाजिक प्रतिष्ठा कायम हुने र भाइचाराको अभिवृद्धि हुने हुनाले आफूलाई अरुको स्थानमा राखेर उसको दृष्टिकोणबाट आफूलाई मूल्यांकन गर्न सक्नुपर्छ । आगामी पिढीको उत्साह र खुशी उसको सफलतामा गरिने प्रशंसा र यथार्थ सत्यमा आफूलाई प्रवाहित गर्नु पर्छ ।
आफूलाई गुणी र उपकारी सक्षम अगुवाको अभिभारा लिनसक्ने क्षमता देखाउन सक्नुपर्छ । हुन त अभिभावक बन्न जति सजिलो छ त्यति नै अभिभावकत्व ग्रहण गरेर सामाजिक उत्प्रेरक बन्न कठिन हुने हुँदा प्रत्येक व्यक्तिले आफूलाई आफ्नो परिवेशभित्र हुर्कन खोजेको हठवादी चिन्तनलाई त्याग्न सक्नुपर्छ ।
नेपालको राजनीतिक तरंगलाई हेर्ने हो भने यहाँ मौकामा चौका हान्ने र हठवादी चिन्तन दुवै त्यत्तिकै सशक्त भएर आएको छ । यो राष्ट्रको लागि चिन्ताको विषय बन्नसक्छ । कतिपय अवस्थामा अगुवा आफू असहमत हुँदाहुँदै पनि यदि समाज राष्ट्रको लागि असल विचार प्रवाह भइरहेको छ भने त्यसलाई स्वीकार गरेर नयाँ भविष्यको चिन्तनमा हातेमालो गर्न सक्नुपर्छ ।
आगामी पुस्ताको लागि आफू उदाहरण बनी अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । मै खाउँ, मै लाउँ मै मोज मजा गरुँ भनी क्षणभंगुर जीवनलाई स्वार्थमा लगाइराख्नु भन्दा आफूलाई श्रद्धा र विश्वास एवं आस्था र भारोषाको केन्द्र बनाउन सक्नुपर्छ । आफूलाई आफै सक्षम बनाउने ढृष्ठता कदापि गर्नु हुँदैन ।
क्षणिक स्वार्थ र लिप्सामा आफूलाई समर्पण गर्नु भनेको आफ्नो अस्तित्वलाई आफैले धरासायी बनाउनु हो । तसर्थ, यस कुरालाई अगुवाले बढी चिन्तन मनन् गर्नु पर्छ । यो आजको आवश्यकता हो ।